काठमाडौं- नेपाल चिकित्सक संघ र सज्जन श्याम ट्रस्टबीच सम्झौता भएको छ। संघको केन्द्रीय कार्यालय बागबजारमा शनिबार संघका अध्यक्ष डा लोचन कार्की र ट्रस्टका संयोजक डा श्याम प्रसाद भट्टराईबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार ट्रस्टले विभिन्न पाँच विषयमा आर्थिक सहयोग उपलब्ध गराउने छ। ट्रस्टले स्वास्थ्य शिक्षाका क्षेत्रमा र अनुसन्धानका क्षेत्रमा सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ।
सम्झौता पत्र अनुसार ट्रस्टले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहमा समर्पित नेपाल चिकित्सक संघका आजिवन सदस्यहरुलाई चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका सम्बन्धमा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा सहयोग पुर्यासउनका लागि खोज तथा अनुसन्धान मुलक अनुदान उपलब्ध गराउने छ। ट्रस्टले यस्तो अनुदान प्रत्येक वर्ष प्रदान गर्ने छ। अनुदान रकम २ लाख रुपैयाँ रहेको छ।
यस्तै, ट्रस्टले नेपाल चिकित्सक संघको जर्नलमा उत्कृष्ट लेख तथा रचना प्रकाशन गर्न सफल एक जना लेखकलाई 'वेष्ट मेडिकल रिसर्च आर्टिकल अवार्ड' प्रदान गर्ने छ। उक्त अवार्ड अखिल नेपाल चिकित्सक सम्मेलनको समयमा उपलब्ध गराइने सम्झौता उल्लेख छ। उक्त अवर्डसँगै २५ हजार रुपैयाँ समेत प्रदान गरिने सम्झौता भएको छ।
देशभरबाट स्वास्थ्य सेवामा योगदान पुर्यारएका उत्कृष्ट एक जना चिकित्सकलाई वैज्ञानिक विधिबाट छनोट गरि अखिल नेपाल चिकित्सक सम्मेलनमा सम्मान गरिने पनि सम्झौतामा उल्लेख छ। सम्मान पाउने चिकित्सकले एक लाख नगद रकम समेत पाउने सम्झौता भएको छ।
यसैगरी, चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरी उत्कृष्ट १० मध्ये आर्थिक रुपमा कमजोर भएका एक जना विद्यार्थीलाई वार्षिक रुपमा आर्थिक सहयोग उपलब्ध गराउन चिकित्सक संघका डाक्टर श्यामप्रसाद भट्टराईको नाममा अक्षय कोष स्थापना गर्ने र सो कोषबाट प्रत्येक वर्ष एक लाख सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ।
यस्तै, नेपाल चिकित्सक संघमा डा श्यामप्रसाद भट्टराई मिडिया कक्ष स्थापना गर्ने सम्झौता भएको छ।
सम्झौतापछि डा भट्टराईले स्वास्थ्य शिक्षाका क्षेत्रमा केही योगदान गर्न सकिन्छ भनेर आफ्ना तर्फबाट सानो सहयोग गरिएको बताए।
डा भट्टराई संघका पूर्व महासचिव हुन्। सामाजिक मनोभावनाबाट प्रेरित डा भट्टराईले गैर नाफामुलक स्वास्थ्य शिक्षा सेवा प्रतिष्ठानको स्थापना गरेर नेपाल चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा योगदान पुर्याफउँदै आइरहेको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
डा भट्टराईले आफ्नी स्वर्गीय आमा सज्जनकुमारी भट्टराईको सम्झनामा संघमा सज्जन-श्याम ट्रस्ट २०७९ को स्थापना गरेका हुन्। ट्रस्टले संघले सञ्चालन गर्ने शैक्षिक गतिविधिलाई प्राथमिकतामा राखेर सहयोग गर्नेछ।