काठमाडौं - बाँकेमा दादुराको बिरामीको संख्या १६० पुगेको छ। गत २४ घण्टामा २८ जना बिरामी भेटिएसँगै यो संख्या १६० पुगेको हो।
नेपालगञ्जमा २६, खजुरामा १ र कोहलपुरमा १ गरी २८ जना दादुराका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ मा ३, वडा नं ४ मा ११, वडा नं ११ मा २, वडा नं १६ मा ५, वडा नं ५, ७, ९, १५, १८ र ११ मा एक एक जना बिरामी भेटिएका हुन्।
हाल कुनै पनि बिरामी अस्पतालमा भर्ना भएका छैनन्। ५० जना घरमै आइसोलेसनमा, ५० जना उपचाररत छन्। गत २४ घण्टामा २५ जना बालबालिका निको भएका छन्। दादुराको प्रकोप नेपालगञ्जको १५ वटा वडामा फैलिएको छ।
शुक्रबार थप २ हजार ८८२ जनालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको छ। १ हजार ३५७ बालिका र १ हजार ५२५ गरी २ हजार ८८२ जनालाई खोप लगाइएको कार्यालयले जनाएको छ। यो सँगै बाँकेमा हालसम्म खोप लगाउने बालबालिकाको संख्या १२ हजार ८४५ पुगेको छ। अब ५ हजार ५४५ जनालाई खोप लगाउन बाँकी छ। बाँकेमा शनिबार पनि १२ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ।