काठमाडौं– काठमाडौंको घट्टेकुलोको बाक्लो बस्तीभित्र एउटा भवन ठडिएको छ। भवनको गेटमै लेखिएको नाम नपढ्ने हो भने, जोकोहीले पनि अपार्टमेन्ट रहेछ भन्ने ठान्छन्। हुन पनि अपार्टमेन्टका लागि बनाइएको उक्त भवनलाई हालै सम्बन्धन पाएको काठमाडौं नेसनल मेडिकल कलेजले शिक्षण अस्पताल बनाएको हो।
साँघुरो सडक छिचोलेर भवनको प्रवेशद्वारमा लेखिएको नाम पढेपछि बल्ल थाहा हुन्छ, उक्त भवन बिरामीलाई २४सै घन्टा उपचार सेवा दिने भन्दै खोलिएको अस्पताल हो। गेटमा ठूला अक्षरमा लेखिएको छ, ‘काठमाडौं नेसनल मेडिकल कलेज, शिक्षण अस्पताल’। तर, त्यहाँ बिरामी भने शुन्य छन्।
आइतबार बिहान १० देखि १२ बजेसम्म अवलोकनका क्रममा स्वास्थ्यखबरको टोलीले त्यस्तै दृश्य देख्यो। दुई घन्टासम्म अस्पतालमा न एक जना बिरामी भित्र छिरे न त भित्रबाट उपचार गरेर कोही बिरामी नै बाहिर निस्किए। अस्पतालको गेटमा रहेका तीन जना सुरक्षा गार्ड मात्र कहिले बाहिर र कहिले भित्र गरिरहन्थे। यो त उक्त अस्पतालमा नियमित देखिने दृश्य रहेछ।
अस्पतालको नियमित बहिरंग (ओपिडी) सेवा दिने समयको सबैभन्दा चाप हुने अवधिमा पनि सुनसान देखिएपछि हाम्रो टोली अस्पताल भित्र छिरेको थियो। अस्पतालका बेडहरु रित्ता थिए। कोठाहरुमा विभिन्न वार्डका नाम टाँसिएका थिए। तर, कुनैमा पनि बिरामी थिएनन्। नर्स र कर्मचारीको ड्रेस लगाएका दुई–चार जना भने घरि यता, घरी उता गरिरहेका थिए।
यो नाम मात्रको अस्पताल भवन छेउमा व्यापार गर्दै आएका एक व्यापारीले भने, ‘तीन वर्षदेखि यो अस्पतालको हालत यस्तै हो।’
नियम अनुसार मेडिकल कलेजले सञ्चालन गरेको अस्पतालमा ६० प्रतिशत ‘बेड अकुपेन्सी’ भएको कम्तिमा तीन सय शय्याको चालू अस्पताल अनिवार्य हुनुपर्छ। जबकि, अस्पताल पुग्दा न कुनै डाक्टर भेटिए न कुनै बिरामी नै। तर, त्रिवि कार्यकारी परिषद्ले भने हालै मात्र मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गर्दा तीन सय बेडको अस्पताल सञ्चालनमा रहेको बताएको छ।
एमबिबिएसमा एक सय विद्यार्थी कोटाका लागि आवेदन दिएको काठमाडौं नेसनलको उक्त अस्पताललाई त्रिविले कसरी सञ्चालनमा रहेको देख्यो अचम्मको विषय छ। यहाँसम्म कि, अस्पतालमा डाक्टर र बिरामी त के तीन सय बेडसमेत पूरा नभएको अस्पतालमै कार्यरत एक कर्मचारी बताउँछन्।
‘करिब तीन वर्षदेखि हाम्रो अस्पताल यस्तै हालतमा छ,’ ती कर्मचारीले भने, ‘म पनि यहाँबाट जागिर छाडेर अन्यत्र जाने सोचमा छु।’ उनले नाम मात्रको अस्पतालमा बस्दा आफ्नो सीप समेत भुल्न लागेको गुनासो गरे।
एक सय विद्यार्थीलाई डाक्टरी शिक्षा दिन्छु भन्दै सम्बन्धन मागेको काठमाडौं नेसनलले अस्पतालमा बिरामीको चाप देखाउन समय–समयमा निःशुल्क स्वास्थ्य शिविर भने सञ्चालन गर्ने गरेको ती कर्मचारीले बताए। ‘डाक्टर र स्वास्थ्यकर्मी नहुँदा अचेल शिविर चलाउँदा पनि बिरामी आउँदैनन्,’ उनले अस्पतालको यथार्थ बताए।
काठमाडौं नेसनललाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक डा जैनुद्दिन अन्सारी र बसुरुद्दिन अन्सारी दाजुभाइले खोलेको हुन्। मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि त्रिभुवन विश्वविद्यालय र मेडिकल काउन्सिलको टोली २०७० सालमा अनुगमन गर्न आउँदा यो अस्पतालमा वीरगन्जबाटै चिकित्सक टोली र उपकरण ल्याइएको थियो।
बिरामीको भीड देखाउन एक सातादेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। अब अनुगमन सकियो, डाक्टर पनि फर्किए र उपकरण पनि वीरगञ्जमै लगियो। तर, अनुगमन टोलीका संयोजक डा करवीरनाथ योगीले तयार पारेको प्रतिवेदनमा तीन सय शय्याको अस्पताल सञ्चालनमा रहेको, फ्याकल्टी बोर्डको व्यवस्था भएको र सम्पूर्ण पूर्वाधार पुगेको कारण देखाउँदै सम्बन्धनका लागि उचित हुने भनिएको छ।
एक सय विद्यार्थी पढाउने मेडिकल कलेज चलाउन विभिन्न २२ विभागका लागि दुई सयभन्दा बढी चिकित्सक चाहिन्छ। ‘काठमाडौं नेसनलमा मुस्किलले पाँच जना डाक्टर होलान्,’ त्यहीँका कर्मचारी भन्छन्, ‘ती डाक्टर पनि फुल टाइम छैनन्।’