काठमाडौं- दादुरा प्रभावित बाँकेको नेपालगञ्जमा दादुरा रुबेला विरुद्धको खोप अभियान जारी छ। सोमबार नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका १६ वडामा १६ वटा खोप केन्द्र मार्फत दादुरा विरुद्धको खोप लगाउँदैछ। बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ। आइतबार मात्र ४६६ बालिका र ४१५ बालक गरी ८८१ जनालाई खोप लगाइएको हो।
बाँकेमा अब ३ हजार ८१७ जना बालबालिकालाई खोप लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ। १७ हजार ७ सय खोप हालसम्म जिल्लामा खपत भइसकेको छ भने २८ हजार ८ सय खोप बाँकी छ।
बाँकेमा हाल कुल दादुराको बिरामीको संख्या १९२ पुगेको छ। आइतबार थप १२ जना बिरामी भेटिएसँगै कुल संख्या १९२ पुगेको हो।