काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट डा सन्तोष पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। डा पौडेलले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
संघको कार्यालयमा उम्मेदवारी दर्ता गराउन जानेहरुको संख्या बढीरहेको छ। मध्यान्नसम्म विभिन्न पदमा २० भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। अधयक्ष पदमा प्रजातान्त्रिक समूहबाट डा अनिल कार्कीले उम्मेदवारी दिएका छन्।
संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।
संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदै छ। १९ जनाका लागि आइतबार ६१ जनाले फर्म बुझेका छन्।