काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशैभरका सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गिरीले सबै स्वास्थ्य संस्थामा जनशक्ति, उपकरणको अपर्याप्तता पहिचान गरी न्यूनतम सेवा मापदण्ड लागू गर्ने निर्णय गरेका छन्।
मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्तर्गत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन्।
उनले अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए।