काठमाडौं- निधारमा रातो टीका। नाकमा बुलाकी। गलामा पहेंलो पोते अनि औँलामा दुई ठूला चाँदीका औँठी।
मुगुकी केशर बिक (५६) यही भेषमा श्रीमानसँग बसिरहेकी थिइन्। उनका श्रीमान् ६५ वर्षीय जयलाल बिकले दौरा-सुरुवाल, ढाका टोपी र गलबन्दी लगाएका थिए। भेषभूषाबाट सहजै अनुमान लगाउन सकिन्थ्यो, यी दम्पती कर्णालीका बासिन्दा हुन्।
उनीहरु भेटिएका थिए, वीर अस्पतालको चेस्ट युनिट २२२ नम्बर कोठामा। जहाँ युनिट प्रमुख एवं छातीरोग विशेषज्ञ डा अशेष ढुंगानालाई उनीहरु आफ्नो समस्या सुनाउँदै थिए।
श्रीमान्-श्रीमती नै एकै समस्याबाट पीडित छन्। दुवैलाई दमको समस्या देखिएको थियो। फरक यत्ति हो, जयलालको समस्या तीन वर्ष पुरानो हो भने केशरको समस्या हालै मात्र निदान भयो।
दमको उपचारकै लागि तीन वर्षदेखि मुगुदेखि काठमाडौं धाइरहेका छन्, जयलाल दम्पती। काठमाडौंमा उपचारका लागि आउनु उनीहरुका लागि रहर नभई बाध्यता हो। चिकित्सकले नियमित परीक्षणका लागि कम्तीमा ६ महिना भित्र आउनु भनेका छन्। तर भौगोलिक दूरीका कारण उनी वर्षमा एक पटक वीर अस्पताल पुग्छन्।
उनीहरुले वीर अस्पतालमा उपचार गराउन थालेको तीन वर्ष भयो। यो पटक भने उनीहरु उपचारका लागि एक महिनादेखि काठमाडौंमै थिए। मुगुबाट उपचारका लागि काठमाडौंमा आउन निकै समस्या हुने गरेको छोरी मीना बिक बताउँछिन्।
‘कति टाढा छ। गाडीबाट त ५/६ दिन लाग्छ काठमाडौं आइपुग्न। धेरै गाह्रो हुन्छ,’ उनले भनिन्।
काठमाडौं टाढा भएकोले उनीहरु सुरुमा त मुगुकै स्वास्थ्य संस्थामा पुगे। तर दमको समस्या निको भएन। त्यसपछि जुम्ला र नेपालगञ्ज पनि पुगे। तर जयलालको समस्या २० को १९ भएन। दमले उनलाई समस्या दिइरह्यो।
जयलाल धेरै हिँड्न सक्दैनथे। केही कदमको हिँडाइमै उनको श्वास फुलिहाल्थ्यो र स्वाँ–स्वाँ भइहाल्थ्यो। उनलाई भर्याङ चढ्न पनि समस्या थियो।
समस्या बढ्दै गएपछि दाइको सल्लाहमा उपचारका लागि वीर अस्पताल आएको मीनाले बताइन्। वीर अस्पतालमा गरिएको निरन्तर उपचारपछि दम र टिबी रोगको समस्या ठिक हुँदै गएको जयलाल बताउँछन्।
उनी भन्छन्, ‘स्याँ–स्याँ हुन्थ्यो, धेरै गाह्रो भयाछि। डाक्टर सापले चेकअप गरेर दिएको औषधि खायाँ। तीन वर्ष अगाडि यहाँ आयाम। अहिले धेरै राम्रो भयो।’
धुलो–धुवाँले समस्या
उनीहरु चिसोमा घरभित्रै आगो बालेर ताप्थे। बाहिर बाटो र ढुंगाहरुको धुलो धेरै हुने। घरभित्र र बाहिरको धुलो–धुवाँका कारण आमा-बुवालाई समस्या भएको हुन सक्ने छोरी मीना बताउँछिन्।
उनी भन्छिन्, ‘हामी घरभित्र पनि आगो बालेर ताप्थ्यौँ। घर बाहिर पनि ढुंगाको बाटोको धेरै धुलो हुन्छ। त्यो धुलो घरभित्र पनि पस्छ।’
वीर अस्पतालमा गरिएको उपचारले बुवाको स्वास्थ्यमा सुधार भएपछि आमालाई पनि वीरमै ल्याइएको छोरी बताउँछिन्।
‘अहिले बुवाको स्वास्थ्य धेरै सुधार भइसकेको छ। आमाको पनि उपचार सुरु भयो। अहिले हामी छोराछोरी एकदमै खुसी छौँ। नत्र पहिले बुवा हिँड्न पनि सक्नु हुँदैनथ्यो। हामी एक जना पछाडि बस्नुपर्थ्यो,’ उनले भनिन्।
तीन वर्षअघि जयलाल दम हुने, खोकी लाग्ने, ज्वरो आउने समस्या लिएर वीर अस्पताल आएको छातीरोग विशेषज्ञ डा ढुंगानाले बताए। धेरै ठाउँको अस्पतालमा उपचार गराए पनि ठिक नभएर उनीहरु वीर अस्पताल आइपुगेको उनी बताउँछन्। परीक्षणका क्रममा जयलाललाई दमसँगै टिबीको समस्या पनि देखिएको थियो।
छातीरोगको विशेषज्ञ सेवा सबै ठाउँमा नहुँदाको बाध्यता: डा ढुंगाना
वीर अस्पतालमा धेरै बिरामी मुगु, जुम्ला, हुम्लाबाट आउने गरेको र अधिकांशलाई दमको समस्या देखिने गरेको उनी बताउँछन्।
‘उहाँहरु जस्ता धेरै बिरामी यहाँ आउनुहुन्छ। सबैजसोलाई दमको समस्या हुन्छ। छातीको एक्सरे र सिटी स्क्यान गरेर हेर्दा टिबी जस्तो देखिन्छ,’ उनले भने।
बिरामीहरुसँगको कुराकानीको आधारमा त्यहाँका अधिकांश स्थानीयले घरभित्रै आगो बाल्ने र घर बाहिर पनि धुलो हुने भएकाले समस्या देखिने गरेको उनले बताए।
परीक्षणका क्रममा उनीहरुमा सिलिकोसिस अर्थात् फोक्सोमा ढुंगाका कणहरु भटिएको उनले बताए। यो समस्या विशेषगरी ढुंगामा काम गर्ने र ढुंगाको धुलोको बढी सम्पर्कमा रहेका व्यक्तिहरुको फोक्सोमा कणहरु जम्मा भएर बस्छ। यसले छातीमा दाग गराउनुका साथै टिबी हुने सम्भावना पनि बढाउँछ।
यस किसिमका बिरामीले सकेसम्म धुलो-धुवाँबाट बच्नुपर्ने डा ढुंगाना बताउँछन्। तीनदेखि ६ महिनाको अवधिमा नियमित परीक्षण आवश्यक भए पनि उनीहरु टाढा भएका कारण वर्षको एक पटक आउने गरेको उनले बताए। जयलालकी श्रीमती केशरीलाई पनि उही समस्या देखिएको उनले बताए।
डा ढुंगानाका अनुसार सामान्यतया धूमपान गर्ने व्यक्तिलाई ६५ वर्ष कटेपछि मात्र दमको समस्या देखिन्छ। तर उनीहरुमा छिटो दमको समस्या देखियो। घरभित्रको धुवाँ र बाहिरको ढुंगाको धुलोका कारण उनीहरुमा दमको समस्या देखिएको उनी बताउँछन्।
छाती रोग सम्बन्धी सबै विशेषज्ञ सेवाहरु देशका विभिन्न ठाउँमा सहज रुपमा उपलब्ध भए उनीहरु जस्तो बिरामी टाढाबाट धाएर काठमाडौंमै आउनुपर्ने बाध्यता हट्ने उनले बताए।
‘काठमाडौं बाहिरका अन्य अस्पतालहरुमा छाति रोग सम्बन्धी सबै विशेषज्ञ सेवाहरु उपलब्ध हुनुपर्छ,’ उनले भने, ‘एउटा सामान्य दमको उपचार यहाँको जस्तै हुन्थ्यो भने यो रोगको पहिचान र उपचार त्यहीँ नै हुन्थ्यो। त्यति टाढाबाट यहाँ आउनु पर्दैनथ्यो।’