काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
डा गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
उपकुलपति पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ आधिकारीक निकायबाट प्राप्त नपाएको ओहदा पाएँ भनी दुरुपयोग गरेको देखिएको भण्डारीले बताए।
प्रतिष्ठानको उपकुलपति नियुक्त डा गिरीले आफ्नो नामको अगाडि प्राध्यापक लेख्दै आएका थिए। उनको प्राध्यापक पद नक्कली भएको भन्दै लामो समय प्रतिष्ठानमा आन्दोलन भएको थियो।
साथै उक्त कार्यमा ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका देखिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुरमा कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको छ।