काठमाडौं - आज माघे अर्थात् मकर संक्रान्ति। यो पर्वलाई विभिन्न जात तथा समुदायले विशेष रुपमा मनाउने गर्दछन्।
दसैँ, तिहारमा माछा–मासु, मिठाईका परिकार भएजस्तै माघे संक्रान्तिमा पनि खाइने विशेष प्रकार परिकार छन्। जसको पोषण र स्वास्थ्यका हिसाबले आफ्नै महत्व छ। माघे संक्रान्तिका दिन विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु खाने प्रचलन छ।
पोषणविद् विनिता पन्त जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा यी परिकारहरु खाइने गरेको बताउँछिन्। तरुल, सखरखण्ड, चाकु, तिलको लड्डुले शरीरलाई चाहिने पौष्टिक तत्व उपलब्ध गराई शक्ति प्रदान गर्ने उनी बताउँछिन्। पोषणविद् पन्तसँगको कुराकानीको आधारमा माथि उल्लेखित यी परिकारको महत्व र शरीरलाई गर्ने फाइदा बारे छुट्टा छुट्टै प्रस्तुत गरिएको छ :
तरुल र सखरखण्ड – शक्तिको भण्डार
तरुल र सखरखण्ड दुवै कन्दमूल अर्थात् माटोमुनि फल्ने आहार हुन्। यी दुवै फल कार्बोहाइड्रेटको राम्रो स्रोत हुन्। तरुल र सखरखण्डमा कार्बोहाइड्रेड प्रशस्त मात्रामा हुने भएकाले भातसँग नभई भातको सट्टामा खान सकिन्छ। प्रोटिनको मात्रा भने निकै कम हुन्छ। तर मिनरल्स अर्थात् खनिज पदार्थहरु प्रशस्त मात्रा पाईन्छ। यो सँगै फोसफोरस, पोटासियम र फाइबरको मात्रा पनि धेरै हुन्छ। यसले गर्दा कब्जियतको समस्या भएकाहरुलाई तरुल र सखरखण्डको सेवनले फाइदा गर्छ। केही मात्रामा क्याल्सियमको आवश्यकता पनि पूर्ति गर्छ।
शरीरलाई सोलुबल र इनसोलुबल गरी दुई किसिमको फाइबरको आवश्यकता पर्दछ। सोलुबल फाइबरले शरीरमा शक्ति प्रदान गर्छ भने इमसोलुबल फाइबरले दिसा उत्सर्जन गर्न मद्दत गर्दछ। तरुल र सखरखण्डले शक्ति प्रदान गर्ने भएकाले जाडोमा यसको सेवन अति नै उपयुक्त भएको पोषणविद् पन्त बताउँछिन्।
उनी भन्छिन्, ‘तरुल र सखरखण्ड शक्तिको स्रोत हो। यसले जाडोमा शरीरलाई तताउने काम गर्छ। जाडोमा शरीरलाई बढी उर्जा खर्च गर्नुपर्ने भएकाले त्यो उर्जालाई यी आहारले पूर्ति गर्छ।’
तरुल र सखरखण्डको पोषणको मात्रा करिब समान नै हुन्छ। सखरखण्ड तरुलको तुलनामा केही गुलियो भएपनि कार्बोहाइड्रेडको मात्रा लगभग उस्तै रहन्छ। यी दुई बिच स्वादको रुपमा फरक भएपनि पोषणको हिसाबले समान जस्तै हुन्छ। मधुमेह रोग भएका र मोटोपनाको समस्या भएकाले व्यक्तिले तरुल र सखरखण्ड खाँदा भातको सट्टामा मात्रा मिलाएर खान मिल्ने उनी बताउँछिन्।
उनका अनुसार २५ ग्राम रोटी वा चामलको सट्टामा ७०/८० ग्राम सखरण्ड वा तरुल खान सकिन्छ। मधुमेहका बिरामीले खानै नहुने भन्ने होइन। तर यो परिकार खाँदै गर्दा अन्य अन्नको सट्टापट्टामा खान सकिन्छ।
उनी भन्छिन्, ‘मधुमेहका बिरामीलाई आलु या भात नखाउ भन्नेको कारण के हो भने भातसँग आलुको तरकारी र अचारको रुपमा प्रयोग गर्छौ। यसले तपाईको प्लेटमा सबै खाने कुरा कार्बोहाइड्रेट मात्र हुने भयो। आलुलाई तरकारीको रुपमा नभई भातको सट्टामा खान मिल्छ।’
चाकु र तिलको लड्डु – पोषणसँगै क्यालोरी पनि धेरै
माघे संक्रान्तिको दिनमा खाइने अर्को परिकार हो, चाकु। चाकुमा घ्यूसँगै नरिवल, बदाम, तिल र अन्य नट्सहरु राखिन्छ। यी सबैको मिश्रण हुँदा यसमा क्यालोरीको मात्रा अत्यधिक हुन्छ।
सय ग्राम ज्यागरी (सख्खर) मा ३५९ क्यालोरी हुन्छ। सय ग्रामको अल्मोण्ड बदाममा ६ सय, सय ग्रामको तिलमा ५०० क्यालोरी हुन्छ। त्यसैले यी खानेकुरा एकदमै थोरै खाएपनि क्यालोरी धेरै पाउने स्रोतहरु हुन्। तिल, अल्मोण्ड बदामहरु तेलको राम्रो स्रोत हो। यसमा प्रोटिन, आइरन, क्याल्सियमको मात्रा पनि धेरै हुन्छ।
अझ आइरनको सबैभन्दा धेरै हुने र राम्रो स्रोतको रुपमा तिललाई लिइन्छ। एउटा सामान्य व्यक्तिको शरीरलाई चाहिने क्याल्सियमको दैनिक मात्रा पुरा गर्न गाह्रो हुने पन्त बताउँछिन्। सामान्य रुपमा एक व्यक्तिका लागि दैनिक रुपमा एक हजार मिलिग्राम क्याल्सियमको आवश्यकता पर्दछ। तर यो एक हजार मिलिग्राम क्याल्सियमको मात्रा सामान्य खानेकुराबाट पुग्दैन।
‘शरीरमा क्याल्सियमको मात्रा पु¥याउन सागपात, दूध, नस्ट प्रशस्त मात्रामा खानुपर्छ। त्यति गर्दा पनि यो एक हजार मिलिग्राम पु¥याउन एकदमै गाह्रो हुन्छ। तर तिलको सेवनबाट क्याल्सियमको मात्रा धेरै पाउन सकिन्छ।’ उनले भनिन्।
सय ग्राम तिलमा ९ सयदेखि १४ सयसम्म मिलिग्राम क्याल्सियम पाईन्छ। यो हिसाबले दैनिक ५० ग्राम तिल खाए मात्र पनि आधा क्याल्सियमको मात्रा पु¥याउन सकिने उनले बताइन्।
सख्खरमा क्यालोरीको मात्रा धेरै हुने भएपनि फ्याट र प्रोटिनको मात्रा कम हुन्छ। सख्खर कार्बोहाइड्रेटपछि आइरनको राम्रो स्रोत हो। एक स्वस्थ महिलाका लागि २९, पुरुषका लागि १९ र गर्भवतीका लागि २७ मिलिग्राम आइरनको आवश्यकता पर्दछ। सख्खरमा पोटासियम र भिटामिन बी९ पाईन्छ।
उनले भनिन्, ‘विभिन्न खनिज पदार्थहरु आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम लगायतले शरीरलाई तातो बनाउँछ। त्यसैले यी सबै खानेकुराले शरीरमा रोगसँग लड्न र शक्ति प्रदान गर्न मद्दत गर्दछ।’
यी खोनकुरा एकै पटक धेरै मात्रा खानु हुँदैन। हामीले तरुल, सखरखण्ड, चालु, तिलको लड्डु खाइरहेका छौँ भने यी खानेकुरालाई अन्य खानेकुराको सट्टामा खानुपर्छ। मिर्गौला, मधुमेह, मुटु रोग भएकाहरुले भने यी खानेकुराहरु खाँदा ध्यान दिएर खानुपर्छ। नियमित रुपमा परीक्षण गराईरहेका चिकित्सकसँग परामर्श गरेर खाए राम्रो हुने पन्त बताउँछिन्। २५ ग्रामको चाकुबाट एउटा रोटी बराबरको क्यालोरी प्राप्त हुन्छ। यी खानेकुराहरु खाईरहँदा अन्य सागपात, फललफूलको मात्रा पनि मिलाउनुपर्ने उनको सुझाव छ।
भण्डारण कति समयसम्म गर्न मिल्छ ?
धेरैले चाकु, तिलको लड्डु एकै पटक बनाएर भण्डारण गरेर राख्ने गर्दछन्। कतिपय खानेकुराहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने भएपनि केही खानेकुराको भण्डारण अवधि निश्चित हुने गर्दछ। राम्रोसँग पकाएर बनाइएको चाकुलाई हावा नछिर्ने गरी सुख्खा ठाउँमा भण्डारण गरे दुईदेखि चार महिनासम्म पनि खान मिल्ने उनले बताइन्। तरुल र सखरखण्ड भने एक दुई दिनमै बिग्रने भएकाले धेरै दिन राख्न नमिल्ने भएकाले भण्डारण गर्न मिल्दैन।