काठमाडौं- दादुराको महामारी फैलिएको बाँकेमा आज ३० हजार डोज दादुरा रुबेलाको खोप पुग्दैछ। दिउँसो करिब चार बजेसम्म उक्त खोप बाँके पुग्ने स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए।
दादुरा रुबेलाको खोप १६ हजार ५ सय डोज स्टकमा रहेकोमा हालसम्म ७ हजार ५०० खोप खपत भइसकेको छ। कुल ९ हजार खोप मात्र बाँकी रहेकाले थप माग गरिएको कार्यालयले जनाएको छ। उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत प्राप्त हुन लागेको हो।
दादुरा रोगको नियन्त्रणका लागि पहल गरिरहेको र खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने प्रयास गरिरहेको श्रेष्ठले बताएका छन्। रोगको लक्षण देखिने बित्तिकै उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित ठाउँमा पठाउने गरिएको छ।
बाँकेमा दादुराका बिरामी बढ्न थालेपछि त्यहाँ पुष २२ गतेदेखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन गरिएको छ। बिरामीको संख्या बढ्दै गएपछि बाँकेमा आजदेखि १५ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिँदैछ। यसअघि बुधबार १३ वटा खोप केन्द्र सञ्चालन गरिएको थियो। बिहान १० बजेदेखि ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन्।
नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन लागिएको हो। आफ्ना बालबालिकाहरुलाई खोप केन्द्रमा लगेर खोप लगाउन श्रेष्ठको आग्रह छ।
बुधबार मात्र ३ हजार २१३ जनालाई दादुरा रुबेलाको खोप लगाइएको कार्यालयको तथ्यांक छ। १ हजार ५२४ बालिका र १ हजार ७०७ बालक गरी ३ हजार २१३ जनालाई खोप लगाइएको हो। यो सँगै बाँकेमा दादुरा रुबेलाको खोप लगाउने बालबालिकाको संख्या ७ हजार १६३ पुगेको छ।
बाँकेमा हालसम्म ११५ जनामा दादुरा रोग देखिएको छ। नेपालगञ्जका ११३ र खजुराका २ जना गरी ११५ जनामा दादुरा देखिएको हो। वडा नं १ मा २, वडा नं मा २ र वडा नं १६ मा १ गरी पाँच जना दादुरा बिरामी पत्ता लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोे छ।
हाल ५८ जना घरमा आइसोलेसनमा रहेको, ६२ जना उपचाररत रहेको र २ जना अस्पताल भर्ना गर्नु परेको कार्यालयले जनाएको छ। ५२ जना बिरामी भने उपचारपछि निको भएका छन्। योसँगै दादुराको महामारी फैलनबाट रोक्न आज र भोलि नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो।