केही दिन अगाडि दैलेख जिल्लामा मानसिक रोगको अवस्था बारे स्थलगत अवलोकनसहित अन्तरक्रिया कार्यक्रमका लागी सामाजिक विकास मन्त्रालयबाट मन्त्रीज्यू र सचिव ज्यूको टोली आउनु भएको थियो। उक्त कार्यको सिलसिलामा मानसिक रोगको अवस्था र यसबाट पिडित र ग्रसित समूदाय र व्यक्तिको बारेमा छलफल भैरहँदा मलाई केही कुराले पिरोलि रहेको थियो। हाम्रो अस्पतालमा उपचारका लागि आउने मानसिक रोगका अझ भन्न पर्दा उदासिनता र डिप्रेसनका बिरामीहरू, त्यस्तै बिस सेवन गरी आत्महत्याको प्रयास गरेका बिरामीहरु र आत्महत्या नै गरी शब पोस्टमार्टम गराउन ल्याइएका केसहरू झलझलि मेरो मानसपटलमा घुमिराखेका थिए।
गएको महिनाको तथ्याङक केलाउने हो भने दैलेख जिल्ला अस्पतालमा ओपिडि सेवा लिन आएका लगभग २००० जनामध्ये ५०० को हाराहारीका बिरामी कुनै न कुनै रुपमा मानसिक रोगले पिडित भएको पाइयो। जिल्ला भरिकै कुरा गर्नुपर्दा मानसिक रोगहरू मध्य पनि उदासीनता अर्थात डिप्रेसनले धेरै हिस्सा ओगटेको देखिन्छ। यो कुरालाई पुष्टि गर्ने आधारहरूको पनि तथ्यांक छ हामीसँग। अघिल्लो महिनामा बिष सेवन गरि आत्महत्याको प्रयास गरेका ७ जनाले उपचार गराउनु भएको देखिन्छ ती मध्येका २ जनालाई जटिलता देखिन थालेपछि थप उपचार तथा आइसियूको आवश्यकता पर्न सक्ने भनि माथिल्लो स्तरका हस्पिटलमा प्रेषण गरिएको थियो। त्यस्तै १ महिनाको अवधिमा झुन्डिएर आत्महत्या गरि मृत्युवरण गरेका ५ जना जसलाई पोस्टमार्टम गर्नका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक अनुसन्धान बाट झुन्डिएरै आत्महत्या गरेको भन्ने आएको छ भने थप अनुसन्धानका लागि कानुनी प्रक्रियालाई अगाडि बढाइएको छ।
मानिसको जिवनकालमा लगभग सबैजनालाई कतै न कतै कुनै न कुनै रुपमा मानसिक स्वास्थ्यमा असर परेको हुन्छ। त्यो असर वा त्यो क्षणलाई हामीले कसरी प्रतिक्रिया गर्ने , त्यो असर कति समयलाई पर्छ र त्यसले हाम्रो वरिपरिको परिवेशलाई कत्तिको असर पार्छ यी विभिन्न कुराले हाम्रो मानसिक अवस्था आउने दिनमा कस्तो हुने भन्ने निर्धारण गर्दछ। यो लेख अरु मानसिक रोग भन्दा पनि विशेषगरी उदासीनता निम्त्याउने आत्महत्याको बारेमा केन्द्रित रहनेछ। आत्महत्या एक सामाजिक र जनस्वास्थ्यको समस्या भैरहेको छ, सहि समयमा उचित कदम चाल्न सकियो भने अधिकांस घटनाहरू रोकथाम गर्न सकि धेरै मानिसलाई आत्महत्या गरि हुने मृत्युबाट बचाउन सकिन्छ भन्ने कुरामा जोड गर्दै आत्महत्यका बारेमा विभिन्न तथ्य तथा मानसिक स्वास्थ्य विज्ञ, अनुसन्धानबाट निस्केका कुराहरुबारे लेखमा उल्लेख गरिएको छ।
आत्महत्या र यसको अवस्था
आत्महत्या भनेको आफ्नो जीवन अन्त्य गर्ने उदेश्यले गरिएको कार्य स्वरुप मृत्युवरण गरेको अवस्था हो। यो समग्रमा मृत्युको पन्ध्रौं प्रमुख कारण हो भने १४-१९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण हो। नेपालको तथ्यांकअनुसार प्रत्येक दिन सरदरमा १६-१७ जनाले आत्महत्या गर्ने गरेको अध्ययनले देखाउँछ। नेपालमा १५-२९ वर्षका युवाहरूको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको छ। बालबालिकामा समेत आत्महत्याको दर बढ्दै गएको देखिन्छ। विश्वभरमा ७ लाख मान्छे वर्षेनी यसकै कारण ज्यान गुमाउछन जो निम्न र मध्यम आय भएका देशमा बढी छ। आत्महत्या धेरै जसो झुन्डिएर, बीस खाएर, हामफालेर, आगो लगाएर, डुबेर, औजार तथा हातहतियार प्रयोग गरेर र अन्य तरिकाले गर्ने गरेको पाइन्छ। आत्महत्या गर्ने कारणहरूमा भने यी उल्लेखित कुराहरूले महत्त्वपूर्ण भुमिका खेल्दछन।
घरेलु हिंसा तथा पारिवारिक कलह
गरिबी तथा आर्थिक अभाव
सामाजिक संजाल जस्तै फेसवुक, ट्विटर , टिकटक , यूट्युब आदि
जिवनमा भएको असफलता र एक्लोपन
असफल प्रेम, वैदेशिक रोजगार
आवेशमा आएर आदि।
आखिर को छन त जोखिममा?
-विभिन्न मानसिक रोगले ग्रस्त मानिस जसमा उदासीनता अर्थात डिप्रेसन पहिलो नम्बरमा आउँछ।
-विगतमा पनि आत्महत्याको प्रयास गरेका अथवा पारिवारिक ईतिहास भएका।
-विभित्र खालका लत तथा कुलतमा परेका
-एक्लोपनसँगै आफन्त अथवा आफ्नो प्रिय वस्तु गुमाएका
जोखिममा भएका व्यक्तिको पहिचान गर्न निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ
-विगतमा आत्महत्या गरेको वा पारिवारिक ईतिहास हुनु
-सुसाइड नोट लेख्नु
-वारम्वार आत्महत्याको कुरा गर्नु
-हिनताबोध हुनु, हरेस खानु, निराश हुनु
-हालसालै ठुलो घटना घटेको हुनु
-दुर्व्यसनमा परेको वा एक्लो हुनु।
आत्महत्या रोकथामका लागि के गर्न सकिन्छ?
यदि तपाईंको घर छर-छिमेकमा यस्ता घटना हुन सक्ने छन् वा कोही जोखिममा छन जस्तो लाग्छ भने समयमै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका लागि सम्बन्धित निकाया सम्म खवर पुर्याउने।
मानसिक रोग सम्बन्धि रहेको अन्धविश्वास हटाउन, मानसिक स्वास्थ्यको प्रवर्धन गर्न र रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गरि छलफल तथा अन्तर्क्रिया गर्ने।
आम संचार तथा पत्रपत्रिकाका माध्यमबाट मानसिक स्वास्थ्य, मानसिक रोग र मनोसामाजिक समस्याका बारेमा उपयुक्त भाषा र शैलिमा सुचना संचारका सामाग्री तयार पारि सम्बन्धित सबैलाई सहकार्यका लागि अग्रसर गराउने।
यसरी सहि समयमा सबैतिरबाट पहल गरि उचित कदम चाल्न सकियो भने अधिकांस घटनाहरु रोकथाम गर्न सकि धेरै मानिसलाई मृत्युबाट बचाउन सकिन्छ ।
(रेग्मी दैलेख जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हुन्।)