तपाईं के को विशेषज्ञ डाक्टर हो? मलाई बारम्बार प्रश्न आउँछ। म एमबीबीएस पढेर प्याथोलोजीमा मास्टर्स गरेको डाक्टर। तर म प्याथोलोजीस्ट हो भनेर धेरैले बुझ्दैनन्। तर अस्पतालमा मेरो विषयको महत्व हर कोही डाक्टरले बुझेको हुन्छ। बिरामीहरुका लागि हामी पर्दा पछाडिका डाक्टर हौँ। तर उत्तर दिँदा म फेरिने गर्छु। कहिले क्यान्सर पत्ता लगाउने डाक्टर, कहिले ल्याबोरेटोरीको –(ल्याबको) डाक्टर भनेर उत्तर दिने गर्छु। तर उत्तरबाट आफैं लगाएत अरुहरु सन्तुष्ट भएको आभास पाइरहेको हुन्न। प्याथोलोजी विषय बिरामीहरुका लागि त्यति थाहा नभएको विषय भए पनि प्रायजसो अप्रत्यक्ष र कहिलेकहिले प्रत्यक्ष रुपमा अस्पतालमा आउने प्रायजसो बिरामीहरुलाई प्याथोलोजीले हेर्ने गर्छ।
प्याथोलाजी ल्याबोरेटोरीको अभिन्न अंग हो। ल्याबोरेटोरी भन्ने बित्तिकै रगत दिसा पिसाब जाँच गर्ने भन्ने बुझिन्छ। यो बुझाइ गलत नभए पनि अपूर्ण छ। हामी प्याथोलोजीमा मास्टर्स गरेका डाक्टरहरुलाई कसैले डाक्टरहरुको डाक्टर पनि भन्ने गर्छन्। बिरामीहरुलाई गाह्रो भए डाक्टरकोमा जान्छन् डाक्टरहरुलाई बिरामीहरुको निदानमा अप्ठ्यारो परे प्याथोलोजीस्ट कहाँ आउँछन्। रोगहरु पत्ता नलगाए उपचार गरेको कुनै तुक हुँदैन। नत्र लक्षणका भरमा मात्र औषधि दिनु भनेको अध्यारोमा झटारो हान्नु जस्तो हो।
चिकित्सा शिक्षामा प्याथोलोजीको सिधै अर्थ लगाउँदा पीडाहरुको अध्ययन भन्ने बुझिन्छ। यो रोगहरुको अध्ययन हो। रोगहरुले कोशीकाहरुमा अंगहरुमा पारेको संरचनात्मक, जैविक, रसायनिक र कार्यात्मक असरको अध्ययन हो। रोगहरुले शरीरमा लेराउने लक्षणहरुको कारणहरु पत्ता लगाउने अध्ययन हो। रोगहरु विशेषत आनुवंशिक (जेनेटिक) या पर्यावरणिय कारणले हुने गर्छन्। तर कुनै रोगहरुभने बहुउद्देशिय (एक भन्दा बढी) कारणले हुने गर्छ जस्तै उच्च रक्तचाव, क्यान्सर आदि। नेपालमा विशेष गरेर प्याथोलोजीलाई हेमाटोलोजी, साइटोलोजी र हिस्टोप्याथोलोजीमा विभाजन गर्ने गरिन्छ। हेमाटोलोजी भनेको रगतको अध्ययन हो। रगत नलीमा रगतका कोशीकाहरु र प्लाज्मा –पानी जस्तो पदार्थ) बग्ने गर्छ। रगतका कोशीकाहरुलाई रगत नलीको बीचमा बगाएर प्लाज्मा वरिपरि बग्ने गर्छ। कोशीकाहरुमा रातो रगत, सेतो रगत र प्लयाटिलेट्सहरु पर्छन्। रातो रगत कम भएमा रक्तअल्पता हुने गर्छ। रक्तअल्पता हुने कारणहरु थुप्रै छन्। उच्च रक्तस्राब (प्रायजसो महिनावारीको गडबडीका कारण), रगतमा आइरनको कमी, भिटामीन बी १२ र फोलेटको कमी, आनुवंशिक कारण (जस्तै थ्यालेसिमीया), क्यान्सर, मिर्गौलाको खराबी, दीर्घरोग केहि महत्वपूर्ण कारणहरु हुन्। वृद्धवृद्धाहरुमा रक्त अल्पता भए क्यान्सरको संका गर्न पर्छ।
रातो रगत बढ्ने रोगलाई पोलिसाइथिमिया भन्ने गरिन्छ। यो रोग एक किसिमको जीनको उत्परिवर्तनका कारणले हुने गर्छ। सामान्यतया रातो रगत महिलाहरुभन्दा पुरुषहरुमा, माथिल्लो हिमाली क्षेत्रमा बस्नेहरुमा बढी भएको पाइएको छ। माथिल्लो हिमाली क्षेत्रमा अक्सिजनको कमी हुने भएकाले अक्सिजन बोक्ने रातो रगत बढी चाहिने भएको हो। सेतो रगत रोगको प्रतिरोधात्मक क्षमताको लागि प्रयोग हुने गर्छ। सेतो रगत कम हुने रोगहरु– एचआइभीको संक्रमण, स्टेरोइड जस्ता औषधिहरुको सेवन आदि हुन्। दीर्घरोग, रगतको क्यान्सर, ब्याक्टेरियाको संक्रमण, एलर्जी, क्षय रोग, मलेरिया, भाइरसको संक्रमण आदि सेतो रगत बढ्ने कारणहरु हुन्। टाइफाइडको निदान रगतको सेतो कोशीका हेरेर गरिन्छ। त्यस्तै रगतको क्यान्सर प्राय जसो सेतो रगतमा हुने गर्छ। सामान्यतया बढ्दो उमेरसँग क्यान्सरको सम्भावना बढ्दै जाने भएता पनि एक प्रकारको रगत क्यान्सर (एकुट लिम्फोसाइटिक ल्यूकिमिया) बच्चाहरुमा बढी देखिने गर्छ। पहिले पहिले वृद्धहरुमा मात्र क्यान्सरको शंका गर्न पर्छ भन्ने गरिन्थ्यो तर आजकाल सानै उमेरमा पनि क्यान्सर देखिन थालेकाले सचेत हुन परेको छ।
तेस्रो किसिमको रगतको कोशीका प्लाटिलेट्स कुनै काटेको ठाउँमा रगत जमाउने काम गर्छ। यो कोशीका कम भएको अवस्थामा काटेको ठाउँमा उच्च रक्तस्राब उने सम्भावना बढी हुन्छ। अरु किसिमका विभिन्न प्रोटिनहरुरहर्मोनहरु प्लाज्मामा पाइने गर्छन्। भिन्न प्रोटिनको भिन्न भिन्न काम हुने गर्छ। हेमाटोलोजीमा बोनम्यारोको अध्ययन पनि पर्ने गर्छ। रगतका कोशीकाहरु हड्डीहरुमा बन्ने भएकाले हड्डीको सानो अंश निकालेर अध्ययन गर्ने हो भने रोगको जरो पत्ता लगाउन सकिन्छ। बोनम्यारोको अध्ययन यसको राम्रो नमुना हो। हड्डीको कोशीकाहरुको अध्ययनबाट प्राय रगतको क्यान्सर, रक्तअल्पताको कारण, परजीविका प्रकारहरु आदि पत्ता लगाउन सकिन्छ।
प्याथोलोजीको दोस्रो अंशमा साइटोलोजी अर्थात कोशीकाहरुको अध्ययन पर्ने गर्छ। जस्तै शरीरमा कुनै गिर्खा आएको छ भने उक्त गिर्खालाई सुइले घोचेर (जसलाई एफएनएसी भन्ने गरिन्छ) गिर्खाको केहि कोशीकाहरु झिकेर कोशीकाहरुको अध्ययन गर्न सकिन्छ। जस्तै कलेजोमा वा फोक्सोमा वा शरीरको बाहिरी कुनै भागमा गिर्खा आए त्यसको कोशीकाहरुमा के रोग छ कोशीकाहरु हेरेर पत्ता लगाउन सकिन्छ। क्यान्सर भए थप अध्ययनको आवश्यकता पर्छ। यस्तो खाले अध्ययनले समय र पैसाको बचत गराउने गर्छ। साइटोलोजीमा पाठेघरको मुखको पानीको जाँच पनि पर्छ जसले पाठेघरको मुखमा क्यान्सर भए नभएको पत्ता लगाउन सक्छ। त्यस्तै पेटमा, फोक्सोमा जम्मा भएको पानीको अध्ययनले रोगको प्रकार र कारण भन्न सकिन्छ।
प्याथोलोजीको तेस्रो विभागमा हिस्टोप्याथोलोजी (बायोप्सी) या अंगहरु या अंगहरुको टुक्राको अध्ययन पर्छ। हामीहरुले प्रायले यपेन्डिक्स या पित्त थैलीको अपरेशन गरेका या आफैले नगरेपनि आफन्तको गरेका, सुनेका, देखेका छौँ। अपरेशन गरेपछि काटेर फालेको यपेन्डिक्स या पित्त थैली प्याथोलोजीमा आफैले बोकेर पनि लगेका होउँलाउँ। यस्तो मासुको टुक्राको केही दिनपछि रिपोर्ट आएको पनि छ। प्याथोलाजीमा उक्त टुक्रामा वास्तविक रोग के रहेछ भनेर अध्ययन गर्ने गरिन्छ। अंगहरुमा रोगहरु प्रायजसो इन्फ्लामेसन (सूजनरसुन्नियएको) वा क्यान्सरहरु हुन्छन्।
यी बाहेक प्रायजसो प्याथोलाजीमा आउने मासुका टुक्राहरुमा पुरै पाठेघर, इन्डोस्कोपी गरेर पेटबाट निकालेको सानो टुक्रा, या शरीरको कुनै अंगबाट निकालिएको सानो टुक्रा हुनसक्छ। यी सबै टुक्राहरुको अध्ययन प्याथोलाजीमा गरिन्छ। त्यसैले पनि भनिएको होला डाक्टरहरुको डाक्टर प्याथोलोजीस्ट हो। आजकाल अंग या अंगहरुको टुक्राहरुको अध्ययन मोलिकुलर तहमा पुगेको छ। जस्तै स्तनमा गिर्खा आउदा सुरुमा सुईबाट कोशीका तानेर अध्ययन गरिन्छ। त्यसमा रोगको शंका लागे या रोग भएको पत्ता लागे स्तनको गिर्खा या पुरै स्तन काटेर फालिन्छ। अझ फैलिएको रहेछ भने काखीमा रहेको गिर्खा पनि फाल्ने गरिन्छ। यो अध्ययनले मात्र नपुगेर केहि हर्मोनको अध्ययन (इआर,पिआर, हरटूरन्यू) गर्नुपर्ने हुन्छ। त्यसबाट कुन औषधिले काम गर्छ भन्ने थाहा पाउन सकिन्छ। साथसाथै रोगको उपचार हुन सक्ने पुर्वानुमान लगाउन सकिन्छ। यी बाहेक इम्यूनोहिस्टोकेमेस्ट्री भन्ने अध्ययनले प्याथोलोजीस्टहरुलाई अझ मोलिकुलर तहमा पुगेर रोग पत्ता लगाउन सहयोग गरिरहेको छ। यी उन्नत किसिमका अध्ययनहरुका लागि अरु भन्दा बढी खर्च लाग्ने गर्छ।
त्यसकारण यस्ता किसिमका अध्ययन गर्न भारत पठाइने गरिन्छ। नेपालमै केहि अस्पताल या संस्थाहरुले यस्तो अध्ययन सुरु गरेता पनि बिरामीको कमीले यहाँ पुरै रुपमा संचालन गर्न सकिरहेका छैनन्। यस्तो अध्ययनकालागि चाहिने केमिकल महङ्गो हुने अनि केमिकल खोलेको केही समयमै पुरै प्रयोग गरिसक्नुपर्ने भएकाले जतिसक्दो धेरै बिरामीहरु चाहिन्छ। थोरै बिरामी भए ती बिरामीहरुलाई खर्च बढी लाग्ने गर्छ। नेपालमा बिरामीहरु पर्याप्त नहुने भएकाले यो अध्ययन गर्न नसकेर भारत पठाउनु परेको हो।
संसार मोलिकुलर तहको खोजिमा डुबिसकेको छ। नेपालमा पनि मोलिकुलर तह बिस्तारै किनारमा खियाउदै छ तर जसरि जे गरेर भएपनि संक्रमण हो कि क्यान्सर भनेर पत्ता लगाउनुनै प्याथोलोजीस्टको मुख्य काम हो। यो सानो विभेदमा चिकित्सा शिक्षाको मुल अंश लुकेको छ। संक्रमण भएकोलाई क्यान्सर भनेर दिए अर्थको अनर्थ लाग्ने गर्छ। त्यस्तै अनर्थ हुने गर्छ क्यान्सर भएका लागि संक्रमण भनेर दिए। भनिन्छ नियमित पाइने रोगको असामान्य प्रस्तुति विरलै पाइने रोगको नियमित प्रस्तुति भन्दा निकै बढी हुन्छ। कति बिरामीहरुले एक रोगको लक्षण लिएर आउछन् तर वास्तबिक रोग अर्कै हुने गरेको हुन्छ। त्यसकारण आजकालको चिकित्सा शिक्षाले ल्याबोरेटोरीमा जाँच गराएर रोग यहि हो भनेर विश्वस्त भएपछि मात्र औषधि चलाउने गर्छ। पहिलेको जस्तो रोगको लक्षण हेरेरमात्र रोगको उपचार गर्ने गरिदैन। त्यसकारण प्याथोलोजीको महत्व रोग निदानमा विशेष छ।
(लेखक धुलिखेल अस्पतालमा कार्यरत छन्।)