काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेकी स्वास्थ्य राज्यमन्त्री सहितका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका छन्।
पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपाको तर्फबाट मन्त्रिपरिषद्मा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामाको पत्र बुझाएका हुन्।
यसअघि आइतबारै बसेको रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम रहने बताएको छ।
अमेरिकी राहदानी (नागरिकता) ‘त्यागेर’ नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्ने मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट ‘दोषी’ ठहर भएपछि रास्वपाका सभापति लामिछानेको उपप्रधान तथा गृहमन्त्रीसँगै प्रतिनिधि सभा सदस्य पद खारेज भएको थियो।
सर्वोच्चको फैसलाअनुसार पुन: नेपाली नागरिकता लिएर पार्टीको सभापति बनेका लामिछाने गैरसांसद मन्त्रीको रुपमा सरकारमा सहभागी भएर पुन: गृह मन्त्रालयको नेतृत्व गर्ने प्रयासमा थिए।
उनले प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पटक–पटक भेटेर पुन: गृहमन्त्री बनाउन माग गरेका थिए।
तर प्रधानमन्त्री प्रचण्डले लामिछानेसँगै रास्वपालाई समेत गृहमन्त्री पद दिन नसकिने बताउँदै आएका थिए। लामिछानेले पुन: गृहमन्त्री पद नपाएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।