काठमाडौं- दोलखा कालिञ्चोक गाउँपालिकाकी ६४ वर्षीया रत्नाकुमारी पाठक सहनै नसकिने दुखाइ भोगिरहेकी थिइन्। देब्रे मिर्गौलामा रहेको १७ एमएमको पत्थरीले उनलाई असाध्यै पीडा दिन्थ्यो। सामान्य उपचारले ठिक हुन सक्ने अवस्था थिएन। शल्यक्रिया नै उनको उपचारका लागि एक मात्र विकल्प थियो।
उपचारका लागि उनी अस्पताल नपुगेकी होइनन्। तर काठमाडौंका सरकारी अस्पतालमा धाएपनि उपचार नपाएको उनी बताउँछिन्। सरकारी अस्पतालहरुले एक-दुई वर्षपछि उपचार गर्न आउनु भन्दै फर्काउने गरेको उनी गुनासो गर्छिन्। 'निजीमा जाउँ पैसा धेरै लाग्ने, सरकारी अस्पतालमा जाउँ पालो नपाउने', यही बाध्यताले दुखाइ बढ्दै गएपनि घरमै मृत्यु कुरेर बसेको उनी सुनाउँछिन्।
‘धेरै छटपटाएकी थिएँ। धेरै अस्पताल पनि धाएँ। आज भन्नु हुन्छ। भोलि भन्नु हुन्छ। यहाँ जा भन्छन्। उता जा भन्छन्’ उनले सुनाइन्, ‘म अब जान सक्दिन भनेर बसेँ। वीर अस्पतालले अर्को कार्तिकमा आउनु भनेर पठायो। त्यति बेलासम्म त बाँच्दिन भनेर सोचेँ।’
उपचारका लागि धाइरहेकी उनले शनिबार निःशुल्क रुपमा मिर्गौला पत्थरीको उपचार पाएकी छिन्। उपचार पाउँदाको उनको त्यो खुसी आँशुमा परिणत भइरहेको थियो। उनको निःशुल्क रुपमा उपचार गरेका थिए, सिनियर कन्सल्टेण्ट युरोलोजिस्ट डा सञ्जय खड्गीले। आफूले नयाँ जीवन पाएको भन्दै उनले डा खड्गीलाई दुई हात जोडेर धन्यवाद दिँदै थिइन्। उनको स्वर कापिरहेको थियो, आँखा रसाइरहेका थिए।
‘अब त बाचेँ। बचाई दिनुभयो। धेरै धेरै धन्यवाद। म बाँच्छु भन्ने त दश मनमा एक मन पनि थिएन। छटपटाइरहेको थिएँ। तपाईंको ठूलो उपकार होस्’ उनले हात जोड्दै भनिन्।
रुकुम पश्चिमकी ३२ वर्षीया भद्रकली विष्टको मिर्गौलामा पनि पत्थरीको समस्या थियो। उनको दुईवटै मिर्गौलामा पत्थरी थियो। एउटा मिर्गौलामा १३ र अर्कोमा १४ एमएम साइजको पत्थरी थियो। समयमै उपचार नपाउँदा उनको दुखाइ दैनिक बढ्दै गयो। दुखाइं सहन नसक्ने भएपछि उनी रुकुम पश्चिमकै एक अस्पतालमा पुगिन्। त्यहाँ उपचार नभएपछि उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पठाइयो। त्रिवि शिक्षण अस्पतालमा सिटी स्क्यान गरेपनि शल्यक्रियाको लागि पालो पाउन मुश्किल परेको उनले बताइन्।
‘मेरो दुईवटै मिर्गौला दुखेर म बोल्न नसक्ने अवस्थामा थिए। उपचारका लागि रुकुमबाट काठमाडौं आएकी थिए। तर उपचार पाउन गाह्रो भयो। यहाँ निःशुल्क उपचार हुन्छ भनेर थाहा पाएपछि उपचार गराएँ,’ उनले भनिन्। दुईवटै मिर्गौलाको शल्यक्रिया गर्दा व्यक्तिगत पैसा हालसम्म खर्च नभएको उनले बताइन्।
उनी जस्तै निःशुल्क उपचार पाएकामध्ये एक हुन्, काठमाडौं मच्छेगाउँका ७३ वर्षीय गोपी थापा मगर। उनलाई प्रोस्टेटको समस्या थियो। यो पुरुषहरुमा हुने एक समस्या हो। प्रोस्टेट बढेका कारण उनको मुत्रनली थुनिएको थियो। त्यसैले उनलाई पिसाब फेर्न निकै गाह्रो हुन्थ्यो। आर्थिक अवस्था कमजोर भएका कारण उनले उपचार गराएका थिएनन्। तर गाउँमै पुगेको स्वास्थ्य शिविरमा उनले निःशुल्क उपचार हुने थाहा पाएपछि शल्यक्रिया गराए।
‘मलाई साह्रै गाह्रो भएको थियो। पिसाब फेर्न पनि धेरै गाह्रो हुन्थ्यो। अब त म एकदम खुशी छु। उपचार पाएँ,’ उनले भने। शल्यक्रियाका क्रममा आफूलाई दुखाइ नभएको उनले बताए।
खड्गी इन्स्टिच्युट अफ इण्डोयूरोलोजीले उनीहरु जस्तै ३१ जना बिरामीको निःशुल्क उपचार गरी नयाँ जीवन दिएका छन्। इण्डोयूरोलोजीले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी भएका २५ र ६ जना प्रोस्टेट ग्रन्थी सम्बन्धी समस्या भएका ३१ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको हो। यसका लागि उनीहरुले १४, १५ र १६ गतेसम्म स्वास्थ्य शिविरको आयोजना समेत गरेको थियो। शिविरमा बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा शय्या चार्ज समेत निःशुल्क गरिएको खड्गी इन्स्टिच्युट अफ इण्डोयूरोलोजीका मेडिकल डाइरेक्टर डा खड्गीले बताए।
पत्थरी शल्यक्रियाका लागि मिनि पीसीएनएल विधि र प्रोस्टेट ग्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरिएको थियो। आर्थिक अभावका कारण उपचारबाट बञ्चित गरेका व्यक्तिहरु आफ्नो प्राथमिकतामा रहेको डा खड्गी बताउँछन्।
‘हाम्रो उद्देश्य भनेको अशक्त विपन्न बिरामीहरुका लागि हो। उहाँहरु आर्थिक अभावका कारण उपचार लिनबाट बञ्चित हुन नपरोस्।’ उनले भने। एउटा मिर्गौला पत्थरीको शल्यक्रिया गर्न ८५ हजारदेखि एक÷डेढ लाख रुपैयाँ लाग्ने गरेको उनले बताए। तर यी सबै बिरामीहरुको शल्यक्रिया निःशुल्क गरिएको हो।
के हो मिर्गौला पत्थरी?
पिसाबमा हुने स–सानो कणहरु मिलेर ठूलो बन्नुलाई नै मिर्गौला पत्थरी भनिन्छ। मिर्गौला पत्थरी ८० प्रतिशत शरीरको मेटामोलिबजमका कारण हुने डा खड्गीले बताए। शरीरमा पानीको मात्रा कम हुँदा, गर्मीमा बस्ने, वंशाणुगत, शारीरिक सक्रियता कम भएका व्यक्तिहरुमा मिर्गौला पत्थरी हुन सक्छ। योसँगै आन्द्रासम्बन्धी रोग भएका व्यक्तिमा पनि मिर्गौला पत्थरीको समस्या हुन सक्ने उनले बताए। मिर्गौला पत्थरीका लक्षणहरु पत्थरी कुन भागमा छ भन्ने आधारमा देखा पर्छन्। पत्थरी मिर्गौला भित्र छ तर कुनै अप्ठ्यारो गरेको छैन भने लक्षण बिहीन पनि हुन सक्छ। तर पत्थरी मिर्गौलाको नलीमा बनेको छ भने दुखाइ अत्यधिक हुन सक्छ। पिसाबमा रगत आउने, पिसाब छिन–छिनमा लाग्ने लक्षण देखा पर्छन्। यद्यपि पत्थरी रहेको स्थान, पत्थरीको आकारमा पनि लक्षणहरु फरक पर्छन्।
कुन बेला शल्यक्रिया गर्ने?
मिर्गौलामा हुने पत्थरीको आकारले पनि दुखाइ र समस्या निर्धारण गर्दछ। ५-६ एमएम आकारको पत्थरी छ भने ७०-८० प्रतिशत आफैँ जान सक्ने डा खड्गीले बताए। तर पहिले पत्थरीको निदान गर्नुपर्छ। पत्थरी कहाँ छ र कति ठूलो आकारको छ भन्ने पत्ता लगाउनुपर्छ। एक सेन्टिमिटर भन्दा ठूलो पत्थरी शल्यक्रिया गरेर निकाल्नुपर्छ।
एक पटक गरिएको शल्यक्रियाले अर्को पटकलाई नहुने भन्ने हुँदैन। एक पटक पत्थरीको शल्यक्रिया गरिसकेका व्यक्तिलाई पाँचमा पुनः पत्थरी हुने ५० प्रतिशत संभावना हुन्छ। तर स्वस्थकर जीवनशैली अपनाएका व्यक्तिलाई नहुने संभावना पनि हुन्छ।
मिर्गौला र नलीको पत्थरी एउटा सामान्य एक्सरे गरेर पनि निदान गर्न सकिन्छ। एक्सरेमा शंकास्पद छ भने अल्ट्रासाउण्ड गरेर पत्थरीको आकार थाहा पाउन सकिन्छ। तर विस्तृत रुपमा थाहा पाउन र सर्जिकल योजना गर्न सिटी स्क्यान गर्नुपर्छ। सिटी स्क्यानले शत प्रतिशत पत्थरीको निदान गर्न सक्ने उनले बताए।
पत्थरी मिर्गौलादेखि नली र नलीदेखि पिसाब थैली जहाँ पनि हुन सक्छ। पत्थरी नरम छ र १०/१५ एमएमसम्मको छ भने लिट्रोट्रिस्पी अर्थात् बाहिरबाट रे मार्फत उपचार गर्न सकिन्छ। पत्थरी ५-६ एमएम मिर्गौलामा छ तर बिरामीलाई कुनै समस्या भएको छैन भने पर्ख र हेरको अवस्थामा राख्नुपर्ने डा खड्गीले बताए।
पत्थरी नलीमा छ र बिरामीलाई पीडा भइरहेको छ भने दूरबीनको माध्यमबाट शल्यक्रिया गर्न सकिन्छ। १०-१५ एमएमको पत्थरी मिर्गौलामा छ भने साइडमा सानो प्वाल बनाएर दूरबीनको माध्यमबाट शल्यक्रिया गरेर बाहिर निकालिन्छ। १०-१५ एमएमको पत्थरी भएकाले बिना प्वाल नपारी आरआईआरएस प्रविधिबाट पनि उपचार गर्न सकिन्छ। बिरामीको अवस्था, पत्थरीको आकार र भएको ठाउँ अनुसार शल्यक्रिया र उपचार गर्न सकिन्छ। अहिले नयाँ प्रविधिका कारण पहिले जस्तो धेरै दिन अस्पताल बस्नुपर्ने, पीडा हुने गरी शल्यक्रिया गर्न नपर्ने उनले बताए।
पानीको मात्रा व्यक्तिको शारीरिक अवस्था अनुसार फरक पर्छ। सामान्य रुपमा एउटा व्यक्तिले दिनमा कम्तीमा दुई लिटर पानी पिउँदा पुग्ने डा खड्गीले बताए। यो सँगै शारीरिक व्यायाम, स्वस्थकर जीवनशैली अपनाउन सके मिर्गौला सम्बन्धी रोगबाट बच्न सकिने उनले बताए।