काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। डा कार्कीले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
डा कार्कीको उम्मेदवारीको मनोनयन दर्ता गर्ने क्रममा डा भुपेन्द्रकुमार बस्नेत प्रस्तावक बसेका छन् भने डा बद्री रिजाल समर्थक बसेका छन्। यसअघि डा बस्नेत र डा रिजालले पनि अध्यक्षमा दाबी गरेका थिए। तर आइतबार भएको छलफलमा डा कार्कीको नाममा सहमती जुटेको हो।
संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।
संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदै छ। १९ जनाका लागि आइतबार ६१ जनाले फर्म बुझेका छन्। ती मध्ये सोमबार धमाधम उम्मेदवारी दर्ताको काम भइरहेको छ।