चिसो महिना सुरु भएसँगै बालबालिकामा देखिने एक प्रमुख समस्या निमोनिया पनि हो। केही दि अघि सिन्धुली जिल्ला अस्पतालबाट टाढा रहेको स्वास्थ्य संस्थामा एक ५ वर्षिय बालकलाई ५-७ दिनदेखि खोकी र ज्वरो आएको र बिगत २ दिनदेखि अचानक पेटको दाहिने कोखाको माथिल्लो र तल्लो भाग दुवै दुखेको रहेछ र रगत जाँच गरि हेर्दा सेता रक्तकोशको मात्रा धेरै नै बढेको रहेछ। सायद एक्सरे र भिडियो एक्सरेको सुबिधा नभएकोले र क्लिनिकलि एपेन्डिसाइटिसको शंका गरेकोले बिरामी पक्ष कान्ति बाल अस्पतालमा हाम्रो डयुटि भएको दिनमा आईपुग्नुभयो। यहाँ आउँदा बच्चाको दाहिने फोक्सोको तल्लो भागमा निमोनिया भएको रहेछ र अहिले वार्डमा उपचार भएर निको हुँदै छन्।
आउनुहोस् आजको यस अंकमा हामी निमोनिया बारे चर्चा गरौ। विश्व स्वास्थ्य संगठनका अनुसार सन २०२० मा संसारभरी ५ वर्ष मुनिका बच्चाहरुहरु मृत्यु हुने प्रमुख कारणमा निमोनिया पनि रहेको छ। विश्वमा प्रत्येक ४५ सेकन्डमा कम्तिमा एउटा बच्चाले निमोनियाको कारणले ज्यान गुमाउने गरेका छन्। त्यस्तै निम्न तथा मध्यम आय भएका देशहरुमा ५ वर्ष मुनिका करिब ७० लाख निमोनिया संक्रमित बच्चाहरुलाई ज्यान जोगाउन तत्कालै अक्सिजन दिएर उपचार गर्नुपर्ने हुन्छ।
निमोनिया भन्नाले के बुझिन्छ? कारक तत्व के हो?
निमोनिया भन्नाले फोक्सो वा छातीमा हुने संक्रमण बुझिन्छ। संक्रमित हुने कारणहरुमा शुक्ष्म ब्याक्टेरिया, भाइरस तथा फङ्सहरुले गर्दा हुनेगर्दछ।
लक्षणहरु के-के हुन?
जन्मेदेखि बुढेसकालसम्म पनि निमोनियाको संक्रमण हुने गर्दछ भने उमेर अनुसार लक्षणहरु केही फरक हुने गर्दछ।
• सुरुमा रुघा लागेर सुक्खा खोकी लाग्ने अनी खकार बन्ने
• कम्पनसहित ज्वरो आउने, छिटोछिटो श्वास फेर्ने, कोखा हान्ने
• ठुलो बच्चाहरुमा छाती तथा पेट दुख्ने
• केहीमा टाउको दुख्ने र हल्का ज्वरो मात्रै पनि आउन सक्छ
त्यस्तै ३ वर्ष मुनिका बच्चाहरुमा ज्वरो नआइकन खोकी र श्वासप्रश्वासमा समस्या मात्रै पनि आउन सक्छ। संक्रमण कडा हुँदै गएमा बच्चाले दुध पिउन नसक्ने, सास फेर्न अप्ठेरो हुने, बेहोस हुने हुनसक्छ।
निमोनियाको जोखिममा को-को हुन्छन त?
• कुपोशित बच्चाहरु
• पाँच वर्ष भन्दा मुनि का बच्चाहरु
• निम्न वर्गिय परिवार, ठुलो परिवार
• धूम्रपान गर्ने वा नजिकै बसेर प्रयोग गर्ने भए
• धुवा, धुलो फोहोरमैला र प्रदुषित वातावरण
• दाउरा, गुईठा जस्ता बायोमास जलाइने चुलोबाट निस्कने धुवा
• कमजोर प्रतिरक्षा प्रणाली भएका टिबी(क्षयरोग),एच.आई.भी/एड्स,मधुमेह, मिर्गौला, दमका बिरामी, क्यान्सर र मुटुको रोग भएका बिरामीहरु।
रोकथाममा उपायहरु के-के छन?
• सकेसम्म बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउने
• बच्चालाई ६ महिनापछि आमाको दूधका साथै पोषिलो खानाको मात्रा पुर्याएर खुवाउने
• सरसफाइमा ध्यान दिने
• घरभित्र हुने धुवाँ–धुलोबाट बच्ने
• खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्ररी हात धुने
• पोषिलो खानेकुरा खुवाएर बालबालिका तथा वृद्धवृद्धाको रोगप्रतिरोधात्मक क्षमता बढाउने
• चिकित्सकसँग परामर्श गरी खोपको प्रयोग गर्ने
उपचार
ब्याक्टेरियाले गराउने निमोनियामा चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटीकको प्रयोग गर्नुपर्ने हुन्छ। तर कतिपय स्थानमा चिकित्सकसँग परामर्श नगरी भाईरल निमोनियामा पनि औषधि पसलबाटै अनावश्यक एन्टिबायोटीक प्रयोग गर्ने गरेको देखिन्छ। यसले स्वास्थ्यमा थप समस्या बढ्दै गइरहेको छ।
(बाल रोग विशेषज्ञ डा राजकुमार विक कान्ति अस्पतालमा कार्यरत छन्।)