काठमाडौं- गत पुस १२ गते नेपालगञ्ज वडा नं ७ मा १४ महिनाकी बालिका रेश्मा कुरेशीमा दादुरा देखियो।
उनको घरमा अन्य ११ जना बालबालिकामा पनि थिए। उनी संयुक्त परिवारमा बस्थिन्। जसमध्ये ६ जनामा दादुराको लक्षण देखिएको थियो। तर दादुराको पुष्टि भइसकेको थिएन। लक्षणको आधारमा दादुरा पुष्टिका लागि पाँच जना बालबालिकाको नमूना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइयो।
पाँच दिनपछि पुस १८ गते पाँच वटा नमूनामा चार जना बिरामीमा दादुरा रहेको पुष्टि भयो। त्यसपछि बाँकेमा दादुराको आउटब्रेक अर्थात् महामारी भएको घोषणा गरिएको हो।
कुन अवस्थालाई महामारीको रुपमा घोषणा गर्ने? भन्ने विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा निवारण प्रोटोकल नै छ। उक्त प्रोटोकल अनुसार कुनै पनि समुदायमा २८ दिनभित्र पाँच वा पाँचभन्दा बढी बिरामी देखा परेमा दादुरा महामारी घोषणा गरिन्छ।
नेपालगञ्जमा पहिलो दादुरा देखिएको बिहीबार एक महिना पुरा भएको छ। पाँच वटा पालिकामा फैलिएको दादुरा महामारीका कारण हालसम्म ३०२ जना बालबालिका बिरामी भएका छन्। यी पाँच पालिकामध्ये नेपालगञ्ज उपमहानगरपालिका सबैभन्दा धेरै प्रभावित पालिका बनेको छ। नेपालगञ्जमा मात्र २१३ जना बालबालिकामा दादुरा देखिएको छ।
यस्तै, खजुरामा २१, कोहलपुरमा ७, नरैनापुरमा ४१, राप्तीसोनारीमा २ र डुडुवामा १८ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
पूर्ण खोप जिल्ला बाँकेमा कसरी फैलियो दादुरा ?
पूर्ण खोप सुनिश्चितता घोषणा भएका जिल्लामध्ये एक हो, बाँके जिल्ला। दुई वर्ष अघि २०७७ साल चैत ६ गते बाँकेलाई पूर्ण खोप सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरिएको थियो। पूर्ण खोप जिल्ला घोषणा हुने नेपालको ५९ औँ जिल्लामा बाँके पर्दछ।
राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकून् भन्ने उद्देश्यका साथ पूर्ण खोपको अवधारणा सुरु भएको हो। पूर्ण खोप सुनिश्चिता कार्यक्रम २०६९ साल बाट सुरु भएको हो।
पूर्ण खोप भन्नाले सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको अवस्थालाई बुझिन्छ।
सम्बन्धित गाउँपालिका वा नगरपालिकामा १६ देखि २३ महिनाका बालबालिकाको सर्वेक्षण गर्दा सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरको पाइएमा त्यस्तो वार्ड/गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका/जिल्लालाई पूर्ण खोप घोषणा गर्न सकिने पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ मा उल्लेख छ।
एक पटक पूर्ण खोप जिल्ला सुनिश्चित गरेर पुग्दैन। यो वर्षेनी प्रक्रिया हो। वर्षेनी नै सबै बालबालिकाले नियमित खोप पाएको सुनिश्चित हुनुपर्छ। कुनै पनि बालबालिका छुट्नु हुँदैन।
स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ पूर्ण खोप सुनिश्चित भइसकेको जिल्लामा कसरी दादुरा फैलियो भन्ने प्रश्नको उत्तर पाँच वटा बुँदामा प्रस्तुत गर्छन्:
१. अधिकांश बिरामीहरु प्राय चार वर्ष माथिका वा जिल्ला पूर्ण खोप घोषणा हुनुअघि नै खोप लगाउने उमेर पुरा गरिसकेको देखिन्छ। अर्को तर्फ पाँच वर्षको उमेरसम्म छुट खोप लिने व्यवस्था हुँदा हुँदै पनि परिवारका सदस्यहरुमा उक्त चेतना नपुगेको।
२. दादुरा भएकामध्ये अधिकांश बालबालिकाहरु डि.पि.टि. हेप.बि.हिब. खोप १४ हप्ताको उमेरमा लगाईसकेपछि अर्को खोप लगाउन लामो समय अन्तर भएका कारण ९ महिना र १५ महिनाको उमेरमा लगाउने पहिलो र दोस्रो दादुरा रुबेला खोपको मात्रा लिन छुटाएको।
३. दादुरा भएका अधिकांश बालबालिकाहरु सीमावर्ती भारतका गाउँहरुमा जाने शिलशिला छ। आफ्नो वडामा खोप सेवा सञ्चालन हुने, खोज र खोप अभियान तथा सर्वेक्षणको समयमा समेत वडामा अनुपस्थित भएको कारणले खोप लगाएका बालबालिकाहरु छुट भएको।
४. बाँके जिल्ला बसाईसराई तथा व्यापार शिक्षा, स्वास्थ्य सेवा लिनका लागि आवात–जावात भइरहन्छ। बाहिरबाट मानिसहरु आइरहने कारण खोप लगाउन छुट बालबालिका पूर्ण खोप घोषणा पश्चात आएका बालबालिकाहरुमा पनि दादुराको संक्रमण देखिएको।
५. बाँकेमा जिल्लामा पुष्टि भएको पहिलो बिरामी दादुरा निदान भएको पाँच दिनपछि पनि भारतको बहराईच ओहोर दोहोर गरेका कारण जिल्ला पूर्ण खोप घोषणा हुँदैमा यातायात तथा बसाई सराईका कारण बाहिरबाट आउन सक्ने संक्रमण रोक्नु चुनौतीको विषय भएको।
दादुरा विरुद्धको खोपको कभरेज कम भएकाले बाँकेमा दादुरा फैलिएको हुन सक्ने जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका पूर्व निर्देशक डा बाबुराम मरासिनी बताउँछ। अभिभावकहरुलाई पूर्ण खोपको अवधारणा बारे बुझाउन नसक्नु पनि कमजोरी देखिएको उनको भनाई छ।
‘दादुराको कभरेज ९० प्रतिशतभन्दा कम लगाएको कारणले दादुरा फैलियो। पूर्ण खोप भएपछि किन खोप लगाउनुप¥यो भन्ने अभिभावकहरुले बुझे। बुझाई गलत भयो। पूर्ण खोपको सन्देश कमजोर भयो बुझाउन सकिएन। बुझाउन सक्नु पर्थ्यो’ उनले भने।
पूर्ण खोप घोषणा भइसकेको जिल्लामा दादुराको महामारी फैलिनुले खोप सर्भेक्षणको प्रभावकारी माथि प्रश्न उठेको उनले बताए। सरकारले यसको सुक्ष्म विश्लेषण गर्नुपर्ने उनको सुझाव छ।
यसअघि २०४२ सालमा डोटीमा पनि दादुराको ठूलै प्रकोप फैलिएको उनी सुनाउँछन्।
बाँकेमा फैलिएको दादुरा महामारी नियन्त्रणका लागि प्रयास भइरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर श्रेष्ठ बताउँछन्। सबै बालबालिकालाई खोपको दायरामा ल्याउन घरधूरी अभियान समेत सञ्चालन गरिएको उनले बताए।
उनले भने, ‘खोप अभियान सञ्चालन गरिरहेका छौँ। सबै बालबालिकालाई खोपको दायरामा ल्याउन हामी घर घरमा पुगिरहेका छौँ। दादुरा महामारी नियन्त्रणको प्रयास भइरहेको छ।’
सन् २०२३ मा दादुरा निवारण !
दादुराका बिरामी यस वर्ष मात्र भेटिएका होइनन्। गत वर्ष जाजरकोटमा पनि दादुराका बिरामी भेटिएका थिए।
सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्य छ। नेपालले सन् २०१९ भित्र दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो। तर यो रोगको संक्रमणदर बढ्न थालेपछि निवारणको लक्ष्य सन् २०२३ मा सारिएको हो। तर बाँकेमा फैलिँएको दादुरा महामारीका कारण यस वर्ष पनि दादुरा निवारण गर्ने सरकारको लक्ष्य पुरा नहुने देखिएको छ।
डा मरासिनीका अनुसार दादुरा निवारण हुनका लागि तीन वर्षसम्म दादुराको शून्य केस रिपोर्ट हुनुपर्छ। स्वास्थ्य सेवा विभागका एक कर्मचारीले पनि तीन वर्षसम्म एउटा पनि केस नदेखिए मात्र दादुरा निवारण हुने बताए।
१५ वर्षभन्दा मुनिका बालबालिकालाई दादुरा विरुद्धको खोपको दायरामा ल्याउनुपर्नेमा डा मरासिनी जोड दिन्छ। यद्यपि सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने सरकारको लक्ष्य चुनौतीपूर्ण भएको उनी बताउँछन्।
उनले भने, ‘१५ वर्षभन्दा मुनिका बालबालिकालाई खोप लगाउनुपर्छ। दायरा बढाउनुपर्छ। नभए निवारण गर्न कठिन छ। २०२३ सम्म निवारण कसरी हुन्छ अब ?’
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठका दादुरा बाहिरबाट नआएको समुदाय भित्र नै देखिएको केस १२ महिनासम्म शून्य र तीन वर्षसम्म शून्यकै अवस्था भएको अवस्थालाई दादुरा निवारण भनिन्छ। तर अहिले बाँकेमा फैलिएको दादुरा महामारीले गर्दा सन् २०२३ मा दादुरा निवारण गर्ने सरकारको लक्ष्य पुरा नहुने देखिएको छ।
महामारी फैलिएको स्थान वा भौगोलिक क्षेत्रमा अन्तिम दादुराको बिरामी देखिएको ४२ देखि ४६ दिनसम्म नयाँ बिरामी देखा नपरेको अवस्थालाई दादुरा नियन्त्रण भएको मानिने श्रेष्ठले बताए। दादुरा नियन्त्रण र थप फैलिन नदिन आफुहरु बालबालिकालाई खोप लगाउन घर दैलो अभियानमा जुटिरहेको उनले बताए।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बाँकेमा दादुरा प्रकोपको रुपमा फैलिएकाले २०२३ मा निवारण गर्नु चुनौतीपूर्ण भएको बताए। दादुराको निवारणका लागि प्राविधिक र विज्ञहरुसँग छलफल गर्नुपर्ने उनले बताए। दादुराको प्रकोप नियन्त्रणका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको उनले बताए।
कसरी फैलिन्छ दादुरा ?
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ। दादुरा पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ। निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ।
दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावा मार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ र शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ। दादुराको पहिलो लक्षण भनेको उच्च ज्वरो हो। जुन भाइरसको सम्पर्कमा आएको १० देखि १२ दिनपछि सुरु हुन्छ र ४ देखि ७ दिनसम्म रहन्छ। ज्वरोसँगै बिरामीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ।
बिरामीसँग सम्पर्कमा आएको १४ दिनपछि शरीरमा बिमिराहरु देखिन्छ। पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ। त्यसपछि कानको पछाडी हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ।
दादुरा भाईरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन। यो अवस्थामा बिरामीमा देखा परेको लक्षणका आधारमा उपचार गरिन्छ। ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्ता लागेको पहिलो र दोस्रो दिन गरी दुई मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ। बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा एक/एक मात्रा गरी दुई मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एक मात्र प्रभावकारी उपाय हो।