अंग्रेजी क्यालेन्डर अनुसार जनावरी महिना थाइराइड सचेतना महिना हो। यो महिनाभर थाइराइडका विषयमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुनेछ। सोही सन्दर्भमा काठमाडौं क्यान्सर सेन्टरले पनि थाइराइडका विषयमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ। जनचेतना अभिवृद्धिका कार्यक्रमसँगै थाइराइड जाँचका लागि नि:शुल्क ओपिडी सेवा सञ्चालनमा समेत ल्याएको छ।
पछिल्लो समयमा धेरै मानिसहरूलाई थाइराइड सम्बन्धी समस्या छ। कसैलाई हाइपो र कसैलाई हाइपर थाइराइडको समस्या छ भने केही मानिसहरूमा यसको क्यान्सर हुने अवस्था पनि बढ्दो देखिएको छ।
थाइराइड भनेको के हो?
थाइराइड भनेको हाम्रो शरीरको एउटा ग्रन्थी हो। जुन घाँटीमा रूद्रघण्टीको मुनि पुतली आकारमा हुन्छ। यो हाम्रो शरीरको लागि नभइ नहुने अंग हो। थाइराइड ग्रन्थीले काम गरेन भने विभिन्न किसिमको समस्याहरू देखिने हुन्छ। थाइराइड ग्रन्थीबाट निस्कने हर्मोनहरू सहि मात्रामा शरीरलाई पुगेन भने अल्छी लागे जस्तो हुने, जिउ सुन्निने, छालाहरू फुस्रो हुने, कपाल झर्ने, महिलाहरूमा महिनावारीमा समस्या आउने, त्यस्तै थाइराइड ग्रन्थीले विभिन्न कारणले चाहिने भन्दा बढी काम गरेको देखियो भने बिरामीलाई भोक धेरै लाग्ने, जति खाए पनि नमोटाउने, दुब्लाउदै जाने, मुटु कामे जस्तो हुने, पसिना धेरै आउने, हातहरू काम्ने,छट्पटी हुने, घड्कन छिटो छिटो चलेको जस्तो हुने,धेरै गर्मी भएको महसुस हुने र महिनावारीमा रगत कम बगेको जस्तो हुने हुन्छ।
थाइराइड ग्रन्थीले राम्रो काम गरेन वा बढी काम गर्यो भने यस्तो देखिने हुन्छ। त्यस्तै थाइराइडमा अरू लक्षण पनि हुन्छ जस्तै राम्रो काम गरे पनि वा त्यसमा गडबडी देखिए पनि थाइराइड ग्रन्थी सुन्निएर वा ठूलो भएर जाने भएमा घाँटीमा डल्लो आएको जस्तो हुन्छ। बढी तौल भएका मानिसहरूमा सुरूको अवस्थामा थाहा नहुन सक्छ तर दुब्लो पातलो मानिसमा सुरूकै अवस्थामा पनि देखिन सक्छ।
के कारणले थाइराइडको समस्या हुन सक्छ?
यसमा ठ्याक्कै यहि कारण हो भन्न गार्हो छ, तर प्रायजसो अटोयुमिन अर्थात हाम्रो शरीरमा यस्तो मेकानिजम हुन्छ कि जसले बाहिरबाट कुनै चिज भाइरस ब्याक्टेरिया छिर्न खोज्यो भने त्यसलाई मार्न खोज्छ तर कहिलेकाँही त्यो मेकानिजममा समस्या भएर शरीरले आफ्नै अंगलाई पनि अरूको पार्ट भनेर मार्न खोज्छ। जसलाई अटोयुमिन भनिन्छ। यसबाट थाइराइड ग्रन्थी कम काम गर्ने हुनसक्छ वा बढी हर्मोन उत्पादन गर्ने बनाइदिनसक्छ। त्यसले गर्दा कि त हाइपोथाइराडिजम हुनसक्छ वा थाइराइड हर्मोन बढी उत्पादन गर्ने हापरथाराडिजम हुन सक्छ। थाइराइड ग्रन्थीलाई ब्रेनमा हुने पिट्युटरी ग्ल्याडले कन्ट्रोल गरिराखेको हुन्छ त्यसमा गडबडी भयो भने हाइपो वा हाइपरथाराडिजम हुनसक्छ। कतिपयमा औषधिहरको सेवनले पनि यस्तो समस्या देखिन सक्छ।
विश्वमा कति प्रतिशत र नेपालमा कति प्रतिशतमा थाइराइडको समस्या देखिएको छ?
ठ्याक्कै प्रतिशत भन्न गार्हो छ। पहिला पत्ता लाग्दैनथ्यो अहिले केही शंका लाग्यो भने जाँच गरिहाल्ने गरेको पाइन्छ। यसो गर्दा डाइग्नोष्टिक सहि समयमा भएर पनि देखिराखेको हुन्छ। मेरो अनुभवमा कति बिरामीमा लक्षणहरू नदेखिने तर जाँच गर्दा थाइराइड हर्मोनमा गडबडी देखिराखेको पनि पाइएको छ। लक्षण नदेखिए पनि डाइग्नोष्ट भयो भनेपछि त्यस्ता बिरामीहरू हामीले धेरैलाई हेरि राखेका हुन्छौं। परीक्षण धेरै भएका कारण पनि धेरै बढेको देखिएको हुनसक्छ। प्रतिशतको कुरा गर्दा कति जनामा देखिएको छ भन्न गार्हो छ। हाइपोथाइराडिजम प्राय महिलाहरूमा धेरै देखिन्छ। यो धेरै जनामा पनि देखिन्छ तर हाइपरथाइराडिजम कमैमा देखिन्छ। यसमा विभित्र किसिमका डिजिजहरू देखिन्छ र त्यहि अनुसार त्यसको उपचारहरू गरिन्छ।
कुन अवस्थामा यसको अप्रेसन नै गर्नुपर्छ?
सबै थाइराइडलाई अप्रेसन नै गर्नुपर्छ भन्ने छैन हाइपोथाइराडिजम मात्र छ भने अप्रेसन गरिदैन त्यसमा औषधि खानुपर्ने हुन्छ। हाइपरथाइराडिजममा औषधि खाएर पनि कन्ट्रोल गर्न सकिन्छ। यदि औषधि खाँदापनि कन्ट्रोल भएन भने वा औषधि लामो समय खाँदा साइड इफेक्ट देखियो वा औषधि खाएर पटक पटक रगत जाँच गर्न समस्या भएमा हामीले रेडियो आयोडिन एपलिसन दिन्छौं। थाइराइड ग्रन्थीले बढि काम गरेको जस्तो देखिएमा अप्रेसनको पनि सल्लाह दिन्छौं।
यो हाइपरथाइराडिजमकोमा सर्जरीको मोटामोटी कुन कुन अवस्थामा गरिन्छ भन्ने कुरा भयो। तर मुख्यतः थाइराइडको अपरेसन भनेको थाइराइडको क्यान्सरको लागि वा वेनाइन ग्रन्थी जुन बिस्तारै बढ्ने हुन्छ जसलाई साधारण भाषामा गलगाँड पनि भनिन्छ यसले गर्दा खाना निल्न गार्हो भयो, देख्दा नराम्रो लाग्यो भने त्यसलाई अप्रेसन गर्ने सल्लाह दिन्छौं। धेरैजसोलाई हामीले अप्रेसन गर्ने नै सल्लाह दिन्छौं। थाइराइडको क्यान्सर राम्रो पक्ष भनेको यो ९० प्रतिशत निको हुने क्यान्सर हो।
थाइराइड ग्रन्थीमा पनि विभिन्न किसिमको क्यान्सर हुन्छ जुन सबैभन्दा कमन प्यापेलरी कारसिनोमा थाइराइड त्यसपछि फोलिकुलर कारसिनोमा हो। यसमा ९० प्रतिशत क्यापेलरी कार्सिनोमा थाइराइड ४ देखि ५ प्रतिशत फोलिकुलर कार्सिनोमा हुन्छ र त्यसपछि मेडुलरी कार्सिनोमा हुन्छ। र अर्को सबैभन्दा रेयर भनौं एनाप्लास्टि कार्सिनोमा हो। जुन लामो समयदेखि थाइराइड क्यान्सरको उपचार गरिएन भने प्यापेलरी कार्सिनोमा वा फोलिकुलर कार्सिनोमा परिवर्तन भएर एनाप्लास्टि कार्सिनोमा वा आफ्से आफ पनि बन्न सक्छन्। यो एकदमै खतरनाक हुनसक्छ। यसको समयमै उपचार भयो भने राम्रो होइन भने नराम्रो हुनसक्छ। त्यसकाण सुरूकै अवस्थामा डाइग्नोष्ट गर्न सकियो भने उपचार सहि पाइने हुन्छ र निको पार्न सकिन्छ। हाम्रो शरीरमा हुने धेरै क्यान्सर मध्ये यो पनि एक हो जसलाई निको पार्न सकिन्छ। थाइराइड ग्रन्थीमा पनि पूरा निकाल्ने कि आधा कति निकाल्ने थाइराइड क्यान्सरको अवस्था हेरेर कत्तिको, कहाँ कहाँ फैलिएको छ वा थाइराइड ग्रन्थीमा मात्र सिमित छ त्यो अनुसार त्यसको कत्रो अप्रेसन गर्ने भनेर निर्णय गरिन्छ। त्यसपछि घाटीको गाठोहरूमा फैलिएको रहेछ भने त्यसमा अधिक सेलेक्टिभ रेडियसनले क्यान्सरको टिस्यूहरूलाई मार्छ। यसको फाइदा भनेको हामीले अप्रेसन गरेर निकाल्न नसकेका र अन्त फैलिसकेको हुन्छ त्यस्तोमा मार्ने गरिन्छ र निको हुने सम्भावना सय प्रतिशत नभए पनि धेरै हुन्छ। प्रायजसो थाइराइड क्यान्सरमा रेडियो आयोडिन एभिलेसन गर्ने गर्छौं।
यसको उपचार कसरी गरिन्छ?
हाइपरथाइराडिजम हेरि हेरि त्यसका विभिन्न उपचारहरू छन्। के कारणले भएको हो त्यही अनुसार गर्नुपर्ने हुन्छ। कतिमा औषधि खान दिइन्छ भने कतिमा विशेष प्रकारको आयोडिन खुवाएर थाइराइडलाई सुकाउने काम गरिन्छ। अर्को अप्रेसन गरेर थाइराइड ग्रन्थी नै हटाउने हुन्छ।
थाइराइडमा गाँठागुँठी देखियो भने क्यान्सर हुने सम्भावना पनि हुन्छ। तर सबै गाँठोहरू क्यान्सर नै हुने भने हुँदैन। ती गाँठागुँठी हेरिकन उपचार गर्नुपर्ने हुन्छ। प्रायःजसोमा अप्रेसन नै गर्नुपर्ने हुन्छ तर त्यो भन्दा पहिले हामीले जाचँहरू गर्छौं। जस्तै थाइराइड हर्मोन ग्रन्थीले कत्तिको काम गरेको छ त्यसको हर्मोनको लेवल हेर्छौं। घाँटीको अल्ट्रासाउन्ड गरिन्छ। अल्ट्रासाउन्डमा शंका देखियो वा थाइराइड ग्रन्थी बाहेक अन्य घाँटीका छेउछाउमा पनि डल्लाहरू देखिन सक्छ त्यस्तोमा पनि क्यान्सर फैलिएको हुनसक्छ। जाँच गर्दा यदि शंका लागेको छ भने त्यसको एफेनोएसी पनि गराउछौं। त्यसको आधारमा हामीले उपचार गर्छौं।
क्यान्सर हुन नदिन के-के सावधानी अपनाउन सकिन्छ?
धेरै रेडियसन एक्सपोजर हुन भएन, धेरै पटक सिटीस्क्यान गराउनु भएन, बच्चाहरूमा धेरै लिम्फोमाहरूको उपचार गर्न रेडियसन नगरी हुँदैन जसबाट पनि क्यान्सर हुने सम्भावना हुन्छ। घाँटीमा रेडियो थेरापीहरू गराएको छ, त्यसैगरी वंशाणुगत पनि हुने हुन्छ। परिवारमा एक जनालाई देखियो भने अरूलाई पनि हुने सम्भावना हुन्छ। आफैंले आफैंलाई जाँच गरिराख्ने, परिवारमा कसैलाई देखिएमा सावधानी अपनाउने गर्नुपर्छ।
के थाइराइडको समस्या भएकाहरूमा नै यसको क्यान्सर देखिने हो?
महिलाहरूमा प्राय गरि जुन गाँठो देखिन्छ त्यो क्यान्सर हुने पुरूषको तुलनामा कम हुन्छ। थाइराइडको गाँठो पुरूषमा देखियो भने त्यसमा क्यान्सर हुने सम्भावना बढी हुन्छ। बुढेसकालमा आएर गाँठो देखिन थाल्यो त्यस्तोमा क्यान्सर हुने सम्भावना बढी हुन्छ। हापरथाइराइडिजम भएको मानिसमा क्यान्सर हुँदैन भन्ने होइन त्यसकारण थाइराइडमा गाँठो देखिएमा अल्ट्रासाउन्ड गरेर अल्ट्रासाउन्डको विभिन्न काइट एरियाहरू हुन्छन् त्यसमा त्यो फिचरहरू देखियो भने शंकाको हिसावले क्यान्सर हो होइन भनेर जाँच गर्नुपर्ने हुन्छ।
सुझाव
थाइराइडको क्यान्सरमा करिब ९० प्रतिशत निको बनाउन सकिन्छ। सुरूको अवस्थामा त सय प्रतिशत नै निको बनाउन सकिन्छ पनि भन्न मिल्छ। कतपय अवस्थामा फोक्सोमा र हड्डीमा फैलिसकेको छ भने पनि निको बनाउने सम्भावना धेरै हुन्छ। त्यसैले यसको दक्ष चिकित्सक र अस्पतालमा गएर उपचार शुरू गरौं।
-(इएनटी तथा हेड एन्ड नेक सर्जन डा दीपक यादव काठमाडौं क्यान्सर सेन्टरमा कार्यरत छन्।)