काठमाडौं- डा केदार नरसिंह केसी बिहीबार काठमाडौंको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा भेटिए। उनी नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि भोट हालेर फर्किदै थिए। उनी संघका पूर्वअध्यक्ष समेत हुन्।
‘अबको नेतृत्व कस्तो आउनुपर्छ?’ उनलाई हामीले प्रश्न गर्यौँ।
‘संस्थालाई बलियो बनाउने र चिकित्सकको हकहित र अधिकारका लागि लड्ने नेतृत्व आउनुपर्छ।’ उनले भने।
नेपाल चिकित्सक संघ पुरानो संस्था भएकाले नयाँ नेतृत्वले संघको साख जोगाउन सक्नुपर्ने उनले बताए। चिकित्सकको हकहित, चिकित्सकीय पेशा मर्यादाको संरक्षण गर्न र आम नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन संघले भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए। संस्थालाई विभाजित भन्दा पनि संगठित र बलियो बनाउने नेतृत्वको आवश्यकता भएको उनले बताए।
‘आगामी निर्वाचित समितिले अग्रजले बनाएको बाटोलाई आत्मसात गर्नेछन्।’ उनले भने, ‘सबै चिकित्सकहरुलाई एक ठाउँमा लिएर चिकित्सा शिक्षा कस्तो हुनुपर्ने? जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन चिकित्सकको भूमिका के हुने ? भन्ने जस्ता विषयमा नेतृत्वकर्ताको भूमिका हुनेछ।’
ॐ अस्पतालका फिजिसियन डा पर्शुराम घिमिरेले पनि बिहीबार नेपाल चिकित्सक संघको निर्वाचनमा मतदान गरे। मतदानसँगै चिकित्सकको हकहित र अधिकारका लागि लड्ने नेतृत्व आउने उनको अपेक्षा छ। अब आउने नेतृत्वले चिकित्सकको समस्या, सामाजिक सुरक्षा, तलबका विषयहरुलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।
‘डाक्टरको समस्याहरु धेरै छन्। 'जेल विथआउट बेल'को कुराहरु छन्। चिकित्सकहरुको स्वास्थ्य सुरक्षा, तलब, समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा अबको नेतृत्व केन्द्रित हुनुपर्छ।’ उनले भने।
चिकित्सक डा संगिता भुषालको अपेक्षा पनि केही यस्तै छ। नेपालमा चिकित्सकहरुको महत्वलाई बुझ्न र बुझाउन नसिकएको उनको गुनासो छ। चिकित्सकको काम र उनीहरुको आवश्यकतालाई बुझाउन नसक्दा नै आफूहरुमाथि अस्पतालमै आक्रमण हुने गरेको उनी बताउँछिन्।
चिकित्सकले पाउने तलबमा समेत सरकारले न्याय नगरेको उनको गुनासो छ। अध्ययन शुल्क धेरै लाग्ने तर पाउनुपर्ने तलब भने थोरै मात्र दिने गरेको उनको भनाइ छ। परिवारलाई पाल्न पुग्ने तलब बनाउन उनको आग्रह छ।
‘अहिले चिकित्सकहरुको तलब एकदमै कम छ। कतिले २८ -३० हजारमा काम गरिरहनु भएको छ। यो एकदमै लाजमर्दो तलब हो। तलब बढाउनुपर्छ। हाम्रो सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।’ उनले भनिन्।
तलब कम भएका कारण चिकित्सकहरु दुई-तीन ठाउँमा काम गर्न बाध्य भएको उनले बताइन्। तलबसँगै चिकित्सकहरुको काम गर्ने समयको व्यवस्थापनलाई पनि प्रमुख मुद्दाको रुपमा अघि बढाउनुपर्नेमा उनको जोड छ। एउटै चिकित्सकले पनि लगातार २४, ३६ घण्टासम्म ड्युटी गर्नु परेको उनी गुनासो गर्छिन्।
‘कामको लोड, तनाब यति धेरै छ। यो ड्युटी आवर व्यवस्थापन गर्नुपर्यो। कति धेरै समस्या छन्। भनेर सकिँदैन।’ उनले भनिन्, ‘डाक्टरहरु काम गर्दा सुरक्षित हुनुपर्यो।’
संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको पहिलो दिन ५८९ जनाले मतदान गरेका छन्।
काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु भएको संघको निर्वाचन शुक्रबार र शनिबार पनि हुनेछ। यसअघि माघ ६ र ७ गते काठमाडौं उपत्यका बाहिर निर्वाचन भएको थियो। १६ वटा निर्वाचन केन्द्रमा भएको चुनावमा कुल ३ हजार ६५० मत खसेको थियो।
अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा सन्तोष पौडेलको प्रगतिशील र डा शिवजी सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा छन्। निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना छन्। यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ।
तस्बिर: निमेषजंग राई