२०७८ मङ्सिरमा काठमाडौंमा परिवारका ३ जना अचेत, १ जनाको उपचार गर्ने क्रममा मृत्य.. !
२०७८ पुषमा बाँकेको नेपालगन्जमा एकै परिवारका ४ जना को मृत्यु.. !
२०७८ माघमा भक्तपुरमा ३ महिनाको शिशुको मृत्यु तथा अन्य २ परिवार अचेत अवस्था…!
२०७८ माघमा काठमाडौंमा २ जनाको मृत्यु…!
२०७८ फाल्गुनमा ललितपुरमा नवजात शिशुसहित ५ जना को मृत्यु…!
२०७९ पौष १८ मा भारतको उत्तरप्रदेशमा कैलालीका एकै घरका ३ जनाले ज्यान गुमाए…!
२०७९ पौष २६ मा पर्साको वीरगञ्जमा २ जनाले ज्यान गुमाए..!
माथि घटेका सम्पूर्ण घटनाको मुख्य कारण भनेको कार्बन मोनोअक्साइड ग्यास हो। राम्रोसँग ध्यान दिने र समाजमा चेतना फैलाउने हो भने अकालमा हुने यस किसिमको मृत्यु रोक्न सकिन्छ। आउनुहोस् आज यस अंकमा कार्बन मोनोअक्साइड ग्यास सम्बन्धी केही छलफल गरौँ।
अझै पनि चिसो ठाउँहरुमा र विशेष गरेर नवजात शिशुलाई सेक्ने भनेर बन्द कोठामै हिटर वा कोइला बाल्ने चलन प्रशस्तै देखिन्छ। कार्बन मोनोअक्साइड विषाक्त भनेको एक साइलेन्ट किलर समस्याका रुपमा पनि चिनिन्छ किनभने यो गन्धहीन, स्वादहीन र रंगहीन रासायनिक ग्यास हो
असर कसरी गर्छ?
हाम्रो शरीरमा भएको हेमोग्लोबिनले सामान्यतया अक्सिजनलाई बोकेर शरीरको पुरै तन्तुहरुमा पुर्याउँछ। तर कार्बन मोनोअक्साइडको मात्रा बढी भएमा हेमोग्लोबिनले कार्बन मोनोअक्साइडसँग अक्सिजन भन्दा २०० गुणा बढी हुन्छ। कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ। जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन जान्छ र शरीरका कोश तथा तन्तुहरुमा अक्सिजनको कमी हुनगइ लक्षणहरु देखा पर्न थाल्दछन्।
होस भएको मान्छेले श्वास फेर्न अप्ठ्यारो भएको सजिलै थाहा पाउँछ तर सुतेको मान्छे, बच्चा र नवजात शिशु छ भने त्यो बेहोस हुन्छ। बेहोसमा गएपछि कुनै प्रतिक्रिया जनाउन नसक्ने कारण मृत्यु हुने गर्दछ।
कारणहरु:
ग्यास, वटर हीटर, सेटर हीटिङ सिस्टम र आगो जसलाई जलाउनको लागि ग्यास तेल कोइला र काठको प्रयोग गरिन्छ। जब इन्धनको स्रोतहरु विभिन्न कारणले राम्रोसँग जल्दैन त्यस्तो अवस्थामा कार्बनमोनोअक्साइड ग्यास बढी मात्रामा उत्पादन हुन्छ। बन्द ग्यारेजमा कारको इन्जन लामो समयसम्म चलाएमा साथै एक्जस्ट बिना लामो समयसम्म एसी खुल्ला छोडेमा,
आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। क्षतिग्रस्त उपकरणबाट पनि प्रशस्त मात्रामा ग्यास लिक हुने गर्दछ।
लक्षणहरु:
बच्चाहरुले छिटो श्वास फेर्ने भएको हुँदा व्ययस्क भन्दा बढी समस्या देखिने गर्दछ।
मन्द टाउको दुख्ने ,चक्कर लाग्ने, थकान लाग्ने, वाकवाक लाग्ने,कमजोरीपन, आँखा धमिलो हुँदै जाने, छाती दुख्न थाल्ने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ।
शरीरलाई अपरिवर्तनीय क्षति निम्त्याउँछ र समयमै समस्याको पहिचान र उपचार नभए मृत्युसमेत हुन सक्छ।
दीर्घकालीन जटिलताहरु
भ्रमको स्थिति, स्मरण शक्ती हराउदै जानु
समन्वयमा समस्या आउनु
मुटुको समस्या, न्यूरोलोजिकल डिसअर्डर, र सेरेब्रोभास्कुलर दुर्घटनाको अनुभव गर्न सक्दछन।
बढी जोखिममा को को पर्छन त?
• नवजात शिशु र साना बच्चा
• गर्भवती महिला
• मुटुरोगी
• दम जस्ता श्वासप्रश्वास सम्बन्धी दीर्घरोगीहरु
रोकथामको उपाय
• बन्द कोठामा कोइला जलाएर नसुत्ने,
• प्रयाप्त भेन्टिलेसनको व्यवस्था गराउने, सुत्नुअघि आगो राम्रोसँग पुरै निभाएर मात्रै सुत्ने,
• बन्द ग्यारेजमा इन्जिन चलाएर नछोड्ने,
• हिटर प्रयोग गर्दा झ्यालढोका खुला राख्नुपर्छ भने रातभरि हिटर बालेर नछाड्ने, बाल्नुपरे पनि केही समय शरीर तताएर हिटर बन्द गर्ने,हिटर चालू रहेको समयमा कोठामा सानो भाडामा पानी राख्ने,
• कार्बन मोनोअक्साइड विषाक्तताको लक्षण सम्बन्धी जानकारी लिने र अरुलाई सिकाउने,
• समस्या देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा जाने वा लैजाने ।
याद गर्नुहोस्, कार्बन मोनोअक्साइड ग्यास विषाक्त भएको खण्डमा बिरामीको शरीरमा अक्सिजनको मात्रा पल्स अक्सिमिटरले नर्मल देखायता पनि कम्तीमा ६ देखी २४ घण्टासम्म १०० प्रतिशत अक्सिजन थेरापी दिनुपर्छ।