काठमाडौं- स्वास्थ्य सेवा अन्तर्गतको १२औं तह अतिरिक्त सचिव बढुवाको फाइल मन्त्रिपरिषदबाट फिर्ता भएको छ। सरकार परिवर्तन भएसँगै मन्त्रिपरिषदम पुगेको फाइल फिर्ता भएको हो।
मन्त्रालयको बढुवा समितिले पुस ७ गते रिक्त रहेको दुई पदका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा पठाएको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा मन्त्रिपरिषदमा पुगेको फाइल प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि फिर्ता भएको हो।
शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त प्रस्तावका विषयमा निर्णय गरेको थिएन। पुस १० गते साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
'सरकार फेरिएसँगै अब स्वास्थ्यबाट फेरि नयाँ प्रस्ताव मन्त्रिपरिषदमा आउनुपर्छ,' प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, 'अब नयाँ प्रस्ताव आएपछि उक्त फाइल मन्त्रिपरिषदमा जानेछ।'
बढुवा समितिले गरेको निर्णयका आधारमा स्वास्थ्य मन्त्रालयले नयाँ प्रस्ताव पठाउने तयारी गरेको छ। बढुवा समितिले १२औं तहमा बढुवाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा टंक बराकोटीको नाम सिफारिस गरेको छ। उनीहरुलाई क्रमश: १,२ र ३ नम्बरमा सिफारिस गरेको हो।
समितिले गरेको सिफारिसका आधारमा नै मन्त्रिपरिषदमा नयाँ प्रस्तावको फाइल पठाउने तयारी मन्त्रालयले गरेको छ।