एक महिनाअघि काठमाडौंको धुम्बाराहीमा एक जना महिलाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै यतिबेला अनलाइन मिडिया, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक र सदन सबैतिर एउटै शब्द गुञ्जायमान छ- आत्मदाह।
इलामका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेपछि अनेकन प्रश्न उब्जिएका छन्। किन यसरी जलेका होलान् , कति पीडा भयो होला, कति धेरै तनाव लुकाएर राखेका होलान् अहिलेसम्म, परिवारलाई कस्तो भयो होला, जलेर नै किन मृत्युवरण गरेका होलान्, यस्तै यस्तै।
के हो त आत्मदाह?
आत्मदाह आफ्नो इच्छाबमोजिम आफ्नै जीवन अन्त्य गर्नका निमित्त शरीरमा पेट्रोल, मट्टितेल वा अन्य प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाई आत्महत्या गर्ने क्रुर विधि हो। शरीरमा आगो लगाएपछि शरीरका अधिकांश भाग जलेर, शरीरमा अक्सिजनको मात्रा समेत कम भई निस्सासिएर ७० प्रतिशतभन्दा बढीको मृत्यु हुने सम्भावना हुन्छ।
विभिन्न अध्ययन हेर्दा विकसित देशहरुमा आत्महत्याबाट हुने मृत्युमध्ये आत्मदाहबाट हुने मृत्यु एक प्रतिशतभन्दा कम छ भने न्यून र मध्य आयस्तर भएका देशमा आत्मदाहको प्रवृत्ति निकै उच्च छ। इरानमा आत्मदाहबाट हुने मृत्यु अत्याधिक रहेको पाइन्छ।
विश्व इतिहास हेर्ने हो भने ग्रिकमा सन् ८०० तिर नै आत्मदाहको प्रयास भएको देखिन्छ भने हिन्दु संस्कृति हेर्दा पनि 'सती प्रथा' को इतिहास निकै पुरानो रहेको छ। बौद्द धर्ममा समेत मोक्ष प्राप्तिका लागि भन्दै आत्मदाह गरेको उदाहरण भेटिन्छ।
अरब राष्ट्रहरुमा महिलामा हुने शोषण, जबरजस्ती, स्वेच्छामाथिको प्रतिबन्धका कारण आत्मदाह गरेको भेटिन्छ भने चीन, कोरिया र भियतनाममा राजनीतिक प्रतिकारका लागि आत्मदाह गरेका उदाहरण छन्। भारतकै कति राज्यमा युद्दमा परास्त हुने निश्चिततापश्चात् विपक्षी सैनिकहरुले दास बनाउने, जबरजस्ती करणी गर्ने, बन्धक बनाउने हुनाले आफूसँगै बच्चाहरुसमेत आत्मदाह गर्ने प्रचलन रहेको देखिन्छ।
नेपालमा ९ वर्ष पहिले तिब्बती नागरिकले गरेको आत्मदाह र बेलाबेलामा हुने अन्य घटनाले आत्महत्या रोकथामका लागि गरिएका र भइरहेका प्रयासहरुमा चुनौती थपिरहेको छ।
आत्मदाहपछि मिडियामा आउने समाचार, सामाजिक सञ्जालभरि देखिने जलेको भिडियो र सबैतिर छताछुल्ल हुने गरी पोखिएका भावनाले थप आवेग, नैराश्यता, पीडा र फेरि दोहोरिन सक्ने घटनाको भयलाई मानसिक स्वास्थ्यसँग जोडेर हेर्दा झनै त्रसित बनाउने गरेको देखिन्छ ।
आत्मदाह नै किन रोज्छन् मानिस?, आत्महत्या/ आत्मदाहका जोखिम
आत्महत्याका अधिकांश प्रयासहरुमा सजिलो र कम पीडा भएका विधि रोजेको देखिन्छ। तर आत्मदाह जस्तो कठोर र कष्टटर उपाय किन रोज्छन् त?
१) आत्मदाहपश्चात् गरिएको (इरान, ट्युनिसिया र अफगानिस्तानमा) अध्ययन बमोजिम आत्मदाह गर्ने व्यक्तिहरुमा डिप्रेसन, एड्जस्टमेन्ट डिसअर्डर, पर्सनालिटी डिसअर्डर, साइकोसिस, लागूपदार्थ प्रयोग या दुर्व्यसन जस्ता समस्याहरु रहेको देखिएको छ। कतिले आत्मदाहपूर्व समेत आत्महत्याको प्रयास गरेको पाइन्छ।
२) आन्तरिक र बाह्य तनाव (पारिवारिक, आर्थिक, व्यक्तिगत) को स्थितिमा आफूले आफैंलाई घृणाको रुपमा लिनु, नकरात्मक सोच रहिरहनु र अरुलाई केही हानि नपुगोस् भनी आफूले आफैंलाई क्रुर पीडा दिन सक्ने विनासकारी व्यक्तित्व रहेका कारण।
३) तत्कालको आवेगलाई सही ढंगले व्यवस्थापन गर्न नसकेका कारण।
४) आफूले पराजय भोग्नु परेको हिनतबोध, घृणा, अरुले गरेको तिरस्कार र जीवनका आफ्ना पूर्ण नभएका असफल इच्छाहरुलाई सांकेतिक रुपमा पीडामार्फत साट्नका लागि।
५) धर्मका कारण या आफ्नो आत्मत्याग गरी समाजमा योगदान पुर्याउन या राजनीतिक अशान्ति, शोषण र अन्य समाजिक परिवर्तनका लागि उदाहरणीय बन्नका निम्ति।
रोकथामका उपाय
नेपालमा अझै पनि दैनिक १९ जनाले आत्महत्या गरिरहेका छन्। वार्षिक ७ हजारभन्दा माथिको मृत्यु आत्महत्याका कारण हुने गरेको, सबै आत्महत्या आवेगमै आएर गरिएका हुँदैनन्, एउटा पूर्ण आत्महत्यापूर्व थुप्रै अपूर्ण प्रयासहरु, आत्महत्या सम्बन्धी स्पष्ट वा अस्पष्ट सुराग समेत रहेका हुन्छन्। आत्महत्या रोक्न सकिने किसिमको समस्या हो।
आत्महत्या वा आत्मदाहका अधिकांश घटना धेरैजसो समयमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्याका कारण हुने हुनाले बेलैमा मनोचिकित्सकसँग सहयोग लिनु आवश्यक हुन्छ।
समाजले हेर्ने दृष्टिकोण, सामाजिक कलंकका कारण अझै पनि मानसिक स्वास्थ्य सेवा लिन हिच्किचाहट रहेको छ। मानसिक स्वास्थ्यका बारेमा प्रोत्साहन गरौं, खुलेर कुरा गरौं।
हातहतियार, प्रज्वलनशील वस्तु, औषधि, किटनाशक विषादीहरुको उचित व्यवस्थापन गरौं।
मिडियामा आत्महत्या सम्बन्धी समाचार वा भिडियो हाइलाइट गरेर राख्दा पीडितका परिवारजन र आफन्तमा त असर पर्छ नै, उस्तै सोच र पीडा भएकाहरुमा समेत नकारात्मक असर पर्छ। त्यसैले, यस्ता समाचार राख्नुपूर्व विचार गरौं।
कसैलाई आत्महत्या सम्बन्धी सोच आएमा जुनसुकै बेला शुल्क नलाग्ने '११६६' मा सम्पर्क गरी परामर्शदाताको सहयोग लिऔं।
(डा खनाल मानसिक अस्पताल, लगनखेलका मानसिक रोग विशेषज्ञ हुन्।)