काठमाडौं- वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाइएको बताएका छन्। १३ करोड रुपैयाँ पुरस्कारसहितको प्रतिष्ठित इसा अवार्ड पाउन लागेका डा रुइतले बुधबार सञ्चारकर्मीहरुसँग छलफल गरेका छन्।
तिगलगंगा आँखा प्रतिष्ठानमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताए। उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको पनि बताए।
पत्रकार सम्मेलनमा डा रुइतले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरु रहेको पनि बताए।
इसा अवार्डपछि हास्यकलाकार हरिवंश आचार्यदेखि सर्वसाधारहरुले समेत डा रुइतलाई राष्ट्रपति बनाउनु पर्ने आवाज उठाएका थिए। उक्त विषयको जनाकारी दिँदै सञ्चारकर्मीले राखेको जिज्ञासामा डा रुइतले आफू राष्ट्रपति भन्दा पनि चिकित्सकको कामका लागि नै उपयुक्त रहेको प्रतिक्रिया दिएका हुन्।
‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु्,’ उनले भने।
डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जानकारी दिए।
राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि उनले बताए। उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर विस्तार गर्न आवश्यक रहेको कुरामा जोड दिए।
डा रुइत भन्छन्-
यस्तो खालको एउटा ग्लोवल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो। संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्नेकुरा थाहा भयो र नेपालीहरुको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ त्यसलाई बचाउन धेरै ठूलो सहयोग गरेको छ। यो जीवनकै कमाइ हो । यो जिन्दगीको तपस्याको फल हो। यही कुरा विदेशीले भन्दा नेपालीले दुई,तीन गुणा बढी मेहनत गर्नुपर्छ। मैले पहिला पनि पाउँथे होला यस्तो तर नेपाली भएको हुनाले समय लाग्यो। यो राज्यले बुझ्नुपर्ने कुरा हो की यो अवार्डले नेपालको आत्मसम्मान र चिनारीलाई कति माथि लगेको छ भन्ने। म राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु । हामीले अझैपनि नेपालमा पहुँच नपुगेका ठाउँमा धेरै ठाउँमा छ, त्यहाँ आँखाको क्षेत्रमा पहुँच विस्तार गर्नुपर्छ। राज्यले स्वास्थ्यको क्षेत्रलाई धेरै विस्तार गर्न आवश्यक छ । तिलगंगा आँखा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय इन्स्टिच्युशन बनाउनुपर्छ।