काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तीन सय शय्याको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। आगामी तीन महिनापछि भवन निर्माणको काम सुरु हुने गरी प्रक्रिया अघि बढेको हो।
भवन निर्माणका लागि अस्पतालले तीन दिन अघि मात्र टेण्डर आह्वान गरेको थियो। टेण्डर आह्वान, मूल्यांकन लगायतको काम सकेर निर्माण सुरु गर्न करिब तीन महिना लाग्ने अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।
उनले भने, ‘भवनको डिजाइन सबै तयार भइसक्यो। टेण्डर आह्वान पनि भयो। टेण्डरको प्रक्रिया, मूल्याकंन सकेर नयाँ भवन निर्माणको प्रक्रियामा जान तीन महिनाजति लाग्ला।’
करिब करिब तीन अर्ब रुपैयाँको लागतमा शुक्रराज अस्पतालको तीन सय शय्याको नयाँ भवन निर्माण हुन लागेको हो। साढे तीन वर्षमा निर्माण कार्य सक्ने अस्पतालको योजना छ।
बिरामीको उपचारलाई ध्यानमा राख्दै अस्पतालका भवनहरु पालै पालो भत्काइनेछ। सुरुमा अस्पतालको ओपिडी छेउको क्वाटर भवन, टिकट काउन्टरको पहेलो भवन र एआरटी सेन्टरको भवन भत्काइने गौतमले जानकारी दिए। उपचारका लागि अस्थायी संरचना निर्माण भइसकेपछि मात्र मुख्य भवनहरु आइसीयू, इमरजेन्सी र वार्ड भत्काइने उनले बताए।
‘भवन निर्माण सुरु भएपछि उपचार सेवा अलि खुम्चिन्छ। तर पुरै बन्द हुँदैन। अस्थायी संरचना बनेपछि मात्र मुख्य भवनहरु भत्किन्छन्’ उनले भने।
तीन सय शय्याको उक्त भवन ६ तल्लाको डिजाइन गरिएको छ। सबैभन्दा तल बेसमेन्ट पार्किङ्ग, ग्राउण्ड फ्लोरमा इमरजेन्सी, ओपिडी, रेडियोलोजी विभाग रहनेछन्। पहिलो तल्लामा प्रयोगशाला, ओपिडी, फिभर वार्ड रहनेछ।
दोस्रो तल्लामा प्रयोगशाला विशेष, जेनरल वार्ड, इमरजिङ्ग आइसोलेसन वार्ड, तेस्रो तल्लामा पोषण, प्रत्यारोपण, हेमाटोलोजी, नवजीवन वार्ड लगायत, चौथोमा टिबी, रेबिज/टिटानस, छालारोग विभाग, पाँचौ तल्लामा आइसीयू, शल्यक्रिया र सेमिनार हल रहनेछ भने छैठौँ तल्लामा लन्ड्री रहनेछ।
आठ वर्षअघि अस्पतालका निर्देशक डा केदार सेन्चुरीले शुक्रराज अस्पताललाई तीन सय शय्याको बनाउने योजना अघि सारेका थिए। यो बीचमा धेरै निर्देशक परिवर्तन भए तर योजना अघि बढ्न सकेको थिएन।
तीन सय शय्या अस्पतालको योजना योजना अघि बढाउन तत्कालीन निर्देशक डा अनुप बास्तोलाको पनि महत्वपूर्ण भूमिका छ। उनले आफू निर्देशक भएका बेला अस्पताल बनाउने कामलाई अघि बढाउन धेरै प्रयास गरेको कर्मचारीहरु बताउँछन्।
तीन सय शय्याको अस्पताल बनाउने गुरुयोजना दुई वर्ष अघिमात्र सरकारी कार्यक्रममा पर्यो। त्यो पनि जग्गा छनोट विवादका कारण अल्झिन पुगेको थियो। टेकु अस्पतालमै तीन सय शय्याको भवन बनाउने सुनिश्चितता गत आर्थिक वर्षमा भएको थियो।
शुक्रराज अस्पतालको आफ्नै जमिन ७२ रोपनी छ। तर १६ दशमलब ५ रोपनीमात्र प्रयोग गरिरहेको छ। बाँकी जमिन स्वास्थ्य सेवा विभागको प्रयोगमा छ।