धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीले सीमानाकामा चेकजाँचलाई कडाईका साथ अघि बढाउन निर्देशन दिएको छ।
छिमेकी राष्ट्र भारत तथा चिनमा कोभिडको नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपछि सीमानाकाबाट आवत–जावत गर्नेलाई अनिवार्य चेकजाँच गर्न निर्देशन दिएको हो। बिहीबार प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले सीमानाकामा चेकजाँचको व्यवस्था कडाईका साथ गर्न निर्णय गरेको छ।
‘छिमेकी मुलुक भारतमा कोभिडको नयाँ भेरियन्टसहित संक्रमण बढ्न थालेको अवस्था देखिएकोले सीमानाकामा चेकजाँचको ब्यवस्था कडाइका साथ अघि बढाउ,’ निर्णयमा भनिएको छ, ‘कोभिड संक्रमणबाट बच्न सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा सबै स्थानीय तह कार्यालय र सरोकारवाला सबै पक्षले विशेष ध्यान दिनुपर्ने छ।’
यस्तै प्रशासनले सीमानाकामा सञ्चालित हेल्थ डेस्कलाई थप जनशक्ति, पूर्वाधार लगायतको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। ‘सीमानाकामा सञ्चालित हेल्थ डेस्कलाई थप जनशक्ति, पुर्वाधार लगायतका व्यवस्थापनमा स्वास्थ्य कार्यालय, धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाले प्रदेश सामाजिक विकास मन्त्रालयसँग समेत समन्वय र सहकार्य गरि प्रभावकारी रुपमा काम गर्नुपर्ने छ।’