काठमाडौं- चिसो बढेसँगै वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गर्न जाने बिरामीको संख्या पनि बढेको छ।
दीर्घ दमका बिरामी र विभिन्न भाइरल संक्रमणका बिरामीहरु चिसोमा बढी आउने गरेको वीर अस्पतालका मेडिसिन विभाग तथा चेस्ट युनिट प्रमुख डा अशेष ढुंगानाले बताए।
उनले भने, ‘चिसोको बेला विभिन्न भाइरल इन्फेक्सन बढी हुने, निमोनियाको संक्रमण पनि बढी देखिने, बालबालिका, वृद्धवृद्धा, गभर्वतीमा श्वासप्रश्वास सम्बन्धी विभिन्न संक्रमण बढ्ने गर्दछ।’
वीर अस्पतालको चेस्ट क्लिनिकमा सामान्यतया ८० देखि सय जना बिरामी आउने गर्दछन्। तर चिसोमा एक सयदेखि १४० सम्म बिरामी आउने गरेको डा ढुंगानाले जानकारी दिए।
ओपिडीसँगै इमरजेन्सीमा पनि श्वासप्रश्वासको संक्रमण भएर उपचार गर्न पुग्ने बिरामीको संख्या पनि चिसोमा बढ्ने गरेको उनले बताए। चिसोमा वायु प्रदूषणको समस्या पनि बढ्ने भएकाले बिरामीको संख्यामा वृद्धि भएको उनको भनाई छ।