काठमाडौं- नेपालमा १२ हजार १९ जनाको मृत्युको कारण बनेको कोरोना भाइरसको डर फेरि सुरु हुन थालेको छ।
चीनमा फैलिरहेको कोरोना भाइरस ओमिक्रोनको उपप्रजाति बीएफ–७ भारतमा पनि पुगिसकेको छ। नेपालमा भने हालसम्म यो उपप्रजाति पुष्टि भइसकेको छैन। तर भारतसँगको खुला सिमानाका कारण नेपाल सधै जोखिममा भने रहन्छ।
मत्थर जस्तै भइसकेको कोरोना भाइरसले तीन वर्ष अघि जस्तै महामारीको रुप लिने हो की भन्ने डर र चिन्ता दुवै छ। कोरोना भाइरसलाई नजिकबाट नियालि रहेका चिकित्सक तथा विज्ञहरुले भने डराई हाल्नुपर्ने अवस्था नरहेको बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भारतमा यो उपप्रजाति फेला परिसकेकाले नेपालमा पनि आउने संभावना रहेको बताउँछन्। यद्यपि अहिले डराई हाल्नुपर्ने अवस्था नरहेको उनले बताए।
‘विगतमा भारतमा कोरोनाको नयाँ–नयाँ भेरियन्ट उत्कर्षको रुप लिइरहँदा नेपाल सधै तरङ्गित भयो। तर अहिले मानिसमा उब्जिएको डर छ, त्यसमा तर्सिनुपर्ने म देख्दिन,’ उनले भने।
चीनमा कोरोना बढ्नुको यकिन कारण थाहा नभएकाले नेपालमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाई छ। तर भारतमा कोरोनाले कस्तो रुप लिन्छ, त्यसमा पनि भरपर्ने उनले बताए।
बीएफ–७ उपप्रजाति तिव्र गतिमा फैलन सक्ने र एन्टीबडीलाई छल्न सक्ने क्षमता रहेको देखिएको उनले बताए। यस उपप्रजातिसँग डराउनुभन्दा पनि सतर्क रहन आवश्यक छ। खोप नलगाएका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरु कोरोनाको जोखिममा सधै रहने उनले बताए। कोभिड विरुद्धको खोप लगाउन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न उनको सुझाव छ।
‘ढिलो चाडो नेपालमा पनि आउन सक्छ। सतर्कता अपनाऔँ। खोप नलगाएकाले लगाऔँ। बुस्टर डोज लगाए थप सुरक्षित भईन्छ। त्यसमा जोखिमका समूहले लगाएमा राम्रो हुन्छ,’ उनले भने।
कोरोनाले नयाँ–नयाँ स्वरुप परिवर्तन गरिरहेकाले सतर्क रहनु आवश्यक रहेको उनले बताए।
तत्काल बढेको छैन, बिरामी बढे व्यवस्थापन गर्न सक्छौँ
नेपालमा हाल कोरोना संक्रमितको संख्या सामान्य छ। तत्कालको अवस्थामा संक्रमितको संख्या बढेको छैन। हाल दैनिक रुपमा भेटिने संक्रमितको संख्या १० जनाको आसपासमा छ।
गत २४ घण्टामा पाँच जनामा संक्रमण पुष्टि भएको छ। देशभर हाल ३० जना सक्रिय संक्रमित छन् भने गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। नेपालमा हालसम्म १० लाख ९९५ जना व्यक्ति कोरोना संक्रमित भइसकेका छन्। जसमध्ये १२ हजार १९ जनाको मृत्यु भएको छ भने ९ लाख ८८ हजार ९५१ जना उपचारपछि निको भएका छन्।
छिमेकी जिल्ला चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएपछि नेपाल पनि जोखिममा रहने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताउँछ। यद्यपि अहिले समुदायस्तर र अस्पतालमा बिरामीको संख्या नबढेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए। नेपालमा कोरोना संक्रमितको संख्या बढीहाले सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामा रहेको उनले बताए।
‘हामीसँग हेल्थ डेस्क छन्। डेडिकेटेड अस्पताल छन्। परीक्षणका लागि प्रयोगशाला छन्। एउटा प्रणाली नै छ। त्यसैले संक्रमित बढेको अवस्थामा व्यवस्थापन गर्न सक्छौं,’ उनले भने।
अहिले अधिकांशले कोरोना भुलिसकेकाले स्वास्थ्यका मापदण्ड पालना नगर्ने गरेको उनले बताए। तत्काल कोरोना सामान्य रहेपनि जोखिम सधै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनको आग्रह छ।
‘अहिले सबैले मास्क लगाउनै बिर्सिसकेका छन्,’ उनले भने, ‘जोखिम सधै हुन्छ। तर जनस्वास्थ्यका मापदण्ड पालना नगर्दासम्म कोरोनाबाट बच्न सकिदैन।’