'अ'बाटअमिलो /चरिअमिलो, अमला
बुढापाकाहरूले यसलाई अरू घाँसपातसँगै मिसाएर गाईलाई खुवाउँछन्। यसले गर्दा दूध उत्पादन बढ्छ। युरोपतिर चरिअमिलोलाई सलादमा हालेर खाएको पनि देखिएको छ। सानो छँदा खुब भाँडा-कुटी खेलिन्थ्यो। ठुला मानिसको देखासिकी गर्दै भोज पनि हुन्थ्यो। भाँडा-कुटी खेल्दा गरिने भोजमा एउटा व्यञ्जन चरिअमिलोको पात हुन्थ्यो। त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं। त्यो बालापनले जे सिकायो त्यही गरियो तर त्यसको महत्त्व थाहा थिएन।
अमिलो रस हुने चरिअमिलो एउटा औषधिय गुणयुक्त वनस्पति पो रहेछ। यसको वैज्ञानिक नाम भने ‘अक्जालिस कोनिक्युलेटा’ हो। चरिमिलो ठुलो र सानो गरी दुई खालको हुन्छ। यसमा क्यारोटिन, क्याल्सियम, अक्जेलिक अम्ल र भिटामिन ‘सी’ जस्ता पोषकतत्व पाइन्छन्।
चरिअमिलोमा रहेको भिटामिन ‘सी’ ले शरीरमा रोगसँग लड्ने शक्ति दिन्छ। भिटामिन ‘सी’ शरीरले आफैँ उत्पादन गर्न सक्दैन तर हरेक दिन रोगसँग लड्न आवश्यक पर्ने नयाँ कोषहरू बनाउन भने यही आवश्यक पर्छ। सानो छँदा अमला खाएर पानी पिउँदा गुलियो हुन्छ भनेर खुब अमला खाइन्थ्यो। ५० वर्षअघि २५ पैसामा पोल्टाभरि अमला आउँथ्यो। सुकेको अमलाको तितौरा साथीहरूसँग बाँडेर खाँदाको स्वाद नै बेग्लै हुन्थ्यो।
पिरो र नुनमा मोलेको अमला खाँदा जुन स्वाद आउँथ्यो, त्यो जिब्रोमा अझै बसेको छ। मलाई याद छ, हजुरआमाले छिमेकका गर्भवती महिलालाई अमलाको तितौरा बनाएर दिनुहुन्थ्यो। बच्चा राम्रो हुन्छ भन्दै दिइने त्यो अमलाले गर्भवतीको शरीरको रोगसँग लड्ने शक्ति बढाउने हुनाले सायद हजुरआमाले त्यो उपहार दिनुभएको होला।
मलाई खुब मन पर्ने हुनाले नाङ्लोमा सुकाएको तितौरा हजुरआमाको आँखा छलेर आफ्नो घाँगरको गोजीमा हाल्थेँ। हजुरआमा भने कौसीमा सुकाएको तितौरा चराले खायो भनेर फतफताउनु हुन्थ्यो। म चाहिँ मेरो चोरी पत्ता लागेन भनेर खुसी हुँदै, गोजीको अमलाको तितौराको रस लिन्थेँ। आयुर्वेदले अमलालाई अमृतफल भनेर सम्बोधन गरेको छ। यसको वैज्ञ। यसलाई काष्ठौषधि (बोटबिरुवाबाट बनाइने औषधि) र रसौषधि (धातु–खनिजबाट बनाइने औषधि) पनि भनिन्छ।
सुश्रुत संहिताले अमलालाई शरीरमा भएको विभिन्न खालका दोषलाई मलका रूपमा बाहिर निकाल्न सहयोग गर्ने औषधीय गुण भएको फल भनेर चिनाएको छ।
अमलामा प्रचुर मात्रामा भिटामिन सी, एमिनो एसिड, मिनरल र न्युट्रियन्स पाइन्छ। यसमा क्याल्सियम, फस्फोरस आइरन, क्यारोटिन, थियामिन आदि पनि पाइन्छ।
कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला रहेको हुन्छ, तर त्रिफलाको विज्ञापन राम्रा—राम्रा हिरो—हिरोइनले गर्दैनन्। त्यसैले त्रिफलाको महत्त्व कसैले बुझ्दैनन्। कब्जियत हटाउन महँगो औषधिहरूको प्रयोग गरेर खुसी हुने हाम्रो चलन छ। नजिकको तीर्थ हेला भनेको यही हो।