नेपाल सरकारले सन २०१९ सम्ममा दादुरा उन्मुलन गर्ने लक्ष्य राखेता पनि बेलाबेलामा प्रकोप देखिने भईरहदा हाललाई सन २०२३ सम्ममा उन्मुलन गर्ने लक्ष्य सारिएको थियो। तर केही दिनदेखि बाँकेको नेपालगन्जमा प्रकोप देखिएको छ। आउनुहोस् आजको यस अंकमा दादुरा रोग सम्बन्धी केही जानिराखौ।
दादुरा के हो?
दादुरा मिजल्स भाईरसको कारणबाट अति छिटो सर्ने संक्रामक भाईरल रोग हो। यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ।
कसरी सर्छ त?
संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासनलीबाट वा आँखाबाट सर्न सक्छ। भाइरस रहेका ति ससाना फोकाहरु संक्रमित ब्यक्तिले बन्द कोठा छोडेको २ घण्टा सम्म पनि जिवित रहेर सार्न सक्छन। त्यस्तै संक्रमण हुने समय अवधि संक्रमित बिरामीको शरीरमा बिमिरा आउनु ३-४ दिन अघिदेखि बिमिरा आएको ४-५ दिन सम्म रहन्छ।
लक्षणहरू के के हुन?
प्राय गरेर ५ वर्ष मुनिका बालबालिकामा लक्षण देखिने भए पनि जुनसुकै उमेरमा देखिन सक्छ।
रुघा खोकीको लक्षणहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि );
ज्वरो आउनु;शरीरमा राता बिमीरा देखापर्नु सुरुमा निधारमा देखिदै कान पछाडि हुँदै घाँटीको माथिल्लो भागमा हुँदै छाती पेट ढाड हुँदै हात खुट्टामा फैलिदै गर्छ;
मुखभित्र कोप्लिक स्पट देखिने; बिमिराहरु ७ दिनमा हराउने भएपनी खोकी १० दिन सम्म लागि रहन सक्छ।
जोखिममा को को पर्छन त?
खोप लगाउने उमेर नभएका,विभिन्न कारणले खोप लगाउन नपाएका, दादुराको दोस्रो मात्रा नलगाएका ब्यक्ति, कुपोषित बालबालिका,भिड्भाडमा रहने र रोग प्रतिरोधात्मक शक्ति कम भएका ब्यक्ति तथा गर्भवती महिलाहरु।
जटिलताहरु के के हुन्?
कानको संक्रमण;
पखाला तथा जल बियोजन हुने;
निमोनिया, ब्रोन्कियोलाइटिस;
दिमागको संक्रमण,फेब्राइल सिजर;
गर्भवती महिलाहरु भएमा बच्चा खेर जाने तथा मरेको बच्चा जन्मिने;
लामो समयपछि हात खुट्टा नचल्ने तथा कान नसुन्ने पनि हुन सक्छ।
रोकथाम तथा उपचार
दादुरा रोक्ने सबै भन्दा महत्वपूर्ण उपाय भनेको नै खोप को प्रयोग गर्नु हो। त्यसैले दादुरा खोप अभियान तुरन्तै चलाउनुपर्छ। अरुलाई सर्नबाट बचाउन बिरामीलाई कम्तिमा १४ दिनसम्म आइसोलेसन(अलग) राख्नुपर्ने हुन्छ। त्यसैले बच्चाहरु भिड्भाड हुने ठाउँ जस्तो कि विद्यालयहरु कम्तिमा १४ दिन बन्द गरिनु उचित हुन्छ।
दादुरा संक्रमित ब्यक्तिले बन्द कोठा छोडेको २ घण्टासम्म पनि भाईरस उक्त कोठामा सकृय हुने भएकाले सो कोठामा २ घण्टासम्म प्रयोग नगर्ने वा सुरक्षित भएर काम गर्नु पर्छ।
भिटामिन ए को प्रयोग
यसरी प्रकोप भएको समयमा खोप नलगाएकाहरुलाई चिकित्सकको सुझावपश्चात खोप लगाउन सकिन्छ। त्यस्तै आवश्यकता अनुसार खोप तथा इम्युनोग्लोबुलिनको प्रयोग गर्नुपर्ने हुन्छ।
सरसफाइमा विशेष ध्यान दिने, झोलिलो कुरा प्रशस्तै दिने,आवश्यकता अनुसार चिकित्सकको निगरानीमा एन्टिबायोटिकको प्रयोग गर्ने र जटिलताको उपचार गर्ने।
(लेखक कान्ति बाल अस्पतालमा कार्यरत छन्।)