काठमाडौं- मूल गेटबाट छिर्ने बित्तिकै दाँया तर्फ टिकट काट्नेहरुको भीड! बाँया तर्फ बहिरंग (ओपिडी)मा सेवा लिने बिरामीहरुको पनि उस्तै भीड! रिपोर्ट लिने ठाउँमा झनै भीड!
पुराना भौतिक संरचना, संकुचित ठाउँ तर बिरामीको बाक्लो भीड। शुक्रराज अस्पताललाई चिनाउन यी तीन वाक्य नै काफी छन्।
कोभिड महामारी होस् या हैजा। डेंगु होस् या रेबिजका बिरामी। सबैको आशाको टेको हो, शुक्रराज अस्पताल।
सीमित स्रोत साधन र पुराना भौतिक संरचनाका बावजुद पनि यो अस्पतालले कोभिड महामारीमा उल्लेखनीय काम गर्न सफल भएको थियो। तर अब शुक्रराज अस्पतालले आफ्नो स्वरुप परिवर्तन गर्दैछ। एक सय शय्यामा खुम्चिएर सेवा दिइरहेको अस्पतालले सुविधा सम्पन्न तीन सय शय्याको भवनबाट सेवा दिने तयारी गर्दैछ।
करिब तीन महिनापछि भवन निर्माणको काम सुरु हुने गरी शुक्रराज अस्पतालले निर्माण प्रक्रिया अघि बढाएको छ। भवन निर्माणका लागि अस्पतालले गएको पुसको दोस्रो साता टेण्डर आह्वान गरेको थियो। टेण्डर आह्वान, मूल्यांकन लगायतको काम सकेर निर्माण सुरु गर्न करिब तीन महिना लाग्ने अस्पतालले जनाएको छ।
देशको एक मात्र केन्द्रीय सरुवा रोगको अस्पतालका भौतिक संरचनाहरु झण्डै ४० वर्ष पुराना छन्।
अस्पतालको बहिरंग विभाग (ओपिडी), एन्टी रेट्रोभाइरल थेरापी (एआरटी), प्रयोगशाला, फोहरमैला व्यवस्थापन केन्द्र, इन प्यासेन्ट (आइसीयू र इमरजेन्सी) र प्रशासन गरी ६ वटा भवन छन्। प्रयोगशाला, एआरटी सेन्टर बाहेक अन्य भवन ४० वर्ष पुराना छन्। ती भवनमा पनि २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो।
नयाँ भवन बन्दा सेवा प्रभावित हुने चिन्ता
नयाँ भवन बनाउने तयारी गरिरहँदा हाल सञ्चालित सेवा प्रभावित हुन सक्ने अस्पतालको चिन्ता छ।
शुक्रराज अस्पतालले मंगलबार आफ्नो ८९ औँ वार्षिकोत्सव मनायो। उक्त कार्यक्रममा स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु उपस्थित थिए।
कार्यक्रममा अस्पतालकी निर्देशक डा मनिषा रावलले तीन सय शय्याको भवन निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढीसकेको जानकारी दिइन्। भवन निर्माणको खुशीसँगै सेवा प्रभावित हुने उनले चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, ‘तीन सय शय्याको भवनको टेण्टर प्रक्रिया भइसकेको छ। भवन निर्माणको काम सुरु भएपछि स्वास्थ्य सेवा प्रवाह गर्न चुनौतीपूर्ण हुन्छ।’
कार्यक्रममा उपस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी भवन निर्माण गरिरहँदा स्वास्थ्य सेवा प्रभावित हुन नदिन आग्रह गरे। सेवा प्रभावित हुन नदिन स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले बताए।
‘तीन सय शय्याको भवन बन्दैछ। यो खुशीको कुरा हो। यो अस्पतालले उपयुक्त स्थानमा सबै बिरामीको उपचार गर्ने प्रबन्ध मिलाउनेछ। त्यसका लागि मन्त्रालयले के गर्नुपर्छ, आवश्यक समन्वय र सहकार्य गर्नेछ,’ उनले भने।
कस्तो बन्दैछ, तीन सय शय्याको अस्पताल?
करिब तीन अर्बको लागतमा शुक्रराज अस्पतालको तीन सय शय्याको नयाँ भवन निर्माण हुन लागेको हो। साढे तीन वर्षमा निर्माण कार्य सक्ने अस्पतालको योजना छ।
बिरामीको उपचारलाई ध्यानमा राख्दै अस्पतालका भवनहरु पालै पालो भत्काइनेछ। सुरुमा अस्पतालको ओपिडी छेउको क्वाटर भवन, टिकट काउन्टरको पहेलो भवन र एआरटी सेन्टरको भवन भत्काइनेछ। उपचारका लागि अस्थायी संरचना निर्माण भइसकेपछि मात्र मुख्य भवनहरु आइसीयू, इमरजेन्सी र वार्ड भत्काइनेछ।
तीन सय शय्याको उक्त भवन ६ तल्लाको डिजाइन गरिएको छ। सबैभन्दा तल बेसमेन्ट पार्किङ्ग, ग्राउण्ड फ्लोरमा इमरजेन्सी, ओपिडी, रेडियोलोजी विभाग रहनेछन्। पहिलो तल्लामा प्रयोगशाला, ओपिडी, फिभर वार्ड रहनेछ।
दोस्रो तल्लामा प्रयोगशाला विशेष, जेनरल वार्ड, इमरजिङ्ग आइसोलेसन वार्ड, तेस्रो तल्लामा पोषण, प्रत्यारोपण, हेमाटोलोजी, नवजीवन वार्ड लगायत, चौथोमा टिबी, रेबिज÷टिटानस, छालारोग विभाग, पाँचौ तल्लामा आइसीयू, शल्यक्रिया र सेमिनार हल रहनेछ भने छैठौँ तल्लामा लन्ड्री रहनेछ।
आठ वर्षअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा केदार सेन्चुरी थिए। शुक्रराज अस्पताललाई तीन सय शय्याको बनाउनुपर्ने भन्दै योजना अघि ल्याएका उनै थिए। यो बीचमा धेरै निर्देशक परिवर्तन भए तर योजना अघि बढ्न सकेको थिएन। तर सरुवा रोग विशेषज्ञ एवं पूर्व निर्देशक डा अनुप बास्तोलाले तीन सय शय्या भवन निर्माणको काम अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
तीन सय शय्याको अस्पताल बनाउने गुरुयोजना दुई वर्ष अघिमात्र सरकारी कार्यक्रममा पर्यो। त्यो पनि जग्गा छनोट विवादका कारण अल्झिन पुगेको थियो। टेकु अस्पतालमै तीन सय शय्याको भवन बनाउने सुनिश्चितता गत आर्थिक वर्षमा भएको थियो।
शुक्रराज अस्पतालको आफ्नै जमिन ७२ रोपनी छ। तर १६ दशमलव ५ रोपनी मात्र प्रयोग गरिरहेको छ। बाँकी जमिन स्वास्थ्य सेवा विभागको प्रयोगमा छ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शुक्रराज अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गरेको थियो। हालसम्मको तथ्यांक अनुसार २ हजार ३१८ जना कोभिडका बिरामी शुक्रराज अस्पताल भर्ना भए। जसमध्ये ९ सय आइसीयू र ४७५ जना भेन्टिलेटरका बिरामी थिए।
शुक्रराज अस्पतालले १४ महिनादेखि कोभिड १९ विरुद्धको खोप लगाउँदै आएको छ। उक्त अवधिमा १ लाख १२ हजार जनालाई कोभिड १९ विरुद्धको खोप लगाइएको अस्पतालकी निर्देशक डा रावलले जानकारी दिइन्।
यस वर्ष डेंगुका ७ हजार ९ सय डेंगुका बिरामीले ओपिडीबाट सेवा लिएका छन्। जसमध्ये ६१० जना भर्ना भएका थिए। यो सँगै दैनिक ३ सय देखि ४ सय जनाले एन्टी रेबिजको खोप लगाउने गरेको अस्पतालले जनाएको छ।