काठमाडौं–सांसदहरुले आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद् अमरेशकुमार सिंहले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण पत्ता लगाउन माग गरे। उनले यस्ता घटनाको निरुपणका लागि न्यायिक छानबिन समिति बनाउन मागसमेत गरे।
‘देशका विभिन्न ठाउँमा आत्मदाहका घटनाहरू भइरहेका छन्। के कारणले एउटा नागरिक आत्मदाहका लागि प्रेरित भइरहेको छ? यसको छानबिन हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले एउटा न्यायिक छानबिन समिति गठन गरोस् र समितिमार्फत छानबिन होस् ताकि आउँदा दिनमा फेरि यस्ता घटनाहरू नहोऊन्।’
नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले आचार्यको जस्तो नियति कसैले पनि भोग्नु नपर्ने परिस्थिति बनाउन सरकारसँग माग गरिन्।