काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका मागहरु सदनमा उठाउने बताएकी छिन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री डा कार्कीले डा केसीका जायज मागहरु सम्बोधनका लागि सदनमा आवाज उठाउने बताएकी हुन्।
उनले भनिन्, ‘डा गोविन्द केसीको मागहरु सदनबाट उठाउनेछु। उहाँको जायज मागहरुलाई सम्बोधन गर्न प्रयास गर्नेछु। सडकबाट उठाउँदै आएका मागहरुलाई अब सदनबाट उठाउँछु।’
डा केसीसँग आफुहरु अनौपचारिक रुपमा चरणवद्ध छलफलमा रहेको पनि उनले बताइन्। स्वास्थ्य सेवालाई गुणस्तरीय रुपमा अघि बढाउन, कमी कमजोरी थाहा पाउनु, सुधार गर्न स्वास्थ्यमन्त्री पदम गिरीसँग मिलेर कार्य योजना बनाइरहेको उनले जानकारी दिइन्। स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनले बताइन्।
सन् २०३० सम्ममा सहस्राब्दी विकास लक्ष्य एसडीजी प्राप्तिका लागि प्रयासरत रहेको उनले बताइन्।
यसका लागि मातृ मृत्युदर, बाल मृत्युदरको क्षेत्रमा सुधारका लागि काम गर्ने उनले बताइन्। स्वास्थ्य क्षेत्रमा छुट्याइने बजेटलाई बढाउन समेत पहल गरिने राज्यमन्त्री कार्कीको प्रतिवद्धता छ।