काठमाडौं - दादुराको महामारी फैलनबाट रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो।
नेपालगञ्ज उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘हाल नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले यस उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षाहरुलाई असर नगर्ने गरी २८ देखि २९ गतेसम्म सार्वजनिक बिदा गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।’
यसअघि बाल स्वास्थ्य तथा खोप शाखाले दुई सातासम्म विद्यालय बन्द गर्न सुझाव दिएको थियो। शाखा प्रमुख सागर दाहालका अनुसार दादुराको इन्क्युवेसन पिरियड हुन्छ। शरीरमा दादुराको भाइरस प्रवेश गरेपछि रोग देखापर्ने अवधि इन्क्युवेसन पिरियड हो। यो पिरियड ७ देखि १४ दिनको हुने भएकाले संक्रमण रोक्न दुई साता विद्यालय बन्द गनुपर्ने उनको सुझाव थियो। यद्यपि कति दिन विद्यालय बन्द गर्ने नगर्ने अधिकार भने स्थानीय सरकारलाई हुने उनले बताएका थिए।
बढ्दै बिरामीको संख्या
बाँकेमा गत २४ घण्टामा पाँच जना दादुराका बिरामी थपिएका छन्। बिहानसम्म ११० जना रहेकोमा हाल बिरामीको संख्या ११५ जना पुगेको छ। तर अस्पताल भर्ना हुनुपर्ने बिरामी भने थपिएका छैनन्। नेपालगञ्जका ११३ र खजुराका २ जना गरी ११५ जनामा दादुरा देखिएको हो। वडा नं १ मा २, वडा नं मा २ र वडा नं १६ मा १ गरी पाँच जना दादुरा बिरामी पत्ता लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोे छ।
हाल ५८ जना घरमा आइसोलेसनमा रहेको, ६२ जना उपचाररत रहेको र २ जना अस्पताल भर्ना गर्नु परेको कार्यालयले जनाएको छ। ५२ जना बिरामी भने उपचारपछि निको भएका छन्। भेरी अस्पतालमा उपचाररत दुई जना बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेका छन्। उनीहरु पुष २५ र २६ गते अस्पताल भर्ना भएका थिए।
थपिदै खोप केन्द्र, बिहीबार ३० हजार खोप बाँके पुग्दै
बाँकेमा दादुराका बिरामी बढ्न थालेपछि त्यहाँ पुष २२ गतेदेखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन गरिएको छ। बिरामीको संख्या बढ्दै गएपछि सोही अनुसार खोप केन्द्रको संख्या पनि बढाइएको कार्यालयले जनाएको छ। बुधबार १३ वटा खोप केन्द्र सञ्चालन गरिएकोमा बिहीबार १५ वटाबाट खोप प्रदान गरिँदैछ। बिहान १० बजेदेखि ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन्।
बुधबार मात्र ३ हजार २१३ जनालाई दादुरा रुबेलाको खोप लगाइएको कार्यालयको तथ्यांक छ। १ हजार ५२४ बालिका र १ हजार ७०७ बालक गरी ३ हजार २१३ जनालाई खोप लगाइएको हो। यो सँगै बाँकेमा दादुरा रुबेलाको खोप लगाउने बालबालिकाको संख्या ७ हजार १६३ पुगेको छ।
दादुरा रुबेलाको खोप १६ हजार ५ सय डोज स्टकमा रहेकोमा ७५०० खोप खपत भएको छ। हाल ९ हजार खोप बाँकी रहेकाले थप माग गरिएको ३० हजार डोज खोप बिहीबार आउन लागेको कार्यालयले जनाएको छ।