काठमाडौं- कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले ‘राष्ट्रिय कुष्ठरोग रणनीति सार्वजनिक २०७८–२०८२’ सार्वजनिक गरेको छ।
कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य सहित उक्त रणनीति सार्वजनिक गरिएको हो। स्थानीय तह स्तरमा लगातार पाँच वर्षसम्म १५ वर्ष मुनिका बालबालिकामा कुष्ठरोगका स्थानीय नयाँ संक्रमण शून्य रहनुलाई त्यस स्थानीय तहमा कुष्ठरोग फैलावट अवरुद्ध भएको भएको भनेर परिभाषित गरिएको छ।
७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, शाखा प्रमुख डा प्रशन्न नापित लगायतले उक्त रणनीति सार्वजनिक गरे।
उक्त रणनीति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री गिरीले कुष्ठरोगको अन्त्यका लागि जनचेतनाको वृद्धि गर्न आवश्यक रहेको बताए। कुष्ठरोगको निवारण र बिरामीको पुर्नस्थापितका लागि कुनै पनि कमी कमजोरी आउन नदिने मन्त्री गिरीको प्रतिवद्धता छ।
सरकारले जनस्वास्थ्य समस्याको रुपमा रहेको कुष्ठरोगलाई २०६६ माघ ५ गते राष्ट्रियस्तरमा निवारण भएको घोषणा गरेको थियो। कतिपय जिल्ला तथा स्थानीय तहमा कुष्ठरोग अझै पनि जनस्वास्थ्य समस्याको रुपमा रहेको शाखा प्रमुख डा नापितले बताए। सन् २०३० सम्ममा नेपालले कुष्ठरोग मुक्त बनाउने सरकारको लक्ष्य छ। सोही लक्ष्य प्राप्तिका लागि मार्गचित्र सहित कुष्ठरोग कार्यक्रमको आगामी पाँच वर्षको राष्ट्रिय रणनीतिको रुपमा अघि सारिएको उनले बताए।
राष्ट्रिय कुष्ठरोग रणनीतिले विशेषगरी केस पहिचान गर्ने, सम्पर्कमा आएका व्यक्तिको खोजी गर्ने लगायतका गतिविधिलाई सुदृढ बनाएर कुष्ठरोगको फैलावट रोकथाम गर्ने प्रयासलाई सम्बोधन गर्ने उल्लेख छ। पहिचान गरिएका जिल्ला÷स्थानीय तहले स्वीकृत राष्ट्रिय रणनीतिक योजनालाई विचार गर्दै विशेष कार्यान्वयन योजना तयार गर्नेछन्।
२ हजार २८५ नयाँ बिरामी
आर्थिक वर्ष २०७८÷७९ मा २ हजार २८५ जना नयाँ बिरामी पत्ता लागेका थिए। जसमध्ये ९८९ जना महिला र ७३ जना १४ वर्ष मुनिका बालबालिका रहेको शाखाको तथ्यांक छ। हाल २ हजार ३७३ जना उपचारमा छन्। कुल बिरामीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा छ। मधेश प्रदेशमा मात्रै ४० प्रतिशत अर्थात् ९१० जना बिरामी छन्। यस्तै, प्रदेश १ मा ३४५, बागमति प्रदेशमा ८३, गण्डकीमा ८३, लुम्बिनीमा ५८१, कर्णालीमा ६८ र सुदूरपश्चिम प्रदेशमा २०५ जना कुष्ठरोगीहरु छन्।
कुष्ठरोग निवारणका लागि अझै पनि धेरै विद्यमान समस्याहरु रहेको डा नापितले बताए। उनका अनुसार कुष्ठरोगका कारण हुने अपाङ्गता दर उच्च रहेको, स्थानीय संक्रमणदर उच्च रहेको, कुष्ठरोगप्रति सामाजिक भेद्भाव, दक्ष जनशक्तिको अभाव जस्ता समस्याहरु छन्।