काठमाडौं- स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरेको हो।
उनको दरबन्दी पनि स्वास्थ्य मन्त्रालयअन्तर्गत नै रहेको छ। पोखरेल प्रशासनतर्फका सहसचिव हुन्। स्वास्थ्य मन्त्रालयमा भने गृहमा दरबन्दी रही अर्थ मन्त्रालयमा रहेका सहसचिव रमेशकुमार केसीलाई सरुवा गरिएको छ।
यस्तै अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केदारनाथ शर्माको गृहमन्त्रालय, बाबुराम सुवेदीको राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा भएको छ।
यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगका धनीराम शर्माको अर्थ मन्त्रालयमा सरुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराका सचिव रामप्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको पनि अर्थ मन्त्रालयमा नै सरुवा भएको छ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयका सहसचिव बाबुराम भण्डारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव दीपक लामिछानेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ।
वातावरण विभागका महानिर्देशक नमराज घिमिरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, निर्वाचन आयोगका विश्वप्रसाद अर्यालको बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुशीला अर्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका मोहनराज चापागाईँको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं १ र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश १ का सचिव अशोककुमार साहको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेशसागर भुसाललाई गृहमन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय, सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
त्यसैगरी राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव नेत्रप्रसाद सुवेदीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव यज्ञ कोइरालाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ।