काठमाडौं - दादुरा प्रभावित बाँके जिल्लाको चार वटा पालिकामा शनिबार पनि खोप अभियान सञ्चालन हुँदैछ। शनिबार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाको १३ वटा वडामा खोप अभियान चलिरहेको छ। १३ वटा वडामा गरी २० वटा खोप केन्द्र सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
नेपालगञ्जको ४ वटा वडामा ४ खोप केन्द्र, खजुराको २ वटा वडामा २, नरैनापुराको ६ वडा वडामा ११ र डुडुवाको एउटा वडामा ३ वटा खोप केन्द्र सञ्चालन भइरहेको छ।
बाँकेको हालसम्म २६ वटा वडाहरु दादुराबाट प्रभावित भएका छन्। सबैभन्दा बढी १७ वटा वडा नेपालगञ्जको प्रभावित छन्। खजुराको ४, नरैनापुरको १, डुडुवाको १ र कोहलपुरको ३ वटा वडामा दादुरा फैलिएको छ।
हालसम्म नेपालगञ्जमा २ सय, खजुरामा १८, नरैनापुरमा १५, डुडुवामा ८ र कोहलपुरमा ५ गरी २४६ जनामा दादुरा देखिएको कार्यालयले जनाएको छ। बाँके जिल्लामा हालसम्म ६८ हजार २२१ जनाले दादुरा विरुद्धको खोप पाएका छन् भने ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी छ।