काठमाडौं- बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप दैनिक रुपमा फैलिँदै गएको छ। दादुरा संक्रमित बालबालिकाकको संख्या नेपालगञ्जमा ११० पुगेको छ। जसमध्ये एक जनाको मृत्यु भइसकेको छ भने दुई जना उपचाररत छन्। दुई जना बालबालिकाको उपचार भेरी अस्पतालमा भइरहेको छ। २५ र २६ गते गरी दुई जना बालबालिकाका अस्पताल भर्ना भएका हुन्।
बाँकी बालबालिकाहरु घरमै आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार ५० प्रतिशत बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार भइसकेको छ।
कुल बिरामी ११० मध्ये ७० प्रतिशत अर्थात् ७७ जना बालबालिकाले दादुराविरुद्ध खोपको मात्रा पुरा नगरेको पाइएको उनले बताए। दादुरा रुबेला विरुद्धको खोप शिशु जन्मेको ९ र १५ महिना गरी दुई मात्रा लगाउनुपर्दछ। यी बालबालिकाहरुले १३ प्रकारका खोपमध्ये सबै खोप लगाएको तर दादुरा-रुबेलाविरुद्धको दोस्रो मात्रा भने नलगाएको पाइएको हो।
‘दादुराको खोपको दुई मात्रा पुरा गर्नुपर्ने हुन्छ। तर ७० प्रतिशत बालबालिकाको दादुरा रुबेला विरुद्ध खोपको दोस्रो मात्रा पुरा नगरेको पाइयो।,’ उनले भने।
खोपको मात्रा पुरा नहुनुसँगै जनचेतनाको कमी र कुपोषणका कारण पनि दादुरा फैलिएको हुन सक्ने उनको अनुमान छ। जिल्लामा दादुरा किन र कसरी फैलियो भन्ने बारेमा छलफल भइरहेको पनि उनले बताए।
१३ वटा खोप केन्द्र सञ्चालन
खोप नलगाएका बालबालिकाहरु दादुराबाट बढी प्रभावित भएको भेटिएपछि बाँकेमा पुष २२ गतेदेखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन भएको छ। गत पाँच दिनमा त्यहाँ ३ हजार ९३२ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको श्रेष्ठले जानकारी दिए।
१ हजार ८९३ बालिका र २ हजार २९ बालक गरी ३ हजार ९३२ जनालाई खोप लगाइएको छ। वडा नं ४ मा ३२०, ५ मा १ हजार २५२, ७ मा ९५५, ८ मा ६६१, १४ मा २७१, र १५ मा ४७३ जनाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन्।
बढीभन्दा बढी बालबालिकालाई खोप लगाउन खोप केन्द्रको संख्या बढाइएको छ। हाल १३ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउन थालिएको उनले बताए। नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, १४ र १५ का ७ वटा वडाका १३ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गरिरहेको उनले बताए। उक्त खोप केन्द्र बिहान १० देखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ।
खोप केन्द्रहरु
वडा नं १ – मस्जिद टोल मदरासा र रामजानकी मन्दिर
वडा नं ४ – शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, गणेशपुर र वडा कार्यालय देवाफुलबारी
वडा नं ५ – आधारभूत स्वास्थ्य केन्द्र, डि.एस.पि.रोड र साईबाबा मार्ग, आमा समूहको घर
वडा नं ७ – आधारभूत स्वास्थ्य केन्द्र, गगनगञ्ज
वडा नं ८ – आधारभूत स्वास्थ्य केन्द्र, महेन्द्रपार्क र एम.पि.स्कुल
वडा नं १४ – बाबु गाउँ र उधउपूर्व
वडा नं १५ – टपसरी मदरासा, र जमुनिहा मदरासा
दादुरा संक्रमण नियन्त्रणका लागि पहल गरिरहेको श्रेष्ठले बताए। खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा खोज्ने अभियान समेत सञ्चालन गरेको उनले बताए।
‘हामी हरेक बच्चाहरु खोज्दै हिडिरहेका छौँ।’ उनले भने, ‘रोगको लक्षण देखिने बित्तिकै स्वास्थ्यकर्मीहरु सम्बन्धित ठाउँमा पुग्नुहुन्छ। दादुरा नियन्त्रण गर्ने प्रयासमा छौँ र नियन्त्रणकै क्रममा पनि छ।’
दादुरा नियन्त्रणका लागि बाँकेमा दुई सयभन्दा बढी स्वास्थ्यकर्मीहरु परिचालित रहेको उनले जानकारी दिए। खोप केन्द्रमा आवश्यक मात्रामा दादुरा रुबेला खोप तथा भिटामिन ए क्याप्सुल सप्लाई तथा मौज्दात रहेको उनले जानकारी दिए।