'स्लिप ल्याब' भन्नाले निद्रा सम्बन्धी बिरामीको लागि गरिने जाँचको ल्याब हो। मानिसहरुलाई विभिन्न प्रकारका निद्रा सम्बन्धी बिरामीहरु हुन्छन्। साधारणतया सबैभन्दा आम रुपमा देखिने घुराईसँग सम्बन्धित समस्या हो। त्यसलाई अंग्रेजीमा (अव्सट्रक्टटिभ स्लिप एप्निया) भनिन्छ। नेपालीमा यसलाई कडा घुर्ने समस्या भनेर बुझ्न सक्छौं। त्यो समस्या हुँदा मान्छे सुतेको बेला एकदमै घुर्ने गर्छ। घुर्दा घुर्दा बिचबिचमा सास रोकिनेसम्मको समस्या देखिन्छ। त्यसकारणले त्यस्ता समस्या भएका मानिसहरुलाई राति गहिरो निद्रा नपर्ने, दिउँसो निद्रा लाग्ने, काममा एकाग्रता नहुने, स्मरणशक्ति पनि कम हुँदै गएको जस्तो देखिने हुन्छ। त्यस्ता बिरामीहरुलाई ब्लड प्रेसर, मधुमेह, मोटोपनाको समस्या बढी हुन्छ।
सामान्य मानिसको तुलनामा घुराईको समस्या भएकाहरुलाई हृदयघात र मस्तिष्कघातको जोखिम ३ देखि ४ गुणाले बढी देखिएको छ। त्यस्ता मानिसहरुको हृदयघात भएर आकस्मिक मृत्यु हुने, प्यारालाइसीस हुने, स्ट्रोक हुने सम्भावना बढी हुन्छ। तर त्यस्ता बिरामीहरुलाई बेलामै पहिचान गरेर उपचारको बाटोमा लागियो भने त्यस्ता जोखिमबाट उनीहरु बच्न सक्छन्।
त्यो समस्या निदान गर्नको लागि स्लिप ल्याब अर्थात् निद्राको प्रयोगशाला एकदमै जरुरी छ। नेपालमा सरकारी स्तरमा निद्राको प्रयोगशाला सुरु गर्ने वीर अस्पताल पहिलो हो। काठमाडौँका केही नीजि अस्पतालहरुमा यो सुविधा छ तर शुल्क निकै महँगो छ। नीजि अस्पतालमा यसको शुल्क १५ देखि २० हजार छ। भारतमा हेर्ने हो भने पनि यसको शुल्क २५ देखि ३० हजार भारतीय रुपैयाँ छ।
यो साँझ ८ बजे सुतेदेखी बिहान ६ बजेसम्म (पुरै रात) गरिने जाँच हो। त्यसकारण पनि यसको शुल्क महँगो छ।
यसमा प्रयोग हुने प्रविधि र यसको रिपोर्ट निकाल्न लाग्ने समयले गर्दा पी यसको शुल्क महँगो भएको हो। वीर अस्पतालबाट सुलभ ढंगमा, कम मुल्यमा नै यो विशिष्टकृत सेवा संचालनमा आएको छ। यसले गर्दा हाम्रा मेडिकल विद्यार्थीहरु, डीएमका रेजिडेन्टहरुले निद्रा सम्बन्धी ज्ञान पनि पाउने र निद्रा विशेषज्ञको रुपमा यसै अस्पतालबाट उत्पादन पनि हुने अवसर मिल्छ। नेपालमा निद्रा सम्बन्धी कुनै पनि रिसर्चहरु नभएको अवस्थामा स्लिप ल्याबले त्यो अनुसन्धानको पाटोमा पनि काम हुने आशा गरेको छु। त्यसकारण यो महत्वपूर्ण छ।
(छाती रोग विशेषज्ञ डा श्रेष्ठ वीर अस्पतालका उपनिर्देशकसमेत हुन्।)