काठमाडौँ- वीर अस्पतालले छाती रोग विभाग अन्तर्गत 'स्लिप ल्याब' उपचार प्रविधि संचालनमा ल्याएको छ। अस्पतालमा एक कार्यक्रमकाबीच स्लिप ल्याबसँगै ब्रोन्कोस्कोपी र इबस सेवाको उदघाटन भएको हो। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सचिव डा रोशन पोखेरलले यी सेवाको उद्धघाटन गरेका हुन्।
पोखेरलले छाती विभागलाई बधाई दिंदै आगामी दिनमा अझै राम्रो गर्न सुझाए। कार्यक्रममा बोल्दै अस्पतालका उपनिर्देशक तथा छाती रोग विशेषज्ञ डा प्रज्ववल श्रेष्ठले सरकारी स्तरमा पहिलो स्लिप ल्याब संचालन हुनु निकै ठुलो उपलब्धि भएको बताए।
'विश्वभर करिब ६.६ प्रतिशत मानिसलाई निद्रा सम्बन्धी विकार छ। नेपालमा निद्रा विकार सम्बन्धी कुनै तथ्यांक छैन, विश्वव्यापी तथ्यांक हेर्दा नेपालमा कम्तिमा १८ लाख मानिसहरुमा निद्रा विकारको समस्या हुन सक्छ। स्लिप ल्याबको संचालनले निद्रा, घुराई सम्बन्धी अनुसन्धानलाई पनि सहज बनाउने छ,' उनले भने।
त्यस्तै अस्पतालका अर्का छाती रोग विशेषज्ञ अशेष ढुंगानाले निद्रासम्बन्धी तालिम मात्रै लिनलाई पनि भारत जानुपर्ने अवस्थामा स्लिप ल्याब संचालन हुनुले बिरामीलाई सहज हुने बताए। उनले भने,' बिस्तारै विभागमा कामहरु भईरहेको छ। छाती सम्बन्धी बिरामीले उपचार गराउन बाहिर जानुनपर्ने दिन आए हामी सन्तुष्ट हुन्थ्यौं।'
अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले श्वासप्रश्वास र निद्रासम्बन्धी बिरामीहरु बढीरहेको अवस्थामा स्लिप ल्याब धेरै महत्वपूर्ण भएको बताए। स्लिप ल्याब निद्रा र घुराईसम्बन्धी समस्या भएका बिरामीहरुको उपचार गर्ने प्रविधि हो।