काठमाडौं- ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ।
८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ।उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ।
उनको केमोथेरापी उपचारको पुनः मूल्याङ्कन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो। २१ सेप्टेम्बरमा कोलोन ट्युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ।
उनलाई श्वासप्रश्वासको संक्रमण भएको समेत उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। यस महिनाको सुरुमा पेलेलाई जीवनको अन्तिम हेरचाहमा राखिएको रिपोर्टलाई अस्वीकार गर्दै पेलेका छोरी केली नासिमेन्टो र फ्लाभिया अरेन्टेसले उनको स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई आश्वस्त पार्न खोजेका थिए।