सन् २०२१ को जनवरीमा भएको विश्व स्वास्थ्य संगठनको ७४औं महासभामा मुख स्वास्थ्य सम्बन्धी ऐतिहासिक संकल्प पारित भयो। संकल्पमा सदस्य राष्ट्रहरुलाई मुख रोग र अन्य नसर्ने रोगका कारक तत्वहरु जस्तै– चिनीको उच्च प्रयोग, सुर्तीजन्य पदार्थको उपयोग र मध्यपान कम गर्न अनुरोध गरिएको छ। त्यस्तै, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन, परम्परागत उपचारात्मक पद्धतिभन्दा रोकथामका उपाय अबलम्वन गर्न संकल्पले पैरवी गरेको छ।
परिवार, काम गर्ने ठाउँ, विद्यालय जस्ता स्थानमा मुख स्वास्थ्यको प्रवद्र्धनमा जोड तथा प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरुसम्म मुख स्वास्थ्यको उपचार समयमै गर्नका लागि समतामुलक व्यवस्था गर्न पनि अनुरोध गरिएको छ। नेपालमा पनि यही संकल्प अनुसार काम अगाडि बढाउने केही प्रयास भएका छन्। स्थानीय तहहरुले पनि आफ्नो तर्फबाट केही काम अगाडि बढाएको देखिन्छ। स्वास्थ्य सेवा विभागले दाँतको महत्व बुझाउँदै अति दुर्गमका बञ्चित जेष्ठ नागरिकलाई लक्षित गर्दै कार्यक्रम गरेको छ। तर मुख स्वास्थ्यलाई जति प्राथमिकता दिनुपर्ने हो त्यो भने हुन सकेको छैन।
गलत आम धारणा
दाँत निकाल्दा आँखा कमजोर हुन्छ। दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ। हिङ खाँदा दाँतले छोएमा दाँत झर्छ, जुठो खाँदा दाँत किराले खाने रोग सर्छ, दाँत जन्मँदा नै आयो, छिटो आयो वा आएन तथा दाह्रे भए अलञ्छिन हुन्छ भनी पूजापाठ, ग्रह शान्ति र धामी–झाँक्री बसालिन्छ। दाँतमा सुन लेपेका वा कु“देकाहरुले दाँत निकालेपछि सुन फिर्ता माग्ने गर्छन्। दाँत निकालेपछि फिर्ता मागेर घरको धुरी कटाउने, मुसाको प्वालमा हाल्ने गर्छन्। दाँत दुखेमा रातो सामानले दाँत डाम्नपर्छ, पाचक खाएपछि दाँत किराले खान्छ, श्रीमान्को नाम लिँदा दाँत किराले खान्छ, बुढो भएपछि थोते हुनैपर्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, एक पटक बिरामी भएको दाँत उपचार गर्नुभन्दा निकाल्नु ठिक हुन्छ। नदुख्दा वा समस्या नदिँदासम्म उपचार गर्नु हुँदैन जस्ता भ्रमका कारण पनि मुख तथा दाँत स्वास्थ्यका क्षेत्रमा समस्या निम्तिरहेको छ।
अन्य रोगको तुलनामा दाँतको रोगलाई गम्भीर नमान्ने प्रवृत्ति, सरकारी एवं गैरसरकारी क्षेत्रबाट दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी विलासिता र कास्मेटिक उपचारका रुपमा बुझ्ने गर्दा पनि समस्या देखिएको हो। दन्त स्वास्थ्य सम्बन्धी चेतनाको कमी, गरिबी, स्वास्थ्य सुविधाको पहुँचको कमीले पनि समस्या थपेको छ।
दाँतको मुख्य कार्य भोजनलाई चपाएर, टुक्र्याएर पचाउन योग्य बनाउनु हो भन्ने मात्र मान्यता छ। रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझै स्वास्थ्यमा पर्छ। विकारयुक्त दाँत तथा गिजाप्रति लापरबाही गरिँदा विकार सिधै पेटमा पुगेर रगतमा मिसिन्छ। शरीरमा विभिन्न रोग कोलिसिस्टाइटिस, जोर्नी र हड्डीका विभिन्न रोग, रक्तचाप, रक्तअल्पता, फोक्सोको रोग, झाडापखाला वा कब्जियत, पेट र गला सुन्निने, पेटको अल्सर, आँखाको रोग, ब्लाडर, मिर्गौला, फोक्सो, मुटु र दिमाग जस्ताका रोगहरु, सब एकयुट ब्याक्टेरियल इन्डोकार्डाटिस, हृदयाघात, मस्तिष्कघात तथा मधुमेह हुन सक्छन्। गर्भवतीमा यस्ता रोग भए सोझो प्रभाव शिशु तथा प्रसव समय र प्रक्रियामा पर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका झण्डै ६ अर्ब मानिस दाँतको कुनै न कुनै समस्याबाट पीडित छन्। विश्वका अधिकांश मुलुकमा विशेषगरी स्कुल जाने उमेरका ९० प्रतिशत बालबालिका दन्तरोगी छन्। गाउँघरमा गिजा सम्बन्धी र दाँत खिइने रोग प्रमुख रुपमा देखा पर्छन् भने सहर–बजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरु आउने जस्ता रोग पर्छन्।
तर, दन्त स्वास्थ्यका प्रमुख रोगको कुरा गर्नु पर्दा दन्त सडन, दन्त हर्षा, पाइरिया, दाँत सिरिंग–सिरिंग गर्ने, श्वास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रङ तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नु लगायत छन्।
यसका साथै यी सामान्य रोगहरुबाट उत्पन्न भएका जटिलताहरु गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते भएको पनि त्यत्तिकै भेटिन्छन्। प्रकोपको कुरा गर्दा दन्त सडनको उपचार एकै पटक गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक बजेटको १० गुणा लाग्न सक्ने अनुमान छ।
शरीरको प्रवेशद्वार र ऐना
शरीरको कुनै पनि अंग–प्रत्यंग, कोषलाई आवश्यक पर्ने पौष्टिक तत्व खाना वा नास्ताको रुपमा मुखबाट लिइने भएकोले नै मुखलाई शरीरको प्रवेशद्वार भन्ने गरिएको हो। तसर्थ, मुखको स्वास्थ्यभन्दा प्रत्यक्ष रुपमा मुख वा यस वरपरको अंग–प्रत्यंगलाई बुझाए पनि परोक्ष रुपमा शरीरको सम्पूर्ण अंग–प्रत्यंग स्वास्थ्यस“ग सम्बन्धित रहन्छ। मुख शरीरको प्रवेशद्वार हो।
तसर्थ, मुखबाट खाइएका खाद्य पदार्थ जस्तै– खाना, नास्ता, औषधिले शरीरका सम्पूर्ण अंग–प्रत्यंगलाई स्वस्थ राख्न सहयोग पुर्याइरहेका हुन्छन्, जसबाट मात्र एउटा स्वस्थ मानिसको कल्पना गर्न सकिन्छ। एकातिर मुखका अंग–प्रत्यंग र दाँतमा देखिने समस्या वा रोग मुखसँगै मात्र सम्बन्धित हुन सक्छन् भने अर्कोतिर शरीरका अंग–प्रत्यंग वा प्रणालीसँग सम्बन्धित समस्या वा रोगको प्रतिबिम्व मुखका अंग प्रत्यंगमा देखिन्छन्। समयमै ध्यान नदिंदा दाँत तथा मुखका सामान्य रोग तथा समस्याले पनि जटिलता उत्पन्न गरी अंगभंग तथा मृत्युवरण गर्नुपर्ने अवस्था आउन सक्छ।
मुख स्वास्थ्य नीति
पहिलो मुख स्वास्थ्य नीति २०६० मा आएको हो। त्यसयता मुख स्वास्थ्यका क्षेत्रमा केही काम हुँदै आए पनि गति भने सुस्त नै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विगतका कार्यहरुले नेपालीको मुख स्वास्थ्यमा केही सुधार तथा उपलब्धि हाासिल भने भइरहेको छ। अहिले मन्त्रालयले मुख स्वास्थ्यलाई नसर्ने रोगहरुकोे प्रतिरोध र नियन्त्रण गर्न बहु–क्षेत्रगत राष्ट्रिय कार्ययोजनामा समावेश गर्ने महत्वपूर्ण कार्य गरेको छ। मन्त्रालयले मानव विकासमा मुख स्वास्थ्यको महत्वपूर्ण पक्षलाई ध्यान दिँदै यसको प्रवद्र्धन गर्ने कार्यको थालनी गरेको छ। यो सुखद पक्ष हो। तर यो मात्र पर्याप्त भने छैन। अहिले नेपाल आधारभूत मुख स्वास्थ्यसहित सबैको लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीलाई सुद्धढ गर्ने पक्षमा छ।
हाल नेपालमा वार्षिक करिब ६५० स्नातक दन्त चिकित्सक देश र विदेशबाट उत्पादन भइरहेका छन्। उच्च शिक्षा अध्ययन संस्थानहरुबाट करिब ६० जनाले दन्त चिकित्साका विभिन्न क्षेत्रमा स्नातकोत्तर शिक्षा हासिल गर्छन्। सो बाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट सञ्चालित संस्थाहरुबाट दन्त सहायकहरु तयार हुन्छन्। दन्त चिकित्सा सम्बन्धी जनशक्ति बढ्दै गए पनि देश भित्रको वितरण भने असन्तुलित छ।
राजधानीमा दन्तरोग विशेषज्ञ र जनसंख्याको अनुपात ९ हजार जनसंख्या बराबर एक जना छ भने राजधानी बाहिर ५६ हजार बराबर एक जना छ। हाल नेपालमा पृथक डेण्टल काउन्सिल नभएको अवस्थामा धेरै संख्यामा रहेका डेण्टल कलेजहरुको गुणस्तर सुनिश्चितता तथा सम्कन्धनको समस्या पनि थपिएको छ। धेरैजसो नेपालीका लागि मुख सम्कन्धी रोगको उपचार महँगो पर्ने गरेको छ। सीमान्तीकृत तथा कम आय हुने जनसंख्याको लागि निजी क्षेत्रको दन्त स्वास्थ्य सेवा लिन नसकिने गरी महँगो छ। देश भित्र अवैध सेवा प्रदायकहरुको संख्या पनि बढिरहेको छ। बिरामीहरु परम्परागत उपचार पद्धति र अवैधानिक सेवा प्रदायकहरुकहाँ जाँदा उनीहरुको स्वास्थ्यमा उच्च खतराको स्थिति उत्पन्न भएको छ। यस्तो अवैध उपचार कार्य रोकथामको लागि कानुनी प्रावधान नरहेको अवस्था छ। नेपालमा दाँत र गिजाको रोगले प्रभावित जनसंख्या, मुख सम्बन्धी अर्वुद रोगबाट पीडित जनसंख्या एवं अवस्थाबारे समग्र तथ्यांकको कमी छ। मुख स्वास्थ्य बिमाको कुनै पनि व्यवस्था छैन।
सेवा र जनचेतना पहुँचको विस्तार गर्न नयाँ मुख स्वास्थ्य नीति २०७१ मा आएको छ। नीतिले मुख स्वास्थ्यको प्रवद्र्धन तथा रोगहरुको नियन्त्रण गर्ने, मुख स्वास्थ्य सम्बन्धी सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, निरन्तर निगरानी, अनुगमन तथा मूल्यांकन र अनुसन्धानलाई प्राथमिकता दिने, स्वास्थ्य नीति तथा प्रणालीमा मुख स्वास्थ्यलाई प्राथमिकीकरण गर्ने, मुख स्वास्थ्यको विकासको लागि अन्य क्षेत्रहरुसँग साझेदारी गर्ने लगायतका विषयलाई प्राथमिकता दिएको छ। तर त्यसअनुसार काम भने प्रभावकारी हुन सकेको छैन।
राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा मुख, आँखा, नाक, कान लगायत अन्य विशिष्टीकृत स्वास्थ्य सेवालाई सबै तहमा विकास तथा बिस्तार गरिनेछ र मुख स्वास्थ्य तथा दन्त सेवा सम्बन्धी रोगहरुको नियन्त्रण तथा उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवा केन्द्र लगायत सबै तहमा विकास तथा बिस्तार गरिनेछ भन्ने उल्लेख छ। त्यसलाई कार्यान्वयनमा लैजान आवश्यक छ।
आधारभूत स्वास्थ्य सेवामा दन्त हर्षा, जिब्रो तथा मुखको सुजन, दन्तसडन, मुखका घाउ–खटिरा, दाँतको दुखाइ तथा दाँत र बंगाराको चोट–पटक, पेरियोडेन्टल अबसेस, मुखको क्यान्सरको आधारभूत हेरचाह, फलो अप र आवश्यक भए प्रेषण स्तरीय उपचार पद्धतिमा संलग्न छ। आकस्मिक स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतिमा दाँतको दुखाइ, चोटपटक, जोर्नीको फुस्काइ र गिजाबाट रगत आउने समस्या संलग्न छ। स्वास्थ्य बिमामा केही समावेश र केही परिमार्जन हुँदैछ। न्यूनतम सेवा मापदण्डमा समावेश हुनुका साथै स्कुल नर्सको पाठयक्रममा समावेश भएको छ। यो राम्रो पक्ष हो। सरकार मात्र होइन, मुख स्वास्थ्यमा नागरिकको भूमिका झनै महत्वपूर्ण हुन्छ। रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हुन्छ। त्यस कारण आफ्नो मुख र दाँतको स्वास्थ्यका विषयमा नागरिक पनि सचेत रहन जरुरी छ।
दाँत एवं मुखको सर–सफाइ, खानेकुरामा नियन्त्रण र नियमित रूपमा दन्त परीक्षण गराउनुपर्छ। नियमित दन्त परीक्षण गराउ“दा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण सम्भव हुन्छ। बिहान खाना खाइसकेपछि चार मिनेट र बेलुका सुत्नु अगाडि चार मिनेट मुखको सरसफाइमा दिन सकियो भने करिब ९० प्रतिशत मुखका रोगहरुबाट मुक्त हुन सकिन्छ।
समस्या तथा चुनौती
केही वर्षदेखि डेन्टल कलेजको स्थापना र बिस्तारले धेरै डेन्टल सर्जन र विशेषज्ञ चिकित्सक उत्पादन भइरहेका छन्। तथापि, ४० प्रतिशत विविध कारणले अभ्यासमा नरहेको पनि खोजमा देखिएको छ। जसमा एक प्रतिशत जति मात्र जनशक्ति सरकारी सेवामा रहेको देखिन्छ
जनमानसमा लक्षण नदेखिँदासम्म उपचार नगर्ने, सरकारद्वारा सीमित सेवा, दूरदराजमा सेवा नै नभएको र जेष्ठ तथा बिपन्न नागरिक यात्रा गर्न नसक्दा आज पनि सरकारबाट उपेक्षित र नागरिक घरायसी उपचारमै भर पर्ने गरेको पाइन्छ। दर्तावाल चार हजार बढी दन्त चिकित्सक रहेको देशको सरकारी सेवामा ७ दर्जन पनि छैनन् भने २ हजार बढी डेन्टल हाइजिनिष्टमा ११ जना मात्र छन्। विश्व स्वास्थ्य संगठनले हरेक ७ हजार ५ सय जनसंख्यामा एक दन्त चिकित्सक रहनुपर्ने बताएको छ। स्वास्थ्यमा क्रान्ति भन्दै ल्याएको आधारभूत ५, १० र १५ शय्याका अस्पतालमा दाँतको उपचार सेवा अर्थात् डेन्टल सर्जन अटाउन सकेनन्।
आधारभूत तथा आकस्मिक सेवाको प्याकेजमा समेत रहेको मुख स्वास्थ्य सेवा पाउन पनि नागरिक जिल्ला सदरमुकाम नै पुग्नपर्ने भएको छ। जसमा दन्त चिकित्सक संघ र कन्सल्टेन्टहरुले विरोध जनाइसकेका छन्। तर नीति निर्माताहरु इगोका रुपमा लिँदै कानमा तेल हालेर बसेका छन्। हालको स्रोत–साधनमा सामाजिक–आर्थिक रुपले कमजोर रहेका समुदायको पहुँचमा आधारभूत मुख स्वास्थ्य सेवा पुर्याउनु, मुख स्वास्थ्य सेवालाई समतामुलक र उपयुक्त साधन–स्रोत सहित सेवाको रुपमा व्यवस्थित गर्नु नेपाल सरकारको अगाडि ठूलो चुनौती छ।
(प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डा बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।)