काठमाडौं - बाँकेमा दादुराको बिरामी दैनिक बढ्दै गएको छ। एकै दिन त्यहाँ १८ जना दादुराका बिरामी भेटिएका छन्। यो सँगै बाँकेमा दादुराका बिरामीको संख्या १३३ पुगेको छ। यसअघि हिजोसम्म ११५ जनामा दादुरा रोग देखिएको थियो।
एकै दिन नेपालगञ्जमा १७ र कोहलपुरमा १ गरी १८ जना दादुराका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ मा ७, वडा नं ४ मा १, ५ मा ५, वडा नं ९, १०, १५ र २१ मा एक एक बिरामी भेटिएका हुन्।
कुल बिरामी १३३ मध्ये हाल एक जना अस्पताल भर्ना भएका छन् भने ६२ जना घरमा आइसोलेसनमा छन्। ६१ जना उपचाररत छन्। ७१ जना निको भइसकेका कार्यालयले जनाएको छ। अस्पताल भर्ना भएका दुईमध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन्।
नेपालगञ्जको १४ वटा वडामा दादुरा फैलिएको छ भने खजुरामा २ र कोहलपुरमा १ जनामा बिरामी भेटिएको छ। नेपालगञ्जको १, ३, ४, ५, ७, ८, ९, १०, ११, १४, १५, १६, २१ र २२ वडामा दादुरा फैलिएको छ। सबैभन्दा बढी ८,७ र ५ वडा प्रभावित देखिएको छ। त्यहाँ हालसम्म क्रमश २९, २८ र २० जना दादुराका बिरामी भेटिएको कार्यालयको तथ्यांक छ।
बाँकेमा गत २८ घण्टामा १ हजार २९७ बालिका र १ हजार ५०३ बालक गरी २ हजार ८०० जनालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको छ। यो सँगै बाँकेमा दादुरा रुबेलाको खोप लगाउने बालबालिकाको संख्या ९ हजार ९६३ पुगेको छ। बाँकेमा १८ हजार ३९० लक्षित बालबालिका रहेकामा हालसम्म करिब १० हजारलाई खोप लगाइएको हो। अब ८ हजार ४२७ बालबालिकालाई खोप लगाउन बाँकी रहेको कार्यालयले जनाएको छ।
आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बाँकेलाई ३० हजार डोज दादुरा रुबेला विरुद्धको खोप उपलब्ध गराएको छ।