केही दिन अगाडि हिमालयन ह्वाइट हाउस कलेजसँगै पढेका दौतरी प्रविणले म्यासेज गरेका थिए 'हेर न राज छोरीले वोमिट गरिरहेकी छिन्, अस्तिदेखि सुरु भएको आज त अलि बढी छ..।
त्यस्तै २ दिनपछि मेरो श्रीमतीले काम गर्ने कार्यालयको स्टाफ दिदीले पनि 'डा एकजना मेरो आफन्तको बच्चालाई हजुर कहाँ पठाउन लागेको छु। दुई दिनदेखि सानो बच्चाले रुघा अनि बान्ता गर्ने गरेको छ अहिले त पातलो दिसा धेरै पटक गरिसकिन् भनेर आमाबुवा अत्तालिदै थिए।'
चिसो बढेसँगै कान्ति बाल अस्पताल लगायत अन्य अस्पताल तथा क्लिनिकमा यस्ता समस्या दिन प्रतिदिन बढ्दै गएका छन्। आउनुहोस् आजको यस अंकमा अहिलेको एक जल्दोबल्दो समस्या कोल्ड डायरियालाई हजुर समक्ष लिएर आएका छौ।
कोल्ड वा भाईरल डायरिया के हो?
चिसो मौसम बढेसँगै केही रोटा भाईरस नोरो भाईरस र एस्ट्रो भाईरस अलि बढी सकृय हुने गर्दछन्। यीनै भाईरसहरुले गर्दा चिसोमा बच्चाहरुमा देखिने बान्ता र पखालाको समस्या नै कोल्ड डायरिया हो।
लक्षणहरु के के हुन्?
प्राय गरेर ५ वर्ष मुनिका बच्चाहरुलाई श्वासप्रश्वास सम्बन्धी समस्या हुने, जस्तै रुघा,खोकी,हाच्छ्युँ तथा नाकबाट सिगान बगाउने गर्दछन। त्यसपछि बान्ता गर्न थाल्दछन् र त्यस्को २४ देखि ४८ घन्टाभित्र पातलो दिसा हुनेगर्छ। केहीमा हल्का ज्वरो पनि आउन सक्छ।
जटिलताहरु के के हुन्छन्?
शरीरमा पानीको मात्रा कमि भएर जलबियोजन हुने,रगतमा इलेक्ट्रोलाइटमा गडबड भई ज्यानसमेत जान सक्छ।
उपचार
चिकित्सकको सल्लाह अनुसार सरसफाइमा ध्यान दिने,प्रशस्तै मात्रामा झोलिलो कुरा लगायत जीवनजल खुवाउने गर्नुपर्छ। सबै बान्ता पखालाको कारण भाईरस मात्रै नभएर ब्याक्टेरिया,परजिवी वा एन्टीबायोटिक आँफै पनि हुन सक्छन। त्यसैले बिरामीको उमेर,लक्षण,शारीरिक अवस्था तथा रगत,दिसा र पिसाब लगायतको परीक्षण गरेपश्चात चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्नुपर्ने हुन्छ।