आयुर्वेद सोझो संक्षिप्त अर्थमा जीवन विज्ञान हो। जसमा मानिस मात्र होइन, आम प्राणीहरुको जन्मदेखि मृत्युपर्यन्तसम्म आफ्नो जीवनकाललाई खुसी र सुखी बनाउन आवश्यक साधन स्रोत र ज्ञानको वर्णन गरिएको छ। अतः आयु भनेको जीवन र वेद भनेको विज्ञान अर्थात् वनस्पतिको जीवन विज्ञान, प्राणीहरुको जीवन विज्ञान र अझ व्यापक अर्थमा समस्त ब्रह्माण्डको जीवन विज्ञान नै आयुर्वेद हो।यसको मुख्य उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने र रोगीको रोग हरण गर्नु नै हो।
प्राग्वैदिक इतिहासदेखि अस्तित्वमा रहेको भए तापनि औपचारिक रुपमा नेपालमा मल्लकालमा आयुर्वेदका संस्थाहरुको स्थापनाको सुरुवातसँगै राणाकालमा केही संस्थागत भई औपचारिक पठनपाठनको व्यवस्था, औषधालय, चिकित्सालय र वैद्यखानाको व्यवस्थित संरचनाको विकास भई हामी नयाँ पुस्ताले यस सेवामा मन वचन र कर्मले कर्मक्षेत्र बनाएका छौं।
आयुर्विज्ञानले मानव सभ्यताको सुरुवातसँगै विभिन्न रोगव्याधी, जरा र शोकबाट गुज्रिएको जीवनलाई बचाई सृष्टिको अक्षुण्ण वंश परम्परालाई कायम राखी हामीले यस विद्याबारे कर्माभ्यास गर्न पाएका छौं।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार हाल विश्वका धेरैजसो मानिसहरु नसर्ने रोगबाट (विशेषगरी मुटु तथा रक्तनलीजन्य समस्या, मधुमेह, दीर्घ श्वासप्रश्वास अवरोध समस्या, मानसिक समस्या, सडक दुर्घटना आदि) प्रभावित बनेका छन्।यद्यपि, भौतिक पूर्वाधारको प्रविधियुक्त द्रुत विकासले संसार नै घर आँगन बन्दा उच्च संक्रमणयुक्त रोगहरु निमेषभरमा नै संसारभरि फैलिरहेका छन्।यसको एउटा उदाहरणको रुपमा कोभिड- १९ विश्वव्यापी महामारी नै हामी सबैको आँखा अगाडि छ।
त्यसैगरी बढ्दो वातावरणीय स्रोत सम्पदाको दोहन, प्राकृतिक स्रोत र सम्पदामा असमान पहुँच र प्रयोग, आधुनिक विकास र प्रविधिले ब्रह्माण्डीय आधार आकाश, वायु, अग्नि,जलर पृथ्वीमा पारेको असन्तुलनले संसारलाई विभिन्न नयाँ रोगहरुको जोखिम, पुराना रोगहरुको उत्परिवर्तित स्वरुपमा पुनरागमन हुने जोखिम बढिरहेको छ।
यसरी समग्र नसर्ने र सर्ने रोगको दोहोरो भारबाट संसार प्रभावित बनेको छ। मानिसहरुको खुद आम्दानीको बढी अंश रोगको रोकथाम र उपचारमा खर्चिनुपरेको छ भने स्वास्थ्योपचारमा बढ्दो व्यक्तिगत व्यभारले धेरै मानिसहरुले गरिबीको संकट व्यहोरिरहेका छन्।
तसर्थः आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा अरु वैकल्पिक चिकित्सा पद्धतिका माध्यमद्बारा स्वस्थ व्यक्तिको स्वास्थ्य प्रवर्द्धन गरी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न आम नेपालीलाई मानव पूँजीको रुपमा विकास गर्ने राष्ट्रिय नीति अनुरुप कार्य गर्न आफ्नो कार्यकालमा देहायका सुझाव सँगालो अनुशरण गरिदिनुहुनेछ भन्ने अभिलाषाका साथ प्रस्तुत गर्न चाहन्छु।
१. संविधानमा भएको व्यवस्था अनुरुप सबै ७५३ वटै स्थानीय तहहरुमा स्वास्थ्य सम्बन्धी मौलिक हक अन्तर्गत रहेको आधारभूत आयुर्वेद सेवालाई विस्तार गर्न पहल कदमी लिने,
२. 'एक स्थानीय तह एक आयुर्वेद चिकित्सक' सहितको सुविधासम्पन्न आयुर्वेद स्वास्थ्य संस्थाको स्थापना गर्ने,
३. देशमा आयुर्वेद सेवालाई सबै जनताको पहुँचमा पुर्याउन आधारभूत, विशेषज्ञ र विशिष्टकृत आयुर्वेद सेवाप्रवाह गर्ने जनशक्तिको उत्पादन र आपूर्तिलाई सन्तुलनमा ल्याउन समग्र आयुर्वेद चिकित्साको सर्वाङ्गीण विकास गरी उच्च शिक्षाको प्रत्याभूति, समयानूकुल अध्ययन अनुसन्धान गर्न राष्ट्रिय आयुर्वेद अध्ययन प्रतिष्ठान यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने,
४. आयुर्वेदको लामो इतिहास बोकेको भए तापनि समय सापेक्षताका हिसाबले हाल शैशव अवस्थामा रहेको नरदेवी आयुर्वेद अस्पतालको विशेषज्ञ सेवा सहितको समयानुकुल विकास एवं विस्तार गर्नुपर्ने,
५. स्वास्थ्य प्रवर्द्धनमा सांघाई घोषणा २०१६ लाई अक्षरशः कार्यान्वयन गर्न र विश्व स्वास्थ्य संङ्गनठले जारी गरेको दोस्रो परम्परागत चिकित्सा सम्बन्धी रणनीतिको कार्ययोजना अनुरुप स्वस्थ प्रवर्द्बन गर्न योग तथा आयुर्वेद चिकित्साका मौलिक ग्रन्थमा आधारित दिनचर्या, ऋतुचर्या, सदवृत, आचार रसायनका माध्यामद्बारा स्वस्थ जीवनशैलीका गतिविधिलाई समाजका हरेक तह र तप्कामा पुर्याउन नागरिक आरोग्य केन्द्रलाई प्रभावकारी रुपमा थप विकास एवं विस्तार गर्ने,
६. विश्वव्यापी प्रमुख जनस्वास्थ्यका मुद्दाका रुपमा रहेका जलवायु परिवर्तन, खाद्य सुरक्षा र सम्प्रभुता, वैश्विक स्वास्थ्य, प्रतिजैविक प्रतिरोध, नसर्ने रोगहरु तथा बढ्दो मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरण एवं रोकथामका लागि पूर्वीय विज्ञानमा रहेका ज्ञानलाई मूल प्रवाहीकरणमा ल्याउने,
७. स्वास्थ्य सेवाको पहुँचमा भएको असमानता घटाउन, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच बढाउन, प्राथमिक स्वास्थ्य सेवाको व्यापकता अभिवृद्धि गर्न, स्वास्थ्योपचारमा बढ्दो व्यक्तिगत व्यभार कम गर्न आयुर्वेद चिकित्सा विज्ञानमा रहेका विभिन्न तहका ज्ञान र सीपहरुलाई (प्रवर्द्बनात्मक, उपचारात्मक, प्रतिकारात्मक पुनर्स्थापनात्मक र प्रशामक सेवा) विस्तार गर्ने,
८. संघीय सरकारको अधीनस्थ रहने गरी “एक प्रदेश एक आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवायुक्त अस्पताल” स्थापना गरी यस विधासँग सम्बन्धित विशिष्टकृत सेवामा आम नागरिकको पहुँच स्थापति गर्ने,
९. आयुर्वेद, योग र प्राकृतिक चिकित्सामा आधारित स्वास्थ्य पर्यटनलाई विस्तार गरी विदेशी मुद्रा आर्जन गर्न मध्यपूर्व, युरोपेली मुलुक र अन्य विकसित मुलुकमा रहेका नेपाली दूतावास नियोगहरु मार्फतसम्बन्धित मुलुक र नेपालमा आयुर्वेद ट्रेक, आयुर्वेद एक्स्पो, योग एन्ड वेलनेस क्याम्पका माध्यमद्बारा नेपालमा विदेशी पर्यटकहरुको आवागमन वृद्धि गर्न अवैतानिक सहचारीको व्यवस्था गर्नुपर्ने,
१०. नेपालका पर्यटकीय, मनोरमणीय स्थानहरुमा सामूदायिक, निजी र गैरसरकारी संस्थाहरुलाई आयुर्वेद एन्ड वेलनेस सेन्टर, पञ्चकर्म सेन्टर, योग होम्स स्थापना गरी सञ्चालनमा ल्याउन प्रोत्साहनका कार्यक्रम ल्याउने,
११. आयुर्वेद औषधिमा बढ्दो आयातलाई घटाउन आयात प्रतिस्थापनमा आधारित रही नेपाली आयुर्वेद औषधि उद्योग क्षेत्रलाई विशेषगरी नेपाली इतिहासको धरोहरको रुपमा रहेको सिंहदरबार वैद्यखानाको सुदृढीकरण गरी राजनीतिक अस्थिरतासँगै सिंहदरबार वैद्यखानाको व्यवस्थापकीय पराकम्प हुने अवस्थाको स्थायी समाधानका लागि आवश्यक व्यवस्था र गुणस्तरीय उत्पादन बढाउन नवीनतम प्रविधिको उपयोग र प्रविष्टिकरण गर्न सहजीकरण गर्नुपर्ने,
१२. आयुर्वेद चिकित्साका चतुष्पादमध्ये एक रहेको औषधि कल्पनामा हालसम्म पनि नेपाल आत्मनिर्भर हुन नसकेको सन्दर्भमा भारत लगायत अन्य मुलुकबाट नेपालमा भित्रिने गुणस्तरीय आयुर्वेद औषधिको आयातमा हाल भइरहेको झन्झटिलो प्रक्रियाले बिरामीले गुणस्तरीय औषधि नपाउने र चिकित्सकले सिफारिस गर्न नपाउने अवस्थाको अन्त्यका लागि सहजीकरण गर्नुपर्ने,
१३. नेपालका सुरक्षा तथा सङ्गठित निकायद्बारा सञ्चालित अस्पतालहरुमा (आर्मी, प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल) आयुर्वेद स्वास्थ्य सेवाको उपलब्धता गराउन आयुर्वेद स्वास्थ्यकर्मी र चिकित्सकहरुको सेवा समूह सिर्जना गरी मुल प्रवाहीकरण गर्नुपर्ने,
१४. सुदृढ र समुन्नत स्वास्थ्य प्रणालीको अभिन्न अङ्गको रुपमा रहेको स्वास्थ्य बिमा हालसम्म पनि आयुर्वेद स्वास्थ्य संस्थामा लागू नभएको सन्दर्भमा सोको कार्यान्वयनका लागि व्यवस्था मिलाउनुपर्ने,
१५. देशले थुप्रै राजनीतिक व्यवस्थाहरुको चरण पार गरे पनि हालसम्म विद्यमानआयुर्वेद स्वास्थ्य संस्थाहरुको समयानूकुल स्तरोन्नति नभएकाले प्राथमिकताका आधारमा स्तरोन्नति एवं विस्तार गरी लैजानुपर्ने,
१६. मित्रराष्ट्र चीनको सहयोगमा निर्मित अत्याधुनिक औजार उपकरण सहितको सुविधासम्पन्न राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर अनुसन्धानकर्ता विनाको केन्द्र बनेको छ। केही कामकाजी तालिम सञ्चालनमा सीमित रहेको केन्द्रले राष्ट्रिय आयुर्वेद सेवा कार्यक्रममा टेवा दिन सक्ने गरी केही नयाँ कुरा प्रतिपादन गरेको छैन। अतः आयुर्वेद ज्ञाता, वैज्ञानिक तथा अनुसन्धानकर्ता सहितको स्थायी सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरी मूर्त रुप दिनुपर्ने,
१७. पन्ध्रौं पञ्चवर्षीय योजना अनुरूप काठमाडौंको बुढानीलकण्ठमा निर्माणाधीन राष्ट्रिय पञ्चकर्म उपचार केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन स्थायी सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने।
(लेखक हाल लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखाका प्रमुख हुन्।)
(उल्लिखित सुझाव सँगालो लेखकका निजी विचार हुन्। यी अभिव्यक्त विचारले लेखकले कामकाज गरिरहेको कार्यालयको औपचारिक धारणाको प्रतिनिधित्व गर्दैन।)