काठमाडौं-शिशु जन्मिएको दुई वर्षसम्म स्तनपान गराउनु अनिवार्य छ। पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्छ। उक्त अवधिमा आमाको दूध बाहेक शिशुलाई पानीको पनि आवश्यकता पर्दैन। जसलाई एक्स्क्लुसिभ ब्रेस्ट फिडिङ भनिन्छ। तर यही एक्स्क्लुसिभ बेर्स्ट फिडिङ गराउने आमाहरुको संख्या नै घटेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले हालै सार्वजनिक गरेको अध्ययन रिपोर्टले एक्स्क्लुसिभ ब्रेस्ट फिडिङ गर्ने आमाको संख्या ५६ प्रतिशत मात्र देखाएको छ। जुन २०१६ को भन्दा १० भन्दा कम हो।
स्तनपान गराउने आमाहरुको संख्या किन घटिरहेको छ? स्तनपानको दर बढाउन सरकारले के के कार्यक्रम सञ्चालन गरिरहेका छन्? लगायत विषयमा हामीले परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीला बिक्रम थापासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
एनडीएचएसको रिपोर्टले पछिल्लो पाँच वर्षमा एक्स्क्लुसिभ स्तनपान गराउने महिलाको संख्या घटेको देखाएको छ? यो संख्या किन घटेको हो?
एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउने महिलाको संख्या झनै घटीरहेको छ। सरकारी रणनीति, निर्देशिका, नीति अनुसार कार्यक्रमहरु गरिरहेका छौँ। तर सामाजिक सञ्जालको प्रभावका कारण स्तनपान गराउने महिलाको संख्या घटीरहेको मलाई व्यक्तिगत रुपमा लागेको छ। स्तनपानको महत्वको बारेमा बुझेर या बुझ्दै नबुझेर स्तनपान कम गर्नेहरु पनि छन्। बच्चा जन्मिने बित्तिकै एक घण्टाभित्र स्तनपान गराउनुपर्ने महत्वका साथ हामीले कार्यक्रमहरु गरिरहेका छौँ। तर यो हुँदा हुँदै पनि सामाजिक सञ्जालको प्रभाव, शारीरिक बनोट बिग्रने डरले स्तनपानको महत्व बुझेर पनि कम गर्ने महिलाहरु छन्। कतिपय महिलाहरु भने कामकाजी भएका कारण पनि असर परिरहेको छ। स्तनपान घट्नु भनेको झन् यो बच्चाहरुमा कुपोषणको अवस्था बढाउनु हो। यसले कुपोषणको समस्या बढाउन महत्वपूर्ण भूमिका खेल्छ।
स्तनपान बढाउन सरकारले हाल के-के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ?
राष्ट्रिय पोषणको रणनीति अनुसार हामीले पञ्चवर्षीय कार्यक्रम बनाएका छौँ। बहुक्षेत्रीय पोषण योजनाको सूचक अनुसार विभिन्न काम गरिरहेका छौँ। स्वास्थ्यकर्मीहरुलाई सक्षम बनाएर उनीहरु मार्फत महिलाहरुलाई सचेत बनाउने कार्यक्रमहरु छन्। विभिन्न स्वास्थ्य संस्थासहित सामूदायिक स्वास्थ्य संस्था, एयरपोर्टमा ब्रेस्ट फिडिङ कर्नर अर्थात् स्तनपान कक्ष विस्तार गर्दै लगेका छौँ। महिलाहरुलाई यी स्थानमा स्तनपान गराउन सहज वातावरण होस् भनेर स्तनपान कक्ष बढाउँदै गएका छौँ। एउटा स्तनपान कक्ष निर्माणका लागि एकदेखि दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएका छौँ।
सरकारले स्तनपानको ‘प्रोटेक्ट’, ‘प्रोमोशन’ र ‘सपोर्ट’ का लागि पनि कार्यक्रमहरु गरिरहेको छ। स्तनपान बढाउन आमा तथा बच्चामैत्री अस्पताल इनिसिएटिभ कार्यक्रम विभिन्न २५ वटा अस्पतालहरुमा गरेका छौँ। स्तनपान बढाउन र आमालाई प्रोत्साहन गर्न के के गर्ने? बच्चाको हकमा के के गर्ने? लगायत विषय उल्लेख गरिएको हुन्छ। अस्पतालका मेसुदेखि सबै स्वास्थ्यकर्मीहरुलाई यो कार्यक्रमको महत्व, यसको अवस्था, किन स्तनपान घटिरहेको छ भनेर उहाँहरुलाई नै मूल्यांकन गर्न लगाएर सहभागी गराउनुपर्छ। ती सूचक अनुसार स्तनपान कार्यक्रम लागू गर्न अनूकुल वातावरण छ की छैन जस्ता पक्षलाई ध्यान दिएर काम गर्दैछ।
आमाको दूध प्रतिस्थापन गर्ने विभिन्न वस्तुहरुको वितरणलाई कम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा बीएमएसको इन्सपेक्टर भनेर एक जना व्यक्तिलाई तोकेको छ। प्रदेश र स्थानीय तहमा तोकिएका उक्त व्यक्तिलाई अभिमुखिकरण गर्छौ। उत्पादकदेखि लिएर स्वास्थ्यकर्मीहरुले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरुलाई प्रोत्साहन गर्नु हुँदैन। यदी प्रोत्साहन गरेको पाइयो भने कारबाही के के हुन सक्छ? कसैले उजुरी दियो भने कसरी जाने? यी वस्तुलाई कसरी निरुत्साहित गर्ने भनेर हामीले उहाँहरुलाई अभिमुखिकरण दिन्छौँ।
स्तनपान बढाउन यहाँहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहनु भएको छ। यी कार्यक्रम सञ्चालनका बावजुद पनि कहाँ कमजोरी भए? जसले स्तनपानको दरलाई बढाउन सकेन?
विभिन्न कारणहरु छन्। अहिले अस्पतालहरुमा आमाहरु आफैँले सिजेरियन सेक्सन रोज्ने गर्छन्। बाध्यताले सिजेरियन सेक्सन गर्नेहरुको संख्या त छँदैछ। तर अहिले धेरैले सिजेरियनलाई आफैँले पनि रोज्ने क्रम बढेको देखिन्छ। सिजेरियन गर्दा आमा र बच्चालाई छुट्याएर राख्ने प्रचलन अहिले पनि छ। सिजेरियन सेक्सन गरेतापनि आमा र बच्चालाई सँगै राखेर स्तनपान गराउन सकिन्छ भनेर विश्व स्वास्थ्य संगठनले पनि सुझाव दिइसकेको छ। हामीले यो कुरा अस्पतालहरु र स्वास्थ्यकर्मीहरुलाई पनि बुझाउनुपर्नेछ। यसले स्तनपान बढाउन मद्दत मिल्नेछ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको सहज उपलब्धता पनि हो। हाम्रो कानून भएपनि सम्बन्धित निकायले अझै पनि राम्रोसँग कार्यान्वयन गर्न सकेको छैन। सहज उपलब्धता हुँदा पनि स्तनपानको कार्यक्रममा असर गरिरहेको छ।
यदी यही क्रममा स्तनपान घट्दै गयो भने पोषणको क्षेत्रमा कस्तो असर गर्न सक्छ?
हामीले पोषणको अवस्था सुधार्न विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ। बच्चाको ८० प्रतिशत वृद्धि विकास दुई वर्षभित्र हुन्छ। यसरी स्तनपानको दर घट्दै जाँदा बच्चाहरुमा विभिन्न रोगहरु लाग्ने संभावना बढ्ने भयो। तत्कालीन समस्याहरुमा झाडापखाला, निमोनिया, विभिन्न संक्रामक रोगहरु लाग्ने जोखिम बढ्छ। दीर्घकालमा गएर नसर्ने रोगहरुको जोखिम बढी हुन्छ। तुलनात्मक रुपमा कृत्रिम दूध खाने बालबालिकामा नसर्ने रोगको जोखिम २० गुणा बढी हुने विभिन्न अध्ययनले देखाएको छ। स्तनपान घटिरहँदा नसर्ने रोगको जोखिम बढ्ने, आमा र बच्चाबीचको आत्मीयता घट्ने र कुपोषणको समस्या बढ्ने जोखिम पनि हुन्छ।