केही सिक्ने र सिकाउने क्रममा लिएको इन्टर्नसिपका दिनहरू चलिरहेका थिए। अबको १५ दिनको बसाई नाक, कान, घाँटी विभागमा थियो। मनमा छुट्टै जोश थियो। १५ दिनको मात्र पोस्टिङ भएपनि धेरै कुरा सिक्ने र आम बिरामीको अवस्था बुझी केही न केही भएपनि सिकाउन प्रयास गर्ने थियो। (नाक, कान, घाँटी) तीन भिन्न अंग भएता पनि एउटै विभागमा किन भने कौतहलता प्रस्ट्याउनु पर्दा; यीनीहरू को बनावट हुने क्रममा एक अर्कोसँग संलग्न हुने साथसाथै एउटा अंगमा रोगलाग्दा अर्को अंगमा प्रत्यक्ष असर पर्ने हुँदा सँगै राखिएको हो। एकअर्कासँग अन्तरसम्बन्ध भएकाले एउटा ठिक नहुँदा अर्कीको पनि ख्याल राख्नुपर्छ। संरचना उस्तै भएतापनि एकअर्काका रोगका लक्षण, उपचार विधि भने फरक पर्न सक्छन्। यीनै कुरालाई मध्यनजर गर्दे केही मैले जाने बुझेका कुरा समेटेर लेखेको छु है त।
कानमा लाग्ने रोगहरु
कानलाई बाहिरी कान, मध्यम कान र भित्री कान गरी तीन भागमा बाँडिएको हुन्छ।
बाहिरी कानको रोगहरुमा–कानदुख्ने, कानमा घाउ आउने ,कानमा पिप्प आउने पिलो आउने, कानमा ढुसी लाग्ने रोगहरु हुन्छन्। मध्यकानको रोगहरुमा–कानको जाली फुट्ने, हड्डीखाने रोग हरु हुन्छन्। भित्रीकानको रोगहरुमा– नसा कमजोर हुने, चक्कर लाग्ने, बुढेसकाल लाग्दै गए पछि कान नसुन्ने हुने रोगहरु हुन्छन्।
नाकको रोगहरु
नाक बन्द हुने, धेरै हाच्छ्युँ आउने, नाथ्री फुट्ने, नाकबाट रगत आउँने, नाकमा मासु पलाउने, सास फेर्न समस्या हुने, गन्ध थाहा नपाउने रोग हुन्छन्।
घाँटीको रोगहरु
घाँटीमा टन्सील हुन्छ। यो भयो भने घाँटी दुख्ने,निल्न गाह्रो हुने साथै जोरो आउँछ।कहिले काहीँ बोल्ने नलिमा सानातिना फोकाहरु आउँन सक्छन्। यसलाई हामी नोडुल भन्छौं। यो भयो भने स्वर धोद्रो हुन्छ। कहिलेकाँही घाँटीको क्यान्सर पनि भएको हुन सक्छ।
रोगलाई हेलचेक्राई गर्दा के हुन्छ?
कानको रोगमा कानै नसुन्ने हुन सक्छ। कानबाट माथि इफेक्शन भएर ब्रेनमा पनि जान सक्छ। नाकको रोगमा धेरै रगत जाने हुन सक्छ। नाकमा मासु पलाएको अवस्थामा नाकको नजिकै आँखा, ब्रेन हुन्छ त्यो त्यताजान सक्छ। घाँटीको रोगमा टन्सीलहरु भइरहेमा बिरामीलाई एकदमै दुख्ने हुन्छ। कतिपय टन्सीलले मुटुमा पनि असर पुर्याउन सक्छ। तीन हप्ताभन्दा बढी स्वर बसेमा, खोक्दा रगत आएमा, चुरोत, खैनीखाने मान्छे छ भने भित्री घाँटीमा क्यान्सर भैसकेको हुन सक्छ।
त्यसैले नाक, कान, घाँटीको रोगलाई सामान्य ठानेर हेलचक्राई गर्नु हुँदैन। तुरुन्त चिकित्सकको सम्पर्कमा गइहाल्नु पर्दछ।
यी रोगहरुबाट बच्न के गर्नु पर्दछ?
रोगलाग्नु भन्दा यसबाट बच्नु धेरै राम्रो कुरा हो। हामीले थोरै सावधानी अपनाउँदा धेरै ठुला ठूला रोग लाग्नबाट बच्न सक्छौं। नाक, कान, घाँटी रोगबाट बच्न निम्न उपाएहरु अपनाउन सकिन्छ।
१. कानमा पानी नपार्ने, तेल सकेसम्म नराख्ने।
२. स्वीमिङ गर्दा वा नुहाउदा ध्यान दिने।
३. कान नकोट्याउने वा नघोच्ने।
४. नाकको हकमा चिसो बाट बच्ने, पानीतताएर खाने, बाफ लिने।
५. रुघा लागेमा सिं–सिं नगर्ने सिं सिं गर्दा कानतिर जान सक्छ। जालिमा इन्फेक्सन भएर जालि फुट्ने डर हुन्छ।
६. नाकबाट रगत बगेमा घरमै प्राथमिक उपचार गर्ने र तत्काल डाक्टरकोमा गइहाल्ने।
७. घाँटी को हकमा सामान्य अवस्थामा नुन पानीले कुल्ला गर्ने।
८. घाँटीमा केही अड्केको जस्तो लागेमा, १ हप्ता भन्दा बढी समय घाँटी खसखस गरिराखेमा वा दुखेमा सामान्य रूपमा नलिई चिकित्सकलाई देखाउनु पर्दछ।
कसरी उपचार गर्ने त?
नाक, कान, घाँटी रोगको उपचार गर्दा धेरै जसो औषधिबाटै रोग निको हुन्छ। औषधिबाट निको नहुने रोग छ भने शल्यक्रिया गरिन्छ।। सल्यक्रिया गरेर कानको हकमा कानको जाली बनाइन्छ। हड्डीखाने रोग छ भने त्यसलाई पनि सल्यक्रिया गरेर निकाल्नु पर्छ। नाकको हकमा नाक बाङ्गो छ भने सल्यक्रिया गरेर सिधा बनाइन्छ। मासु पलाएको छ भने इन्डोस्कोपीबाट मासु निकाल्नुपर्छ। घाँटीको हकमा टन्सीलाइटीस( टन्सील सुनीएको) भनी वर्षमा १/२चोटी आएमा औषधि को प्रयोग गर्ने तर त्यो भन्दा बढी भए सल्यक्रियाद्वारा टन्सील निकाल्नुपर्छ।। घाँटीमा नोडुल छ भने पहिला हामी भ्वाइस रेस्ट दिन्छौं। त्यसपछि भ्वाइस थेरापी दिन्छौं। त्यतीले पनि निको नभएमा त्यसलाइ सल्यक्रियाद्वारा निकाल्नुपर्छ। त्यसै गरी क्यान्सरलाई पनि पहिलो स्टेपमै थाहापाए रेडियोथेरापी दिने।दोस्रो स्टेपमा पुगिसकेको रहेछ भने सल्यक्रिया नै गर्नु पर्ने हुन्छ।
नेपालमा नाक, कान, घाँटीका रोगीहरु एकदम धेरै छन्। घाँटीमा केही समस्या भए हामी थाइरोइड भन्न हत्तार गछौँ र जाँच गछौँ तर समान्य रोगलाई वास्ता गर्दैनौँ जुन पछि जटिल बन्न सक्छ। हामीमा जनचेतनाको पनि एकदमै कमी छ। नाक, कान, घाँटी रोगलाई रोगै होइन जस्तो ठानिन्छ। यो गलत कुरा हो। हेर्दा सामान्य नै लागे पनि यी रोगहरुबाट मानव शरीरलाई हानी पुर्याइरहेको छ। यसर्थ नाक, कान घाँटी रोगबाट बचौं र बचाऔं।