काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा अनलि कार्की नेतृत्वको लोकतान्त्रिक समूहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ बुँदे प्रमुख अजेन्डासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।
प्रतिवद्धता पत्रमा तलबवृद्धि सहित आर्थिक उन्नतीका लागि थप दबाब सृजना गर्ने, नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त सम्पूर्ण चिकित्सकहरुको सबै प्रकारका बीमा सरकारले नै गरिदिने व्यवस्था ल्याउन पहल गर्ने, चिकित्सक तथा उनीहरुको परिवारका लागि छुट्टै अस्पताल निर्माण गर्नुपर्ने, वैज्ञानिक ड्यूटी समय निर्धारण र अनिवार्य फोर्स लिभको व्यवस्थाका लागि पहल गर्ने विषय उल्लेख छ।
यस्तै, चिकित्सक सेवा आयोगको स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने, दरबन्दी थपका लागि दबाब दिने, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानुन कार्यान्वयनमा जोड दिने, स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने, पिजीको सिट संख्या बढाउन पहल गर्ने र पिजी अध्ययनका लागि एक वर्षको अनुभव अनिवार्य रहेको व्यवस्था हटाउन पैरवी गर्ने लगायतका विषय उल्लेख छ।
यसैगरी, संघीय संरचना अनुसार सात वटै प्रदेशमा संघको कार्यालय स्थापना गर्ने, संघको छुट्टै अनुसन्धान विभाग बनाउने, चिकित्सकहरुलाई सहुलियत ऋण उपलब्ध गराउन लगायतका विषय पनि अजेन्डामा राखिएको छ।
लोकतान्त्रिक समूहबाट निर्वाचनमा उम्मेदवारी दिएका सात जना निर्विरोध निर्वाचित भइसकेका छन्। वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजकमा डा विपेश आचार्य, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजकमा डा नन्दाकुमारी गुरुङ, उपाध्यक्षा तथा कर्णाली प्रदेश संयोजकमा डा केशरबहादुर ढकाल, कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिव डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।
समूहबाट अध्यक्षमा डा अनिल कार्कीसहित उपाध्यक्ष तथा मधेश प्रदेश संयोजकमा डा निरजकुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजकमा डा प्रशान्त भट्ट उम्मेदवार हुन्।
त्यसैगरी, महासचिवमा डा सन्जीव तिवारी, सदस्यहरुमा डा अमित रञ्जन मिश्र, डा सिर्जना विष्ट, डा किशोर खत्री, डा मनोर दिन सैयद, डा तेजसु सिंह मल्ल र डा योविन कुमार यादव चुनावी मैदानमा छन्।
हेरौं पूर्णपाठ
यस्ता छन् १७ बुँदे अजेन्डा