कहिलेकाहीँ कुनै कामलाई सानो वा ठूलोमा गन्ति गर्न सकिँदैन। यदि कसैको दुखाई, पिडा कम गर्न मद्दत गर्छ वा कसैको जीवन जोगाउन सहयोग गर्छ भने त्यो भन्दा पुण्यको काम सायदै अर्को होला। नेपालको बिकटमध्येको एक रुकुम र त्यसको पनि बिकट गाउँ तकसेरामा अस्पताल बन्नु कहिलेकाँही हुने त्यस्तै गज्जब कुराहरु मध्येको एक हो।
एकैछिन एउटा यस्तो ठाउँको परिकल्पना गरौँ, जहाँ हामीलाई चाहिने सम्पूर्ण आधारभूत स्वास्थ्य सेवाहरु हाम्रै पहुँचमा होस्, हाम्रै लागि भनेर होस, अर्थात पिपुल सेन्टर्ड केयर’ होस्। अनि, के एकदुई जना मानिसले सोच्दैमा सम्भव होला त? यो प्रश्नको उत्तर खोज्न म एकैछिन तपाईंलाई एउटा बिकट स्थानको स्वास्थ्य सेवा प्रणालीको अवलोकनमा लैजान्छु।
केही समयअघि बिरामी भएर आँफै बेडमा रहँदा केही नयाँ प्रयोग गर्ने रहर जाग्यो र कुनै स्थानको स्वास्थ्य योजना तथा रणनीति गर्ने कुरा दिमागमा फुर्यो। यसरी रणनीति तथा कार्यविधि बनाउनेदेखि विकटमा अस्पताल तयार पार्नेसम्म काममा जोडिन पाउँदा र आफ्नो ज्ञान र भिजनलाई समाज परिवर्तनको सानो अंशको रुपमा प्रयोग गर्न पाउँदा लाग्ने खुसी अलि बेग्लै हुने रहेछ। नेपालको कुनाकाप्चासम्मको स्वास्थ्य अवस्था नजिकैबाट बुझ्न पाएको आधारमा मलाई लागेको नेपालको स्वास्थ्य सेवाले फड्को मार्न मुलत दुई परिवर्तन हुनु आवश्यक छ,
१ जनस्वास्थ्य सदरमुकाम केन्द्रित होइन, समूदाय केन्द्रित हुनुपर्दछ।
२ उपचारात्मक विज्ञान (चिकित्सा विज्ञान) लाई नयाँ टेक्नोलोजी र अनुसन्धान तथा प्रमाणमा आधारित उपचारपद्दति अनुसार निखारिनु पर्दछ।
यी तत्वहरुलाई आधार मानेर स्थानीय तहको योजना तथा रणनीति तयार गरियो। नीति तथा कार्यक्रम बन्यो। सोहि अनुरुप अहिले पालिकाले प्रत्येक वडामा एकएक जना घुम्ति स्वास्थ्यकर्मी परिचालन गरी घरैमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको छ। प्रत्येक महिना ति घुम्ती स्वास्थ्यकर्मीहरु समुदायको प्रत्येक घरमा पुगी प्रत्येक सदस्यको स्वास्थ्य जाँच, नसर्ने रोगहरुको परीक्षण, अपांग, गर्भवती महिला तथा नवजात शिशुहरुको स्वास्थ्य जाँच, कुपोषण मापन, दीर्घरोगीहरुको औषधि व्यवस्थापन, स्वास्थ्य परामर्श दिने आदि कामहरु गर्दछन्। यसबाट पालिकाको प्रत्येक व्यक्तिहरुको समग्र स्वास्थ्य प्रोफाइल तयार भएको छ भने समुदायमा रहेका धेरै दीर्घरोगी, अपांगता, कुपोषित बालबालिकाहरुको पहिचान भई उपचार तथा परामर्श सुरु भइसकेको छ। घुम्ति स्वास्थ्यकर्मीहरु परिचालन तथा बिरामीहरुको उपचार र परामर्शमा समुदाय, स्वास्थ्यकर्मी र स्वास्थ्य चौकीहरुलाई सहयोग गर्न पालिकाको केन्द्रमा चिकित्सक सहितको एक टेलिमेडिसिन केन्द्र स्थापना गरिएको छ। सोही केन्द्र मार्फत जटिल समस्यालाई आवश्यकताका आधारमा जिल्ला तथा प्रदेशका अस्पतालहरुबाट विशेषज्ञ चिकित्सकहरुको परामर्श लिने तथा सहज रिफरल हुने संयन्त्र तयार भएको छ।
यससँगै पालिकाले औजार, उपकरण, औषधि, प्रयोगशाला आदि थप गरी चिकित्सकीय निगरानीमा मौलिक हक अन्तर्गतको आधारभूत उपचार आफ्नै गाउँमा सम्भव गराउने सपनालाई पूरा गर्दैछ। अस्पताल मार्फत निस्शुल्क स्वास्थ्य बिमा सेवा सुरु गर्न लागेको छ। अति गरिब, जेष्ठ नागरिक, दशवर्षे माओवादी आन्दोलनमा सहिद, घाइते, बेपत्ता परिवारहरुको वार्षिक रु १ लाख बरावरको स्वास्थ्य बिमा सुरु गरेको छ। संस्थागत सुत्केरी ४० प्रतिशत भन्दा कम रहेको पुरानो अवस्थालाई सुधार गर्न संस्थामा चेकजाँच गर्न आउने सम्पूर्ण गर्भवती महिलाहरुको परिवारको निस्शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ, जसमा संस्थामा गएर सुत्केरी गराउँदा यदि छोरी जन्मेमा सो परिवारको थप अर्को वर्ष पनि रु १ लाख बराबरको निःशुल्क स्वास्थ्य बिमा हुने भएको छ। लैंगिक, शारीरिक, यौन वा अन्य कुनै प्रकारको हिंसाको न्यूनीकरण गर्न तथा पिडितलाई यथाशिघ्र सहयोग गर्न चेलीसंग उपाध्यक्ष कार्यक्रम ल्याएको छ। गर्भवती महिलाहरुलाई सुत्केरी गराउन पालिकाभित्र वा पालिका बाहिरका जुनसुकै अस्पताल लैजान एम्बुलेन्स निःशुल्क छ भने उपचार वीमा मार्फत हुने भएको छ। आठ कडा जटिल रोग लागेकालाई औषधि निःशुल्क र ठूलो अस्पताल जान एम्बुलेन्स निःशुल्क छ। समग्रमा हामीले हाम्रो गाउँको स्वास्थ्य प्रणाली जस्तो होस् भनेर कल्पना गर्छौं, यस पालिकाले त्यसै अनुसार काम गर्दैछ। यी कार्यक्रमहरुले आम नागरिकलाई छोएको छ र जनताले सरकार छ भन्ने पनि महसुस गर्न थालेका छन्।
राम्रो भिजन र इच्छाशक्ति भएमा एक दुई जनाले सोचेको कुरा पनि सम्भव हुन्छ भन्ने उदाहरण हो यो। विकटमा अस्पताल स्थापना, टेलिमेडिसिन केन्द्र र घरैमा स्वास्थ्यकर्मी कार्यक्रम मार्फत नेपालकै स्वास्थ्य क्षेत्रमा गर्न खोजेको यो एकदम नयॅा र नौलो प्रयोगलाई पालिका तथा सम्पूर्ण व्यक्तिहरुले आत्मसाथ गर्दै अपनत्व लिनुभएकोमा धन्यवाद र दिगोपनाको शुभकामना।
अन्य स्थानहरुमा पनि यसबाट प्रेरणा मिलोस र माथिल्लो तहका सरकारहरुको समेत ध्यान जाओस भन्ने कामना गर्दछु। साथै कुनै संघ संस्थाले दुर्गमको यो अस्पताल वा यी कार्यक्रमहरुमा सहयोग गर्न इच्छ्या राख्दछ भने पनि स्वागत गर्दछु र टेलिमेडिसिन सेवाको विस्तारलाई केन्द्रको अस्पतालहरुसँग पनि आव्हान गर्दछु।