काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका तीन ठूला अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने योजना अगाडि बढाएको छ।
मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा वीर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गर्ने उल्लेख छ। यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने छ।
'एक चिकित्सक/स्वास्थ्यकर्मी-एक स्वास्थ्य संस्था कार्यक्रम संचालन सम्बन्धी कार्यविधि, २०७७ वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा लागू गर्ने,' कार्ययोजनामा भनिएको छ।
यसअघि आर्थिक वर्ष २०७७/७८ मा पनि एक चिकित्सक एक स्वास्थ्यसंस्था कार्यक्रम लागू गर्ने घोषणा भएको थियो। १० वटा अस्पतालमा बजेट नै विनियोजन गरेर कार्यक्रम लागू भएको घोषणा पनि गरिएको थियो। राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल र पाँचथर अस्पतालमा यो कार्यक्रम लागू भएको बताइएको थियो।
तर यी अस्पतालहरुमा कार्यक्रम सफल नभएर पुन रोकिएको छ। स्वास्थ्य मन्त्रालयले यसपटक फेरि तीन वटा अस्पतालबाट यो कार्यक्रम लागू गर्ने तयारी अगाडि बढाएको हो।