काठमाडौं– सरकारले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ। आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनापछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
राष्ट्रिय शोक दिवस घोषणा गर्दै बिदा दिइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
यस्तै आन्तरिक हवाई दुर्घटना हुन नदिन आफ्ना विमानहरुको प्राविधिक परीक्षण समेत गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए। प्रधानमन्त्री प्रचण्ड भने घटनास्थलको अवलोकनका लागि पोखरा जान लागेका छन्।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उठेको यती एअरलाइन्सको जहाज कास्कीको सेती नदीको खोँचमा दर्घटनामा परेको हो। उक्त विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए।